‘शालीन ब्यवहारले पनि प्रतिभावान कलाकारलाई महानायक/नायिका बनाउन सक्छ’

‘शालीन ब्यवहारले पनि प्रतिभावान कलाकारलाई महानायक/नायिका बनाउन सक्छ’


■ आचार्य प्रभा (अमेरिका)

हुन त मान्छेको जात हो– जति उन्नती–प्रगति गर्दै जान्छ उत्ति नै उभित्र अभिमान र मपाइँत्वको थुम्को अग्लिँदै जान्छ । हामी प्राकृतिक बोट–बिरुवा त होइनौँ नि ! हामी त सर्वश्रेष्ठ प्राणी संसारका, त्यसैले हामीभित्र ‘हुँ’को अभिमान नाभो झारझैँ पलाउँछ । हुँदा–हुँदा त्यही नाभो झारझैँ हामीभित्र कमसल सोंचहरू पनि पलाउँदै जान्छन् र हामी कतै बीचमा आएर पछारिन पुग्छौँ । त्यही नाभो झार कुहिएर लेउ बन्छन् र हामी अन्धो बनेर हिँडिरहेको बेला कुनै दिन चिप्लिन्छौँ ।

हो, यस्तै हुन जान्छ मान्छेको जीवनमा पनि जो सफलताको सिँढी उक्लँदै हुन्छ, उभित्र अभिमानको आगो दन्किन थाल्यो भने कुनै दिन त्यही आगोले आफूलाई जलाउन सक्छन् । तर जो सफलताको सिँढी उक्लन्छ तब पनि उसले आफूलाई मैले अझ सिक्नु छ, गर्नु छ, म ‘म’ हुन अझै परिश्रम गर्नु छ, अनि सबैको मन–मुटुमाझ बस्नु छ भन्ने सोंच भए आफूभित्रको अहमतालाई घर मन–मस्तिष्कभित्र डेरा जमाउन दिनु हुन्न । यो विचार मैले सबै प्रतिभावान व्यक्तित्वहरूलाई सम्बोधन गरेर पोख्दैछु एक प्रवासी दर्शक÷श्रोता भएको नाताले । जो म आफ्नो देशभित्रका हरेक घटनालाई नियालिरहेकी हुन्छु, अनि अक्षर र शब्दबीच तारतम्य मिलाएर विचारमा परिभाषित गर्न उद्वेलित बन्छु ।

यो प्रसङ्ग हो नायिका/निर्देशक/निर्मात्री दीपाश्री निरौला बैनीको यतिबेला ‘कलिउड’मा निकै चर्चामा रहेको अन्तर्वार्ताको । ‘महानायक’ राजेश हमालको व्यक्तित्वसँग जोडेर दीपाश्रीद्वारा दिइएको अभिव्यक्ति यतिबेला दिन–प्रतिदिन आगो झैँ दन्किरहेको छ । प्रतिक्रियामा पनि दर्शक/पाठकहरूले आफ्नो अचेतन अवस्थालाई अघि सारेर विभिन्न गाली–गलौज समेत दिइरहेका छन् । हो, पाठक र दर्शकहरूको चित्त दुख्नु स्वाभाविक हो तर चित्त दुःखाइकै पीडामा डुबेर कसैको हुर्मत नै लिएर तथानाम गाली गर्नु पनि शोभनीय हुन्न जस्तो लाग्छ । हुन त मैले दीपा बैनीको पक्ष लिन खोजेकी होइन । म पनि अरुसरह दर्शक तथा पाठक हुँ । जे देखेँ बोल्नु, लेख्नु मेरो धर्म हो, तर कसैको अहमता र नादानीपनमा आफू पनि उस्तै बनेर नानाथरी लेख्नु, बोल्नु भनेको आफू पनि उस्तै नादानीपनमा डुब्नु हो जस्तो लाग्छ ।

कार्यक्रम ‘रजतपट अङ्कल’ अन्तर्वार्ता मैले दोहोऱ्याइ, तेहेऱ्याइ सुन्दै, हेर्दै यो लेख तयार गर्दैछु । दीपाश्री बैनीको बोली, स्पष्टताका साथ जवाफ दिने शैली बडो आकर्षक छ । उस्तै, पत्रकारलाई त पानी पिउन पनि नदिने उनको प्रस्तुति छ, जुन एउटा कलाकार भएपछि हुन आवश्यक छ जस्तो लाग्छ । मानौँ उनी यो चलचित्र क्षेत्रको पितृ नै बुझाउन सक्षम हुन् झैँ लाग्यो । उनका हरेक भावी कार्यक्रमका योजना, उनको सोंच अनि सकारात्मक विचारलाई नकार्न सकिँदैन र आशा छ– उनका विचार र कार्यब्यवहारहरूमा भिन्नता नहोला । तर समयको गतिले मान्छेमा अलिकति मपाइँत्व झल्काउनु पनि मान्छेभित्रको एउटा गुण हो भन्दा फरक नपर्ला, जो दीपाभित्र पनि झल्किएको प्रष्ट भयो ।

हो त्यो समय थियो हामी खुब रेडियो सुन्ने गर्थ्यौँ । यतिसम्म कि भान्सामा साँझ भात पकाउँदा पनि थोत्रे रेडियो भान्सामा राखेर सुन्थ्यौँ । अब रामविलास र धनियाँको कार्यक्रम आउँछ है भनेपछि एकताका हिन्दी सिरियलमा जसरी महिलाहरू झ्याम्मिएका थिए उसरी नै त्यो समय रेडियो नेपालको रामविलास र धनियाँको कार्यक्रम सुन्न श्रोताहरू दत्तचित्तले लागिपर्थे । त्यो समय उति कलाकारको तस्बिर हेर्न पाइन्नथ्यो आवाज सुन्नुसिवाय । को दीपकराज ? को दीपाश्री ? बस् ! हामीले त चिन्थ्यौँ धनियाँ र रामविलास भनेर । लाग्छ त्यो समय रेडियोमा सुनिने हास्यपात्र महिला आवाजमा दीपाश्री र अर्की एक नारी आवाज थियो जो बुढीआमाको नक्कल गरेर बोल्नुहुन्थ्यो । (अम्बिका हुन् कि भन्ने लाग्छ, नाम किटान गरेर भन्न सकिनँ) । अनि एउटा धनियाँकै आवाजमा झाडापखालाको विज्ञापन बज्थ्यो । जुन आवाज सुन्दा साँच्चै तराई भेगकी गाउँले थरुनी/चौधरीहरूले नै गाउँका अशिक्षित महिलाहरूलाई आवश्यक सुझाव दिइरहेकी छन् । त्यसबेलादेखि कला जगतमा हास्यब्यङ्ग्यको खम्बा बनेर यो टोलीको तितोसत्यले नेपालको कुना–कन्दरा घन्कायो र सबै दर्शकको आकर्षणको पात्र बन्न सफल भयो तितोसत्य टोली ।

यसरी विगतदेखि आफ्नो आवाज र अभिनयको माध्यमबाट श्रोता/दर्शकको मन–मस्तिष्कमा छाप बसाउन सफल प्रतिभाको अनायास दम्भ देख्दा जो–कोहीको मन कुँडिनु स्वाभाविक हो । तर यसो हुँदैमा त्यस्ता अचेतनावस्थामा बोल्नेहरूलाई सम्झाउनु र सही प्रतिकृया दिनु पाठक/दर्शक/श्रोताहरूको पनि कर्तब्य हुन आउँछ न कि गालीगलौजमा उत्रनु । यसरी अनायास आइपर्ने यस्ता इस्युहरूमा अन्तर्वार्ता दिनेले पनि सचेत भएर दिएको राम्रो अनि पाठक/श्रोता/दर्शकले पनि पूरै अन्तर्वार्ता सुनेर–पढेर बौद्धिक रूपले प्रतिक्रिया दिएमा उचित हुन्छ । पत्रकारको धर्म त सत्य–तथ्य ओकल्न लगाउनु हो । सोअनुसार अन्तर्वार्ताकार प्रकाश सुवेदीले सञ्चारकर्मीको भूमिका रोचक ढङ्गले निर्वाह गर्नुभएको छ । तर यो विवाद भवितब्य हुन गएको छ न कि यो कुनै प्रपन्च रचेर बनाइएको प्रश्न नै थियो ।

अब आउँछु म यो लेखको मुख्य चुरोमा । मेरो विचारमा दीपाश्रीले आम दर्शक/श्रोता/पाठकको गाली किन खप्नु पऱ्यो भन्दा उनको खास आशय मैले के बुझेँ भने अन्तर्वार्ताकारको प्रश्नअनुसार उनको खास आशय के थियो भने एउटा कलाकारले एकै ठाउँमा दत्तचित्त भएर त्यसैमा केन्द्रित भई काम गरेमा त्यो काम र कलाकार दुवै सफल हुन सक्छ । जताततै छताछुल्ल भएर काम गरेर त्यो काम सफल नहुन सक्छ, अर्थात् दुइटा नाउमा एकैपटक खुट्टा राख्दा त्यसको नतिजा कस्तो होला भन्ने उनको आशय थियो । तर बीचैमा प्रश्नकर्ताले छड्के प्रश्न राख्नुभयो कि ‘खै त, राजेश हमालले छताछुल्ल भएर खेल्नुभयो र पनि वहाँ महानायक कहलिनु भयो !’ हो अब यस प्रश्नको जवाफ दिने क्रममा चाहिँ दीपाश्रीले अलिकति दम्भ प्रदर्शन गरेझैँ भान भयो ।

उनको शारीरिक भाषा (बडी ल्याङ्ग्वेज) र जवाफको प्रस्तुति अनि पत्रकारलाई उल्टै प्रश्न गर्ने शैली र प्रश्नसूचक वाक्य ! ‘महानायक !? दाइले बनाइदिनुभयो !’ भनेर पत्रकारलाई नै त्यो उपाधिको दाता बनाइदिइन् दीपाले । यस क्रममै दीपाश्रीको उल्टै पत्रकारप्रति प्रश्न– ‘हुनुहुन्छ र ? वहाँ महानायक अझै हुनुहुन्छ ? कुन एक्टिभिटिजमा वहाँ महानायक हुनुहुन्छ ?’ यसो भन्दै हाँस्नु नै उनले महानायकप्रति मजाक उडाएको अर्थ लाग्न गयो । र, बलिउडका अभिताभ बच्चनसँग राजेश हमाललाई दाँज्नु नै आफ्नै इण्ड्रष्ट्री र नेपाली सिने जगतको खिल्ली उडाउनु हो । तर उनले यो पनि स्वीकार गरेकी छिन् कि, ‘हो राजेश दाइ त्यो समय चलचित्र जगतको एउटा खम्बा हुनुभएको हो । वहाँले एउटा ट्याग भिर्नुभएको छ त्यो सत्य हो तर देशको विषम परिस्थितिमा पनि घरमै बसेर ब्यायाम गरेको टिकटक बनाउँदै घरमा बस्ने ? खै त ! महानायकको यो समयमा समर्पण ? वहाँले अहिले चलचित्रमा के योगदान दिनुभएको छ ? मेरो प्रश्न यही हो ।’

दीपाश्रीको अभिव्यक्तिको आशय के बुझ्न सकिन्छ भने जुन क्षेत्रमा जसले अमुल्य उपाधि भिऱ्यो त्यो उपाधिको इज्जत राख्न सक्नुपर्छ । त्यो क्षेत्रमा अविरल समर्पण हुनुपर्छ । ठिकै हो, एक अर्थमा उनको धारणालाई पनि नकार्न सकिन्न । तर यसो भन्दैमा कसैले पाएको उपाधिलाई पनि केही समय त्यो क्षेत्रमा नआउँदैमा आफुले पाएको कदर/उपाधीको अस्तित्व बिलाउँछ भन्नु गलत हो । हुन सक्छ कि आफ्नो कार्यब्यस्तता, सही छनौट नपाएको कारणले पनि वहाँ अहिले पर्दामा देखिन नसक्नुभएको हो ।

कला क्षेत्र पनि समय र भाग्यमा केही न केही निर्भर गर्छ । जुन फिल्म रिलिज हुन्छ सुपरडुपर हिट हुन्छ, मार्केट लिन्छ, प्रशस्त आम्दानी हुन्छ अनि त्यही उठेको रकमले तुरुन्त अर्को पार्ट बनाउन सक्षम भइन्छ । उक्त फिल्ममा प्रोड्युसरले मात्र नभई त्यसभित्रका सारा कलाकारले नाम, यश र दाम कमाउन सक्षम हुन्छन् । दीपाश्री र दीपकराजको टिम पनि यो सौभाग्यबाट अछुत रहेन र, उनीहरू लगातार पर्दामा आइरहे । दर्शकको मनमुटुमा छाइरहे । यसो हुँदैमा दीपाश्री बैनीले अहमताको बिगुल फुकिहाल्नु हुँदैनथ्यो । हो, उनीहरूले दर्शकको मन जित्ने फिल्मचाहिँ निर्माण गरेकै, यसमा दुई मत छैन ।

अन्त्यमा महानायक राजेश हमाल नेपाली चलचित्र जगतको आदर्श ब्यक्तित्व हुनुहुन्छ जो शालीन/सौम्य/अल्पभाषी अनि मृदुभाषी हुनुहुन्छ । वहाँको व्यक्तित्वले नै वहाँ महानायक भन्न लायक हुनुहुन्छ । हास्य चरित्रमा त्यति खेल्नुभएको छैन वहाँले, सायद हास्यरसमा आधारित फिल्म आफ्नो लागि त्यति क्वालिटीयुक्त ठान्नुहुन्न वहाँ । तथापि, दीपाश्री/दीपकराजद्वारा निर्मित फिल्महरू हास्यविधामा आधारित भएर पनि क्वालिटी भएका नै छन् र यस ब्यानरका फिल्ममा सबै हास्यजगतका कलाकारहरूको बोलवाला भएको स्थानमा राजेश हमाल चरित्रको आवश्यकता पनि त भएन । वहाँको ब्यक्तित्वलाई सुहाउने फिल्मको निर्माण पनि अहिले नभएको हुन सक्छ । यसो हुँदैमा वहाँ चलचित्रबाट ओझेल नै भएको भन्न मिल्दैन, न त वहाँले आफैले लगानी गर्दै फिल्म निर्माण गरेर आफू पर्दामा देखापर्ने अभीष्ट नै राख्नुभयो !

खास यो लेख लेख्नुको तात्पर्य के भने कोही–कसैले पनि आफ्नो समय बलियो हुँदैमा कसैप्रति हेयदृष्टि राख्नु हुँदैन र दुई–चारवटा फिल्म हिट हुँदैमा आफूलाई अहमताको रोगी तुल्याइहाल्न पनि हुन्न । अनि, आफूभन्दा अग्रजलाई ढालेर बोल्नु हुँदैन । हुन त दीपा बैनीको भनाइमा पनि केही सत्यता त होलान् तर उनले प्रस्तुत गर्ने शैली र उल्टै पत्रकारलाई प्रश्न गर्नुको ढाँचा अलिक अपाच्य भएकै हो । जति सफलताको चुचुरोमा मान्छे उक्लिन्छ उति शिष्ट/सभ्य र शालीन बन्न सक्नुपर्छ । सबैसामु प्रत्यक्ष छ धेरै फल दिने बोट (रुख) कसरी नुहिन्छन् ? मलाई दीपा बैनीको अन्तरर्वार्ता हेरेर कस्तो महसुस भयो भने जति शालीन र नम्र मान्छे पनि नाम–दाम प्राप्तिपछि कसरी अहङ्कारी बन्दा रैछन् ? २०४७–४८ सालतिर हुनुपर्छ, दमकमा एउटा कार्यक्रममा ३–४ जना कलाकारहरूसँग पङ्क्तिकारको भेट भएको थियो । त्यतिबेला नायिका गौरी मल्ललाई मैले अर्कै स्वभावमा पाएँ भने दीपाश्री निरौला कति शालीन र मृदुभाषी लागेको थियो । त्यसपश्चात हाम्रो भेट सन् २०१० मा अमेरिकाको कोलोराडोमा भयो, त्यो समय पनि उनी कति हंसमुख, फरासिली र शालीन नै लागेको थियो । अहिले १० वर्षपश्चात् उनको सफलताले आकाश छोयो । उनी एक अभिनेत्री मात्र नभएर कुशल निर्देशिका र प्रोड्युसर पनि बनिन् । सायद पछिल्लो चरणको सफलताले उनको पुरानो चरित्रलाई ढाकेको हुन सक्छ वा उनले शब्द चयन गर्न नजानेकी हुन् ?

जे होस्, अबको समय यस्तो आयो कि कुनै सेलिब्रेटीहरूले सानो गल्ती किन नगरोस् ? सारा प्राविधिक प्रयोगकर्ताहरू मुख बाएर बसेका हुन्छन् र उर्लिएको बाढी झैँ कालो, मैलो, धमिलो शब्दहरू बोकेर बग्न थाल्छन्, जसलाई रोक्न, छेक्न, थुन्न असम्भव पर्छ । हो दर्शक/श्रोताको चित्त दुख्नु स्वाभाविक हो तर यसको अर्थ यो होइन कि ती गलत बोल्ने सेलिब्रेटीहरूको हुर्मत नै लिनु, अपशब्द या गालीगलौजमा उत्रिनु ! अझ ट्रोल बनाएर दुनियाँको मनोरन्जनको साधन बनाउनु ?! गल्ती नहुनुथ्यो भयो । त्यसपश्चात आफूले गरेको गल्तीप्रति क्षमाप्रार्थीको भागीदार बनिसकेका छन् भने किन उर्लिनु ? कुर्लिनु ?

यो समय मान्छेको प्रवृत्तिमा यस्तो उच्छिृङ्खलपन र बहाकावपन आएको छ कि कसैलाई उडाउन पाए, कसैलाई भन्न पाए नेपाली शब्दकोषमा नभेटिने अश्लिल शब्दहरू खोजेर प्रयोग गर्छन् र कसैलाई पनि मानसिक रोगको शिकार बनाउन पछि पर्दैनन् । त्यसैले दीपा बैनीको यो काण्डमा पनि कलाकर्मी अशोक शर्माका अनुसार दीपाश्री मानसिक रोगका शिकार बनेकी छन् भन्ने खबर पढ्दा दुःख लागेको छ । मैले त ‘रजतपट अङ्कल’को अन्तर्वार्तामा दीपाश्रीको जवाफ, बोल्नेशैली र स्पष्ट वक्ताको रूपमा पाउँदा अत्यन्त खुशी लागेको थियो । एउटै अर्थमा मात्र मलाई नमिठो लाग्यो कि ‘महानायक’बारे उनले दिएको आफ्नो सफाई जसमा उनको हाउभाव र भद्दा मजाकको नमिठो अनुभूत गरेँ । नत्र बाँकी सब सही र स्पष्ट अनि उनका भावी योजना, हिम्मतिला कार्यहरूको थालनीलाई स्वच्छ मनले स्वीकार गरेँ । तर यो लेख लेख्दै गर्दा नै निर्देशक अशोक शर्माज्युको फेसबुक स्टाटसले म सिथिल भएँ । त्यति हिम्मतिली कलाकार/फिल्मनिर्मात्री र निर्देशिकाले यति धेरै तनाव लिएर डिप्रेशनमै जानु भनेको त महिलाहरू कमजोर हुनुको उदाहरण बन्नु हो । कमेन्टरहरूको काम हो कमेन्ट गर्ने, जो जस्तो धरातालमा उभिएका छन् त्यस्तै पोख्न विवश छन् । बस्, कलाकारको काम हो दर्शक÷श्रोताको मन जित्नु ।

समय अझ बाँकी छ । हर कलाकार र प्रतिभाहरूले अब भने होस सम्भालेर बोल्नु र प्रस्तुत हुन जरुरी छ । यो प्रविधिको दुनियाँमा सब रमिते बनेर बसेका छन् । कहिले को जालमा परेर तमासे बन्लान् र रमिते बनौँला भनेर । दीपाश्री बैनीलाई धैर्यधारण गरेर अब आउने बाँकी दिनमा उही हिम्मत र समर्पणको साथ काम गर्न प्रेरणा मिलोस् । यो हिँड्दा लागेको सानो ठेस मात्र हो । अझ कति यात्रा तय गर्नु छ । यति चाँडै हार खानु हुन्न । दर्शक श्रोता बालक सम्झेर सम्झाउने बुझाउने प्रयास गर्दा पक्कै खुशी होलान् । अनि महानायक राजेश हमालको शालीनता र धैर्यताप्रति म नतमष्तक भएँ । जसले यो ‘अपमान’लाई बेवास्ता गरी सम्मानस्वरूप जवाफ दिनुभएको मैले अर्को सानो भिडिओ क्लिप हेर्दा जानकारी पाएँ । वहाँको शालीनता र भद्र व्यवहारप्रति आकर्षित भएँ । हो यही महानताले नै वहाँ महानायक कहलिनु भएको हो भन्दा अत्युक्ति नहोला । अन्त्यमा ‘जय नेपाली चलचित्र क्षेत्र’ भन्दै यस्ता विवादित कुराहरूबाट कलाकर्मीहरू परै रहुन्, यो प्रवासीभूमिको आँखीझ्यालबाट चिहाउने दर्शक/पाठक/श्रोताको यही सदिच्छा !