किन गरियो अयोध्यामाथि दाबी ?

किन गरियो अयोध्यामाथि दाबी ?


भगवान् रामको जन्मभूमि अयोध्या नेपालमै भएको सार्वजनिक अभिव्यक्ति दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओली फेरि चर्चा र विवादको चुलीमा पुग्नुभएको छ । आदीकवि भानुभक्तको जन्मदिन असार २९ गते आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान अयोध्या वीरगञ्जदेखि केही पर नेपाली भूभागमै भएको बताउनुभएको थियो । उहाँको अभिव्यक्ति काल्पनिक, आधारहीन र हावादारी भएको भन्दै सामाजिक सञ्जालमा ब्यापक आलोचनासहित खिल्ली उडाइएको छ । छिमेकी मित्रराष्ट्र भारतमा समेत ओलीको ‘हल्का’ अभिव्यक्तिलाई गम्भीर रूपमा लिइएको छ । भारतको विदेश मन्त्रालयले ओलीको अभिव्यक्तिको खण्डन गरेको छ भने अयोध्या र आसपासका साधु–सन्तहरू निकै क्रुद्ध बनेका छन् ।

ओलीले अयोध्या नेपालमा रहेको सार्वजनिक अभिव्यक्ति दिनुभएको भोलिपल्ट नै ओली र ओलीपत्नी राधिकाको नाममा स्वीस बैंकमा पचपन्न लाख अमेरिकी डलर रहेको चर्चा समाचारका रुपमा ब्यापक भएको छ । ‘ग्लोबल वाच एनलाइसिस’ नामक कुनै संस्थाद्वारा तयार गरिएको प्रतिवेदनको हवाला दिँदै लेखिएको समाचारमा जेनेभास्थित मिराबाउड बैंकको शाखामा ५५ लाख डलर लामो समयदेखि जम्मा रहेको र वर्षेनी पाँच लाख डलर थपिने गरेको ब्यहोरा उल्लिखित छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिनुभएको अभिव्यक्तिलाई नेपालभित्र र बाहिर कतै पनि स्वभाविक र सकारात्मक रूपमा लिइएको छैन । तथ्य र प्रमाणविना त्यस किसिमको अभिव्यक्ति दिँदा प्रधानमन्त्रीको ओज ह्रास भएको मात्र नभई भारतसँगको सम्बन्ध थप तनावपूर्ण हुने स्थिति बनेको छ । भारतसँग त्यसै पनि विवाद बढिरहेका बेला प्रधानमन्त्रीको भनाइले भारतलाई थप भड्काएको छ र, यसले विपत्तिलाई निम्ता दिने खतरा बढाएको छ ।

प्रधानमन्त्री ओलीले केही साताअघि ‘हिमवतखण्ड डट कम’मा प्रकाशित एक लेखका आधारमा त्यस किसिमको अभिव्यक्ति दिनुभएको बुझिएको छ । स्मरणीय छ, सो अनलाइन पत्रिकामा केही साताअघि लोकमणि पौडेल नामक एक अनुसन्धानकर्ताको लेख छापिएको थियो, जुन लेखमा पौडेलले चितवनको माडीक्षेत्र नै सक्कली अयोध्या भएको दाबी गर्दै आफ्ना तर्कहरू प्रस्तुत गरेका छन् । यसबाहेक अन्य कुनै तथ्यलाई आधार बनाएर प्रधानमन्त्रीले अयोध्याबारे बोल्नुभएको ठानिएको छैन । यसअघि ‘भारतीय कोरोना’ र भारतको राष्ट्रिय प्रतीक चिह्नबारे अवाञ्छित टिप्पणी गरेर प्रधानमन्त्री विवादमा तानिनुभएको थियो । बारम्बार गम्भीर असर पार्ने हल्का अभिव्यक्ति दिन प्रधानमन्त्री ओली अग्रसर हुनुलाई आश्चर्यजनक मानिएको छ ।