‘सिस्टम’ बचाउन सम्झौता गरिने !

‘सिस्टम’ बचाउन सम्झौता गरिने !


प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीलाई पदमुक्त गर्न भएको प्रयास यसपटक पनि सफल नहुने देखिएपछि प्रचण्ड ‘केही लिएर’ तत्कालका लागि पछि हट्ने स्थितिमा पुग्नुभएको छ । देशको सबैभन्दा ठूलो दलको एकलौटी ‘मालिक’ बन्ने सपना बुनेर बसिरहनु भएका प्रचण्ड पार्टी विभाजन हुने र थप कष्टकर अवस्थाको सामना गर्नुपर्ने सम्भावना बढेकोले पछि हट्न बाध्य हुनुभएको बताइएको छ । तर उहाँले आफ्ना निकटवर्तीहरूसँग संविधान र सिष्टम बचाउनका लागि केपीसँग सम्झौता गर्नुपर्ने अवस्था आएको बताउने गर्नुभएको छ ।

केपीलाई पदमुक्त गराउन अहिले नसकिए पनि केही महिनाभित्रै सरकार बदल्नुपर्ने परिस्थिति बन्ने विश्वासमा प्रचण्ड रहनुभएको बताइन्छ ।

नेपालमा केही सातापछि सरकारविरुद्ध ठूलो सङ्घर्ष हुने र सोही समय पारेर सरकार बदल्दा मात्र सफल होइने विश्लेषण प्रचण्डको रहेको छ । तर केपीलाई यत्तिकै अघि बढ्न दिने पक्षमा चाहिँ प्रचण्ड देखिनुहुन्न । पार्टीको पोलिटब्यूरो, स्थायी समिति र सचिवालयको पुनर्गठन गर्ने, अख्तियारलगायतका संवैधानिक निकायहरूमा भागबण्डा गर्ने र मन्त्री मण्डलको पुनर्गठन सहमतिका आधारमा गर्नुपर्ने लगायतका विषय केपी र प्रचण्डबीच भएका गुप्त सम्वादका क्रममा आएको बुझिएको छ ।

केही दिन यता केपी र प्रचण्डबीच अनेकौँ चरणमा वार्तालाप भएका छन् । शुरु–शुरुमा अत्यन्त अप्रिय ढङ्गले वार्तालाप हुने गरेकोमा पछिल्लो समयमा केही सकारात्मक किसिमले संवाद हुने गरेको बताइन्छ । प्रधानमन्त्रीले दुईमध्ये एउटा पद छोड्नुपर्छ भन्ने माग गर्न प्रचण्डले छोड्नुभएपछि सम्वाद सहज किसिमले अघि बढ्न थालेको निकटवर्तीहरूले जनाएका छन् ।

जे होस्, विभाजनको डिलमा पुगिसकेको नेकपा तत्काल नफुट्ने सम्भावना बढेको छ । तर आफ्नै पार्टीको सरकारविरुद्ध सङ्घर्षको कामना गर्ने र सङ्घर्षको आडमा सरकार बदल्ने प्रचण्डको सपना कसरी पूरा हुने हो र यदि सरकारविरुद्ध सङ्घर्ष भएन या सङ्घर्ष भए पनि सरकारले त्यसलाई सामना गरेर अघि बढ्यो भने प्रचण्डले के गर्नुहोला, प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।