राष्ट्रको हित, उन्नति र योग्य व्यक्तिलाई योग्य स्थान

प्रासङ्गिक/अप्रासङ्गिक



■ केशवप्रसाद भट्टराई

१. पृथ्वीनारायण शाह, बहादुर शाहको सफलताको पछाडि उनीहरूले योग्यभन्दा योग्य व्यक्तिहरूलाई राजकाज र सेनामा नियुक्ति गर्नु र उनीहरूलाई निरन्तर सम्मान, स्नेह र विश्वास गरिरहन सक्नु थियो ।
पछाडिकाले त्यसो गरेनन्, चाकडीदारलाई मात्र काखी च्यापे परिणाम इतिहासले देखाएको, भोगाएको छ ।

२. सात सालमा प्रजातन्त्र आएपछिको संयुक्त मन्त्रिपरिषदका गृहमन्त्री तथा नेपाली काङ्ग्रेसको तर्फबाट सरकारका नेता थिए– विश्वेश्वर प्रसाद कोइराला ।
आधुनिक राज्य संचालनको जग हाल्ने जिम्मेवारी उनकै थियो ।
आधुनिक राज्य प्रणालीको आधारशिला न्याय हो भन्ने बुझेका उनले सर्वोच्च अदालत (तत्कालिन प्रधान न्यायालय)को प्रधानन्यायाधीश हुनका लागि नेपाली मूलका तर दार्जिलिङमा वकालत गरिरहेका हरिप्रसाद प्रधानलाई अनुनयविनय गरेर ल्याए ।
उनै हरिप्रसाद प्रधानले नेपालको आधुनिक न्यायप्रणालीको जग हाले, वकालती बहस प्रणाली आरम्भ गराए ।
उनले स्थापना गराएको स्वतन्त्र न्यायालय र न्यायिक सर्वोच्चताको सिद्धान्तलाई राजा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रहरूले पनि हस्तक्षेप गरेनन् ।

३. राजा त्रिभुवनले बनारसका विद्वद समुदायमा अत्यन्त सम्मानपूर्वक नाम लिइने पद्मप्रसाद भट्टराईलाई नेपाल झिकाए र नेपाल राजकीय संस्कृत महाविद्यालय (हाल वाल्मिकी क्याम्पस)मा नियुक्त गराए ।
पण्डितशिरोमणि सोमनाथ सिग्ध्यालको सेवा निवृत्तिपछि श्री भट्टराईलाई उहाँको विद्वताको सम्मानस्वरूप राजा महेन्द्रले सो महाविद्यालयको प्रधानाचार्य पदमा आजीवन रहने व्यवस्था गरिदिएका थिए ।

४. लेनसिंह वाङ्देल पनि दार्जिलिङका नेपाली थिए ।
राजा महेन्द्रले दार्जिलिङबाट बोलाए ।
प्रज्ञा प्रतिष्ठानको प्राज्ञ बनाएपछि उपकुलपति पनि बनाइए ।
नेपालका कतिपय प्राचीन मूर्तिहरू चोरी भएर युरोप र अमेरिका पुगेका थिए ।
त्यहाँका विभिन्न संग्रहालयका शोभा बनेर बसेका थिए ।
साहित्यमा अनेकौँ कालजयी कृतिहरूका रचयिता उनै वाङ्देलले लेखेको नेपालका प्राचीन मूर्तिहरूको चोरीसम्बन्धी विश्वविख्यात पुस्तक (स्टोलन इमेजेज अफ नेपाल)मा ती मूर्तिहरूबारे उल्लेख भएकाले त्यसैलाई आधार बनाएर नेपालले ती मूर्तिहरू आफ्नो भएको दावी गऱ्यो ।
वाङ्देलको उक्त पुस्तकलाई नै प्रमाण स्वीकार गरेर ती मुलुकका सरकारको पहलमा त्यस्ता केही मूर्तिहरू नेपाल फिर्ता भए ।
राजा महेन्द्रले राजनीति, प्रशासन र कूटनीतिक क्षेत्रमा मुलुकमा भएसम्मका योग्यतम व्यक्तिहरूलाई उच्च र महत्वपूर्ण जिम्मेवारी प्रदान गरे ।
त्यस्तो जिम्मेवारी दिँदा हिजो कुनै व्यक्ति कुन राजनीतिक पृष्ठभूमिका थिए भनेर हेरेनन्, योग्यता र क्षमता मात्रै हेरे ।
त्यसैले १० वर्षकै अवधिमा उनी धेरै महत्वपूर्ण कार्य गर्न सफल भएका थिए ।

५. गिरिजा प्रसादले डा. रामशरण महत र महेश आचार्य जस्ता देश र विदेशको अर्थतन्त्र बुझेका मानिसलाई उचित जिम्मेवारी दिन सकेकैले उनको पहिलो कार्यकाल आर्थिक विकासको दृष्टिले असाधारण रूपमा उपलव्धिमूलक रहेको थियो ।
प्रधानमन्त्री ओलीको यो कार्यकालमा (कोरोनापूर्व) मुलुकलाई प्राप्त उपलव्धिमा अर्थमन्त्री डा. युवराज खतिवडाको विशिष्ट योगदान रहेको छ ।
उनको दलका राजनीतिक व्यापारीहरू, ठेकदारहरू र सांसदहरूका अराजक र अर्थतन्त्रको हितविपरितका कतिपय गलत मागहरूलाई पन्छाउन नसके पनि उनले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा लैजाने भरमग्दुर प्रयत्न गरेका छन् र त्यसको उपलव्धि मुलुकले पाएको छ ।

६. प्रदिप नेपाल संचार राम्रो बुझेका मानिस थिए, तर पछि आएर उनलाई शिक्षामन्त्री बनाइयो ।
एनपी सावद गतिलो शिक्षामन्त्री हुन सक्थे तर सिंचाई मन्त्री बने ।
त्यसैले परिणाम दिन सकेनन् ।
पार्टी स्कूल विभाग वा संचार मन्त्रालय उपयुक्त हुने घनश्याम भुसाललाई कृषिमन्त्री बनाइयो, अरू कुरा छोडौँ धानबालीलाई चाहिने मलखाद गहुँबालीको समयमा पनि आइपुग्छ या आइपुग्दैन थाहा छैन ।
असारमा मल चाहिन्छ भन्ने कुरासम्म थाहा नहुने कृषिमन्त्रीले फलाकेका कुरा सुनेर बस्ने बाध्यतामा छन् नेपाली ।
खेलकुद मन्त्री बनाइनुपर्ने योगेश भट्टराई पर्यटन अनि परिणाम ??? कृषिमन्त्रीको जस्तै ।
गफ मिलाएर गर्न जाने नेपाली राजनीतिलाई पुगीगो १

७. गोकर्ण बिष्ट र जनार्दन शर्मा प्रभाकरले जलश्रोत मन्त्रीको रूपमा सबैको सम्मान र विश्वास आर्जन गरेका थिए तर त्यसपछि उनीहरूलाई त्यहाँ ढिम्किन पनि दिइएन,
राम्रो काम गरेको दण्ड पाएजस्तै भयो उनीहरूको हकमा ।

८. माओवादीले जनवादी शिक्षा चाहिन्छ भनेर अनेकौँ स्कुल, कलेजहरूमा आक्रमण गरे ।
शिक्षकहरू मारिए, पुस्तकहरू जलाइए, विश्वविद्यालयसम्ममा आगो लगाएर ज्ञानका महाभन्डार अनेकौँ दुर्लभ ग्रन्थहरू समेत खरानी बनाइए ।
तर, जब देशमा प्रचण्ड र बाबुरामको नेतृत्वको सरकार आयो,
जनवादी शिक्षा कस्तो होला देखिएला त नि भनेको त शिक्षामन्त्री उनीहरूको दलका बनेनन्– गृह, अर्थ, स्थानीय विकास , निर्माण–यातायात, पूर्वाधार , जलश्रोतमै उनीहरूको लडाई देखियो ।
अहिले पनि शिक्षामन्त्री पूर्व माओवादी छैनन्, पूर्व माओवादीभित्रका पूर्व एकता केन्द्रका छन् ।
नारा घोकेर दल र संसदमा हुलिएकाहरूबाट काम गर्न पाइरहेका छैनन्, त्यसैले काम गर्न सकिरहेका पनि छैनन् ।

९. आजको युगमा सबै मन्त्री पदहरू र खास गरेर अर्थमन्त्री र परराष्ट्रमन्त्री अत्यन्त ठूलो विज्ञता माग्ने पद हो ।
सबैजसो मुलुकमा अर्थतन्त्र र परराष्ट्र मामिलामा देश विदेशमा धेरथोर चिनिएका, उक्त क्षेत्रमा कलम चलाएका, राष्ट्रिय अन्तर्राष्ट्रिय नीति बहसमा जोडिएका मानिस त्यो पदमा लगिन्छन् १
आजको युगमा सबैजसो मन्त्रालयका सचिवहरू आफ्नो मन्त्रालयसम्बन्धी विषयमा प्रकाण्ड विज्ञ हुन्छन्, हामीकहाँ परराष्ट्र मन्त्रालयमा पनि जुनसुकै मन्त्रालयबाट सचिव बनाएर लगिने नीति अघि बढेको केही अघि पढिएको हो ।

१०.
मुलुकको शान्ति, स्थिरता र उन्नतिको पहिलो आधार भनेको ‘योग्यम योग्याय योजयेत’को नीति हो ।
त्यसको प्रारम्भ योग्य र मुलुकप्रति इमानदार मन्त्री, सचिव, संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिबाट प्रारम्भ हुन्छ ।
त्यसले मात्र देश र विदेशमा सरकारका पक्षमा विश्वासको वातावरण निर्माण गर्दछ ।
त्यही विश्वासको बलमा टेकेर देश उठ्छ र गतिमान बन्दछ ।
खासगरी ०६२–६३ पछाडिका सबै सरकारले नेपालको राज्य सञ्चालनको सवालमा योग्यता, क्षमता, मुलुकप्रतिको निष्ठा र जनताप्रतिको दायित्वको उछितो काढेका छन् ।

विश्वका केही उदाहरण हेरौँ–
११. बेलायतको उपनिवेश रहेको र चरम भ्रष्टाचारले थिल्थिल्याएको र औपनिवेशिक शासनबाट मुक्तिपछि गरिबी, जातीय द्वन्द्व र वामपन्थी अतिवादले ग्रस्त सिंगापुर मलेसियाइ संघबाट निस्कासित भयो ।
त्यसपछि सिंगापुरले आफूलाई अगस्त १९६५ (२०२२ साल) मा स्वतन्त्र घोषणा गऱ्यो तर मुलुकको स्वतन्त्रताको घोषणा गर्दा कुनै प्राकृतिक साधन र स्रोत नभएको यति सानो र गरिव मुलुक कसरी बाँच्ने होला भनेर ली झन्डै रोएका थिए ।
तर, लीले मुलुकलाई उपलब्ध भएमध्येका योग्य व्यक्तिलाई मन्त्रीमा चयन गरेर कार्य प्रारम्भ गरे ।
एकचोटी उनले नियुक्त गरेका १६ जना मन्त्रीमा १४ जना पीएचडी वा सरह र दुई जना मास्टर डिग्रीका थिए ।
त्यो उनको सरकारको चरित्र नै बनेको थियो ।

१२. योग्यभन्दा पनि योग्य व्यक्तिहरू समावेश, स्वच्छ, सक्षम र भ्रष्टाचाररहित र विधिको शासनले मात्र स्वतन्त्र सिंगापुरको जीवन र समृद्धि सम्भव छ भन्ने उनको बुझाइ थियो ।
सरकारको राजनीतिक र प्रशासनिक नेतृत्वप्रति जनता र विदेशी लगानीकर्ताको विश्वास नजगाई राष्ट्र उठ्दैन भन्ने उनले राम्ररी बुझेका थिए ।
त्यसैको परिणाम एउटा सम्भावना शून्य सानो नगर राज्यका नेताले चीनका देङ सियाओ पिङदेखि चतुर अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरसम्मलाई राष्ट्रिय विकास र अन्तर्राष्ट्रिय मामिलामा परामर्श दिने हैसियत बनाए ।

१३. इजरायल छिमेकीहरूबाट त्यतिबिघ्न चुनौतीहरू सामना गरेको गऱ्यै छ तर हरेक अर्कोदिन उसले आफ्नो राष्ट्रिय क्षमता थपिरहेको छ किन कि उसलाई योग्य व्यक्तिहरूलाई योग्य स्थानमा कसरी लैजानुपर्छ भन्ने थाहा छ ।
जापान र कोरियाले छोटै अवधिमा गरेको प्रगतिको रहस्य पनि त्यही हो ।

१४. मे १९९१ मा राजीव गान्धीको हत्यापछि पीभी नरसिंह राव अप्रत्यासित रूपमा भारतका प्रधानमन्त्री भए ।
पछिल्लो १८ महिनामा उनी तेस्रो प्रधानमन्त्री थिए ।
तर, प्रधानमन्त्री पदको शपथ लिनुभन्दा केही घन्टाअघि मात्र भारत सरकारका मुख्य सचिव आएर सरकारसँग मुस्किलले एक साताका लागि मात्र आयात धान्ने विदेशी मुद्राको सञ्चिति भएको बताए ।
संसारको सबैभन्दा ठूलो प्रजातन्त्रको प्रस्तावित प्रमुख पदाधिकारीलाई मुलुकका प्रमुख प्रशासनिक अधिकारी नरेश चन्द्राले भारत झन्डै टाट पल्टिसकेको अवस्थामा रहेको जानकारी दिए ।

१५. राव गहन परामर्शमा लागिहाले ।
एकजना नामुद र अनुभवि अर्थशास्त्री आईजी पटेललाई अर्थमन्त्रीको प्रस्ताव गरियो ।
पटेलले त्यस पदका लागि आफूलाई डा. मनमोहन सिंह योग्य भएकोले उनलाई बनाउन प्रस्ताव गरे ।
त्यसै भयो ।
त्यसपछि रावको दृढ साहस र समर्थनको बलमा सिंहले सुरु गरेको आर्थिक सुधारका नीतिलाई पछि अटलबिहारी वाजपेयी र स्वयं डा. सिंह र मोदी सरकारले अनुसरण गर्दै जाँदा भारत कहाँबाट कहाँ आइपुग्यो, तथ्य हाम्रैसामु छ ।

१६. आफूविरुद्ध अत्यन्त तिक्ततापूर्ण चुनावी प्रतिस्पर्धामा रहेकी हिलारी क्लिन्टनलाई बाराक ओबामाले अमेरिकी सरकारको पहिलो बरियताको विदेशमन्त्रीको पदमा नियुक्त मात्रै गरेनन्,
सामान्यतया कुनै पनि राष्ट्रपतिले प्रदान गर्नेभन्दा धेरै बढी स्वायत्तता हिलारीले पाइन् ।
उच्च अधिकारीहरूको नियुक्तिलगायतका सवालमा ओबामाले हिलारीमाथि कुनै हस्तक्षेप गरेनन् ।
विदेश मन्त्रालयमा हिलारी सर्वेसर्वा ।
चार वर्षको कार्यकालमा हिलारीले पनि कुनै पनि विदेशमन्त्रीले गर्नेभन्दा बढी नै सहयोग ओबामालाई गरिन् ।
त्यस्तै, ओबामाले विपक्षी दलका र आफ्ना कट्टर विरोधी पूर्वराष्ट्रपति जर्ज बुसका निकट सहयोगी रक्षामन्त्री रोबर्ट गेट्सलाई रक्षामन्त्रीमै कायम राखे ।
आफूसँग मान्छे नभएर होइन, मुलुकभित्र र अन्तर्राष्ट्रिय समुदायमाझ सरकारको विश्वसनीयता र राज्यको निरन्तरता प्रमाणित गर्न ओबामाले यसो गरेका थिए ।
भनिरहनु पर्दैन, राजनीतिको त्यो चरित्र र शिक्षा अनि ज्ञानको विकास तथा अनुसन्धानमा गरेको ठूलो लगानीले अमेरिकालाई अमेरिका बनाएको छ ।



१७. र अन्त्यमा , भारत, चीन, बेलायत र ब्रसेल्समा नेपालका सरकार प्रमुख र परराष्ट्र मन्त्रीसँग जुन सुकै समयमा पनि हटलाइनमा कुरा गर्न सक्ने र अन्तर्राष्ट्रिय मामिलामा गहिरो अध्ययन भएको व्यक्ति नभएमा उसले काम गर्न र काम देखाउन सक्दैन ।
नेपालको सरकारमा उसको प्रभाव र पहुँच उक्त मुलुकमा उसको प्रभाव र पहुँचमा रुपान्तर हुन्छ ।
यी चार मुलुकका राजदुतको महत्व नेपालका लागि के कति हुन्छ त्यो नेपालको परराष्ट्र नीति र नेपालको सुरक्षा र स्थिरताका आधारहरू बारे जान्ने जो सुकैलाई थाहा भएको हुनुपर्दछ ।

प्रतिक्रिया