मदिराको तालमा उपप्रमुखले कुटे सेवाग्राही

मदिराको तालमा उपप्रमुखले कुटे सेवाग्राही


बागलुङ नगरपालिका बागलुङका उपप्रमुख सुरेन्द्र खड्काले मदिराको तालमा सेवाग्राहीमाथि कुटपिट गरेका छन् । सोमबार (३० असार) साँझ बागलुङ बजारको बाटिका रेष्टुरेन्टमा खाजा खान गएका कृषि विकास बैंकका कर्मचारी ऋषि रेग्मीमाथि खड्काले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए ।

‘उपप्रमुख खड्का, बा.न.पा. ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम र बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरी अगाडि नै रेष्टुरेन्टमा मदिराको तालमा रहेछन्, रेग्मी खाजा खाएर पैसा तिर्न काउन्टरमा पुग्नासाथ अपशब्द प्रयोग गर्दै रेग्मीमाथि कुटिपिट गरे’, एक प्रत्यक्षदर्शीले भने ।

कृषि विकास बैंकमा कार्यरत रेग्मीले बागलुङ नगरपालिकाका विभिन्न ठाउँमा खानेपानी आयोजना निर्माणको कामको समेत जिम्मा लिँदै आएका थिए । सोमबार दिउँसो कामको सिलसिलामा नगरपालिकाको कार्यालय पुगेका रेग्मी र त्यहाँका इन्जिनियर त्रिलोचिन गिरीबीच सामान्य भनाभन भएको बताइएको छ ।

‘दिउँसो कार्यालयमा कामको सिलसिलामा केही भनाभन भएको रहेछ, पछि रातको समयमा रेष्टुरेन्टमा त्यसको रिसमा कुटपिटमा उत्रिएका रहेछन्’, प्रत्यक्षदर्शीले बताए ।

‘रेग्मीसँग तीन जना हुनुहुन्थ्यो, उहाँहरू खाजा खाएर जाँदै गर्दा उपप्रमुख र वडाअध्यक्ष ज्ञानेन्द्र गौतम काउन्टरमा आएर आक्रमणमा उत्रिए’– अर्का प्रत्यक्षदर्शी बताउँछन् । रेग्मीले निर्माणको जिम्मा लिइएका खानेपानी आयोजना निर्माण गरेवापतको भुक्तानी खड्का संयोजक रहेको अनुगमन समितिले रोकेको थियो । रोकिएको भुक्तानी प्राप्तिका लागि दर्जनौँ पटक कार्यालय पुगेका रेग्मीमाथि सुनियोजित रूपमा आक्रमण भएको स्थानीयले आरोप लगाएका छन् ।

‘अहिले नगरपालिकामा असार मसान्तको कामको चटारो छ, योजना भुक्तानीका लागि जनप्रतिनिधिले सिफारिस गर्नुपर्छ, इन्जिनियरले त्यसको मूल्याङ्कन गर्नुपर्छ तर ती जिम्मेवार व्यक्तिहरू दिउँसोबाटै मदिराको तालमा सेवाग्राहीमाथि आक्रमणमा उत्रनु निन्दनीय छ’– स्थानीय प्रत्यक्षदर्शीले गुनासो गरे ।