सक्कली अयोध्या नेपालमै !

सक्कली अयोध्या नेपालमै !


सक्कली अयोध्या नेपालमै !

लखनउमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्याङ्कहरूले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निष्कर्षमा पुगेपछि हाम्रा अगाडि अर्को प्रश्न तेर्सिन्छ– त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ? यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडी पुग्नुपर्ने हुन्छ । केही समय पहिलेसम्म त्यहाँस्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो । माडी अहिले नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ, जो प्राचीन समयदेखि नै अयोध्यापुरीकै नामले जानिन्थ्यो । जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो । त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ । यसका लागि केही तर्कहरूको सहारा लिनुपर्ने देखिन्छ–

१. सो ठाउँबाट जनकपुर को सिधा दूरी करिव १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकी आश्रम करिव ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकी आश्रम पुगेर फर्कन सम्भव छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ, त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ ।
२. सरयू नदीको प्रसङ्ग ः संस्कृतमा सरको अर्थ ताल, छहरो, पोखरी आदि हुन्छ । त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी । सरयूको अर्को नाम सरस्वती पनि हो । सरस्वतीलाई पारावतघ्नि पनि भनिन्छ । त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो । अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ ।
३. देवघाटसँगै मात्र होइन माडीभन्दा केही दक्षिणतर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ । तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमाभित्र पर्छ । वरिपरि राम जोडिएका ग्राम र नगरहरूको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या सावित गर्न मद्दत गर्दछ ।
४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ । अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ । अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ । उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन । पाल्पामा पनि रामपुर छ । रामपुरसँगै काली नदीको किनारमा प्राप्त गरेका ठाउँहरू हुन सक्छन् ।
■ लेनिन विष्ट (फेसबुकमा)

000

मेरो आदर्श स्खलित भएको दिन !

एकदिन पोखरा एयरपोर्टमा क. प्रचण्ड र क. बाबुरामसँग थिएँ म, भिआइपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरूलाई लज्जाबोध भएछ क्यारे ! मुन्टो निहुराएर कुरा गर्नुभो ! मैले सुनिरहेँ ! म अलिक पर थिएँ । सारमा ‘लगाउन, खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो । मैले नसुनेझैँ गरेर सुनिरहेँ कान थापेर । मलाई नमिठो लाग्यो । आफूसँग पैसा पनि थिएन । भर्खरजसो शान्तिप्रक्रियामा आएको थियो पार्टी । त्यस्तै तीन वर्षजति भएको हुँदो हो । ‘आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम …’ हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीतिभन्दा बाहिर जानु मर्नु जस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर/भोगेर भननन्न… चक्कर आयो ! तर, सम्हालिएर बसेँ र अडिएँ ! यस्ता चक्कर र घनचक्करहरू दर्जनौँ भोगियो ! अनि लाग्यो- मेरो पार्टी र आदर्श त उहिल्यै सक्किएछ । म उल्लु रहेछु, धत् मोरा ! भनेर आफैंलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिइयो !
■ लोकेन्द्र बिष्ट मगर (फेसबुकमा)

000

प्रमज्यू, बेकारका कुरा गरेर समय खेर नफाल्नुस् !

आफैले मोदीलाई विवाह पञ्चमीमा स्वागत गरेको होइन ? त्रेता युगको कुरा हो । तपाईं धर्म नमान्ने, इश्वरको नाम नलिने सिद्धान्त मान्ने पार्टीको नेतृत्व गर्नुहुन्छ । अझ धर्मलाई अफिम मान्ने माक्र्सवादी ! मुखमा जे आयो त्यो बोल्ने कुर्सी होइन होला त्यो । रामको जन्मभूमि जहाँ होस् त्यसमा विवाद आवश्यक होइन । हिन्दुले अयोध्या भन्लान्, बुद्ध मान्नेले लुम्बिनी, जिसस मान्नेले इस्रायल मान्लान् र मुस्लिमले अरब मक्का आदित्यादि । मान्छेको आ-आफ्नो विश्वास हो । सत्तामा बसेर गफ दिने, हावामा समय कटाउने, भ्रष्टाचार कुशासन, कोरोनाको महामारी, बाढी पैहिरोले अक्रान्त नेपालीको ध्यान भड्काउने खालका कुरा गरेर समय खर्च गर्ने ? कालापानी लिम्पियाधुरा नक्सा आयो, सबै नेपाली खुसी छन्, कुटनीतिक पहल गर्ने कि भारतलाई गाली गरेर अन्टसन्ट बोलेर सम्बन्ध बिगार्ने ? भारतसँगको सम्बन्ध जनता–जनताबीचको सम्बन्ध हो, राजनीति त ७०/८० वर्ष अगाडि छँदै थिएन । प्रमको कुरामा सत्यता होला–नहोला तर आजको आवश्यकता रामको जन्मभूमि खोज्ने बेला हो त यो ? बुद्ध नेपालमा जन्मेका हुन्, अहिले त्यो भाग नेपाल हो तर बुद्धत्व प्राप्त गरेको भाग अहिले भारतमा पर्छ, यो नै सत्य हो । तपाईं माक्र्सवादी कि धर्मगुरु ? छुट्टयाउन समस्या भयो । धर्तीका सबै कुराको ज्ञान कसरी आउँछ हो ? छिमेकीसँग भएका असमान सन्धि, गोर्खाली सैनिक भर्तीकेन्द्र हटाउन हिम्मत गर्नुस् । विकास सुशासन भ्रष्टाचारविरुद्ध काम गर्नुस्, बेकारमा नचाहिँदो कुरा गरेर समय खेर नफाल्नुस् !
■ जगदिश कुमार थापा (फेसबुकमा)