कहाँ जाँदैछ मदन भण्डारी मार्ग ?

कहाँ जाँदैछ मदन भण्डारी मार्ग ?


■ मुक्तिनाथ भुसाल,अर्घाखाँची

नेपालका केही महत्वपूर्ण सडकहरू मध्येको निर्माणाधीन ‘मदन भण्डारी राजमार्ग’ सडकको नियमअनुसार अर्घाखाँचीमा अगाडि नबढ्ने भएको छ । चुरे र भित्री मधेसका बस्तीहरूलाई समेटेर पूर्व मेचिदेखि पश्चिम महाकालीसम्म जोड्ने लक्ष्यका साथ अगाडि बढाइएको यो सडक अर्घाखाँची क्षेत्रमा स्वरुप नै परिवर्तन गर्नेतर्फ जिल्लाका नेताहरू लागेका बुझिएको छ ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक उमेशविन्दु श्रेष्ठका अनुसार ०७५ जेष्ठ ६ गतेदेखि विधिवत रूपमा शुरु भएको यो सडक अगामी ५ वर्षभित्र सम्पन्न गर्ने गरी अगाडि बढेको बताएका छन् । आयोजना निर्देशक श्रेष्ठका अनुसार यो सडकमा हालसम्म करिव १५ अर्ब खर्च भइसकेको छ । झापाको बाउनडाँगीदेखि चितवन, चितवनबाट पाल्पाको रामपुर हुँदै गुल्मीको रिडीसम्म सडक आइपुग्नु सुखद पक्ष भए पनि त्यसपश्चात् यो सडकमा आफूअनुकुल हुने गरी नेताहरूले राजनीति शुरु गरेका छन् ।

गुल्मीको रिडीसम्म आइपुगेको मदनभण्डारी मार्ग अब चुरेक्षेत्र र भित्री मधेसको पहिचान गरी प्यूठानको बिजुवार पुग्नुपर्ने भए पनि गुल्मेली नेताहरूको पहुँचको प्रभाव सडक रिडीदेखि गुल्मीको क्षेत्र नम्बर ३ हुँदै प्यूठान लग्ने गरी कामको सुरुवात गरियो । तथापि ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अथक प्रयासमा मदन भण्डारी मार्ग गुल्मीको रिडीदेखि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क हुँदै प्युठानको बिजुवार पुग्नुपर्ने चट्टानी अडानले गत वर्ष सफलता पाएको थियो । मुख्यमन्त्री पोखरेलको कदमबाट अत्तासिन पुगेका गुल्मीका शीर्ष ‘जनप्रतिनिधि/नेता’हरूले अर्घाखाँचीका शीर्ष ‘जनप्रतिनिधि’लाई भेट गरी मायाजालमा फसाएपछि अर्घाखाँचीका केही शीर्ष नेताहरूले इतिहासमा बिर्सन नमिल्ने भूल गरेको जानकारी मिलेको छ । सहमतिअनुसार मदन भण्डारी मार्गको मुख्य सडक गुल्मीलाई नै दिने र सोको बदलामा गुल्मीको रिडीदेखि सदरमुकाम सन्धिखर्क हुँदै प्यूठानको बिजुवारसम्म मदन भण्डारी मार्गको बजेटबाट शाखा सडकका रूपमा कालोपत्रे गर्ने सहमति गरिएको विशेष श्रोतबाट बुझिन आएको छ ।

सहमतिअनुसार मदन भण्डारी मार्गको बजेटबाट गुल्मीको रिडीहुँदै अर्घाखाँचीको बल्कोटदेखि सदरमुकाम सन्धिखर्कसम्म सडक कालोपत्रे हुने भए पनि सदरमुकाम सन्धिखर्कबाट कुन क्षेत्रलाई प्राथमिकता दिइयो त भन्ने कुरा थप रोचक रहेको छ । मदन भण्डारी राजमार्गको मुख्य सडक नै अर्घाखाँची आउनुपर्नेमा शाखा सडकमा सहमति गरिएको सडक सन्धिखर्क सदरमुकामबाट प्यूठानको बिजुवारसम्म पुग्नैपर्ने हुन्छ । सन्धिखर्कबाट प्यूठानको बिजुवार पुग्नका लागि चार वटा विकल्प रहेका छन् । पहिलो– सबैभन्दा छोटो तथा बाक्लो बस्ती रहेको कुर नुवाकोट खिल्जी असुरकोट जहिटारी हुँदै बिजुवार, दोस्रो– किमडाँडा धारापानी ढाकावाङ हुदै बिजुवार, तेस्रो– गच्छे ढिकुरा डेभा जुकेना जलुके लामाताल हुँदै बिजुवार र चौथो भनेको धरमपानी अर्घा भडीराख्ने रतनमारे गोखुङ्गा हुँदै बिजुवार पु¥याउन सकिन्छ । यहाँनेर उल्लेख गरिएका पहिलो दोस्रो र तेस्रो रुटबाट मदन भण्डारी मार्ग लैजान भुमिकास्थान नगरपालिकाको मेयरले विरोध गरेका र प्राविधिकहरूले पनि ग्रेड नमिलेको भनेका कारण मदन भण्डारी मार्ग धरमपानी अर्घा अर्थात् पूर्वउपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीको घर हुँदै ढोरपाटन सडकको भेडिराख्नेमा मिसाएर रतनमारेदेखि गोखुङ्गा हुँदै प्यूठानको बिजुवारसम्म मदन भण्डारी मार्ग जाने तय गरिएको छ ।

यसै प्रसङ्गमा गत साता पत्रकार सम्मेलन गरी भलाकुसारी गरिरहेका भूमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापालाई किन मदन भण्डारी मार्ग भित्र्याउन विरोध गर्नुपरेको हो भन्ने जिज्ञासाको जवाफमा आफू विकासविरोधी नभएको दाबी गर्दै नगरप्रमुख थापाले आफूहरूबाट विरोध नभएको र प्रक्रिया पूरा गर्नका लागि आएका प्राविधिकहरूले अलिकति मात्रै सडक टेकेर यहाँबाट त हुँदैन भन्दै उनीहरू दौडिएको बताएका छन् । नगरप्रमुख थापाका अनुसार मदन भण्डारी मार्ग माननीय रायमाझीको घरतर्फ लैजाने पूर्वतयारीका साथ उनीहरू आएका कारण यतातिर ग्रेड नमिल्नु र आफूलाई दोष लगाउनु अस्वभाविक नभएको गुनाो गरेका थिए । मदन भण्डारी मार्ग जिल्लाको कुनै न कुनै गाउँबस्तीबाट जानु पङ्क्तिकारका लागि सुखद पक्ष भए पनि यो सडकका केही नीतिगत कुराहरू बुझ्नु आवश्यक देखिन्छ ।

अर्घाखाँची जिल्ला करिव १ हजार तीनसय दश वर्ग किलोमिटरमा फैलिँदै गर्दा नेता रायमाझीले विगतमा चुनाव लडेको क्षेत्र नम्बर १ जम्मा तीनसय दश वर्ग किलोमिटरमा रहेको छ । यसैगरी क्षेत्र नम्बर २ करिव एक हजार तीन वर्ग किलोमिटरमा फैलिएको छ र हाल उनी दुवै क्षेत्रका निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । विकास निर्माणको हिसाबले क्षेत्र नम्बर १ को तुलनामा क्षेत्र नम्बर २ कर्णालीका रूपमा हालसम्म परिचित रहेको छ । मदन भण्डारी मार्ग पनि दुई–चार सय मिटर सदरमुकामबाहेक सबै भुभाग क्षेत्र नम्बर १ मा पर्दछ । जुन अर्थमा समग्र जिल्लावासीहरूको विश्वासको मत प्राप्त गरेका नेता रायमाझीले गाउँकेन्द्रित बिकासलाई बिर्सेर समग्र जिल्लाको हितमा लाग्नु उपयुक्त हुने देखिन्छ ।

नेता रायमाझीको जन्मघरमा मोटरबाटो पुऱ्याउन राज्यको तर्फबाट विगतमा करोडौँ रकम लगानी गरिनुका साथै खेल मैदान बनाउने भन्दै करोडका करोड खर्च गरिएको अर्घाको मसुरपाटा करिव अर्थहीन अवस्थामा रहेको छ । विगतमा पटक–पटक मन्त्री हुँदा उनले आफनो गाउँ अर्थात् क्षेत्र नम्बर १ मा धेरै बजेट भित्र्याएका कारण यसपालि अर्घाखाँचीको कर्णालीका रूपमा परिचित क्षेत्र नम्बर २ का भुभागहरूलाई उनले प्राथमिकता दिन कन्जुस्याइँ गर्नु हुँँदैन भन्ने आमजनाताको राय छ । नेता रायमाझी र उनका अगाडि–पछाडि घुमेर जीविकोपार्जन गर्ने खुराफातीहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुरा भनेको नेता रायमाझी प्रतिनिधिसभा निर्वाचनयता समग्र जिल्लाका अभिभावक हुन् ।

नेपालमा कानुन जीवित छ भने मदन भण्डारी मार्गलाई नेता रायमाझीलगायत कुनै पनि महाशयले आफुअनुकुल हुनेगरी सडकको स्वरुप परिवर्तन गर्न नियमअनुसार कदापि मिल्दैन । किनभने यो सडकको पहिलो प्राथमिकता भनेको चुरेक्षेत्र र भित्री मधेसका बस्तीहरूलाई समेटेकै हुनु पर्दछ । डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन प्रमुख शिव शर्माका अनुसार धरमपानी अर्घा रतनमारे गोखुङ्गा सडक चुरे तथा भित्री मधेसभित्र पर्दैन । मदन भण्डारी राजमार्गको नियमअनुसार सडक लैजाने हो भने सदरमुकाम सन्धिखर्कदेखि गच्छे ढिकुरा डेभा धनचौर जुकेना जलुके लामाताल हुँदै प्यूठानको विजुवार पु¥याउनुपर्ने हुन्छ । जहाँ जुकेना र जलुके चुरेअन्तर्गत पर्दछन् भने मनमोहक लामाताललाई भित्री मधेसका रूपमा लिन सकिन्छ । सो रुटका स्थानीयहरू अहिले पनि शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडकको पहुँँचबाट बञ्चित बन्नुको अलवा जनघनत्व बाक्लो भएर पनि राज्यको पहुँचबाट टाढा रहेका छन् ।

यी सबै कुराको जानकार रहेका क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे यस विषयमा चुप रहनुले उनीमाथि पनि शङ्खा गर्नुपर्ने स्थानीयको बुझााई छ । कारणवश नेकपाका नेतासमेत रहेका घिमिरेले अब पनि मदन भण्डारी मार्गलाई सडकको लक्ष्यअनुसार अघि बढाउनका लागि मुख्यमन्त्री शंखर पोखरेलको सामु सदन र सडकमा आवाज उठाउन ढिला गर्छन् भने उनको राजनैतिक छविमा धक्का लाग्ने मात्र नभई राज्यले कल्पना गरेअनुसारको मदन भण्डारी मार्ग अधुरो बन्ने छ ।