आर्थिक अनियमितताकै लागि बक्सिङ सङ्घमा गैरकानुनी चलखेल

आर्थिक अनियमितताकै लागि बक्सिङ सङ्घमा गैरकानुनी चलखेल


नेपाल बक्सिङ सङ्घमा आर्थिक अनियमितता बढ्दै गएपछि सङ्घका पदाधिकारीबीच आपसी फाटो बढेको थियो । संघका अध्यक्ष राम अवालेले बक्सिङ संघको हिसाबकिताब दुरुस्त नराखेको र अन्य पधाधिकारीले हिसाब दुरुस्त राख्न खोज्दा उल्टै हस्तक्षेप गरेपछि संघका पदाधिकारीबीच विवाद उत्पन्न हुनुको साथै फाटो बढेको थियो ।

त्यसपछि निर्वाचित महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सजखु लगायतका संघका केही पदाधिकारीले संघको बैठकमै अध्यक्ष अवालेको गैरकानुनी क्रियाकलापको विरोध गरेका थिए । यसपछि आरोप–प्रत्यारोप शुरु भएपछि बक्सिङ संघको विवाद छताछुल्ल भएको थियो । यसरी संघ आन्तरिक विवादमा होमियो ।

हिसाब गडबडीका कारण संघ नै आन्तरिक विवादमा होमिएपछि अध्यक्ष अवालेले शक्तिको आडमा कोषाध्यक्ष गौतम सजखुलाई विधानविपरीत गैरकानुनी तवरले कोषाध्यक्षको जिम्मेवारीबाट पन्छाए । अवालेले सजखुलाई पन्छाउनुको मूल कारण थियो– ‘बैंक खातामा सजखुको अनिवार्य दस्तखत आवश्यक पर्नु ।’ कोषाध्यक्षको दस्तखतविना बैंकमा आफूखुशी कारोबार गर्न असम्भव भएकै कारण अवालेले आफ्ना प्रियपात्र अर्थात संघका सदस्य रामबहादुर गिरीलाई संघको कार्यवाहक कोषाध्यक्ष बनाए, जुन विधानविपरीत मात्र नभै गैरकानुनी पनि थियो ।

निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै अन्य कुनै व्यक्तिलाई उक्त पदमा राख्न मिल्दैन । विधानअनुसार सम्बन्धित व्यक्तिले राजीनामा दिएमा या मृत्यु भएमा मात्र साधारणसभामार्फत पदस्थापन गर्न सकिन्छ । तर अवालेले राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी र कर्मचारीसँगको सुमधुर सम्बन्धको फाइदा उठाउँदै गैरकानुनी कार्य गर्न सफल भए । परिणामतः निर्वाचित कोषाध्यक्ष हुँदाहुँदै आफ्नो इशारामा काम गर्ने व्यक्तिलाई कावा कोषाध्यक्ष बनाउँदै आफ्नो दुनो सोझ्याउन अवाले सफल भए । यसरी अवालेलाई विधानविपरीत गैरकानुनी कार्य गर्न छुट दिने राखेप पनि यसमा उत्तिकै दोषी देखिएको छ । गत ०७५ साल साउन १६ गते राखेपले सविना बैंकलाई गरेको पत्राचारले पनि यसलाई पुष्टि गर्छ ।

अध्यक्ष र महासचिवमध्ये एक र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य रहेको अवस्थामा कोषाध्यक्षलाई नै जिम्मेवारविहीन बनाउनुपछाडिको रहश्य थियो– आर्थिक अनियमितता गर्ने दुर्नियत, जसमा अध्यक्ष अवाले सफल भए । अहिले अवालेको चारवर्षे कार्यकाल सकिएको छ, उनले विगत चार वर्षको हिसाबकिताब दुरुस्त राखेको हालै संघवाट प्रेसित प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् । तर सम्बन्धित निकाय राखेपमा यसबारेमा बुझ्दा बक्सिङ संघले चार वर्षको आयव्ययको हिसाबकिताब नबुझाएको खुलासा भएको छ ।

यो अवधिमा संघले के–के कार्य गऱ्यो, कति आम्दानी र खर्च गऱ्यो भन्ने बारेमा कार्यसमितिलाई अहिलेसम्म जानकारी नभएको स्रोतले बताएको छ । जबकि प्रत्येक वर्ष संघको हिसाबकिताबको विवरण कार्यसमितिबाट पास गरेर राखेपमा बुझाउनु पर्छ ।

यसरी अध्यक्ष राम अवालेले गैरकानुनी रूपमा बक्सिङ संघ चलाउन थालेपछि संघका पदाधिकारीले नै खेलकुद मन्त्रालय, राखेप, अख्तियार दुरुपयोग अनुसन्धान र सतर्कता केन्द्रमा अवालेविरुद्ध उजुरी दिए पनि अहिलेसम्म कुनै किसिमको सुनुवाई नहुनु आफैमा रहश्यपूर्ण बनेको छ ।