केकी र रिमाको सहकार्य : डाह गर्ने धेरै !

केकी र रिमाको सहकार्य : डाह गर्ने धेरै !


■ राजन घिमिरे

साथीसंगीकाो साथ र आपसी सद्भभाव के हो ? कुममा कुम मिलाएर सहयात्रा कसरी गर्ने ? यसको जवाफ नायिका केकी अधिकारी र रिमा विश्वकर्मासँग माग्नुस् । अर्थात्, मित्रताको उदाहरण नै मान्न सकिन्छ केकी–रिमा जोडीलाई । त्यसो त जीवन जिउने आ–आफ्नो धरातल र संस्कारले पनि महत्वपूर्ण भूमिका खेल्दोरहेछ । यो कुराको ज्वलन्त उदाहरण हुन् केकी र रिमा ।

चलचित्रकर्मको बारेमा यी दुई लामो समयदेखि नै परिचित र स्थापित छन् । केकीले पारिवारिक संस्कार बुबा चलचित्र निर्देशक बद्री अधिकारीबाट सिकिन् भने रिमा पनि टुप्पोबाट नभई फेदबाटै पलाएकी सर्जक हुन् । रिमाको विगतको पृष्ठभूमि टेलिभिजन उद्घोषण हो । नेपाल टेलिभिजनको बाल कार्यक्रम सञ्चालिका हुँदै केही टेलिभिजनमा समाचारवाचिका जस्तो गहन जिम्मेवारी निभाएर त्यो धरातलबाट उठेकी कलाकर्मी हुन् रिमा ।

चलचित्रकर्मप्रति यि दुइको उठबस, हैसियत र वजनमा कहिल्यै कमी आएको देखिएन । यी दुई अलग विधा र क्षेत्रबाट चलचित्रकर्ममा प्रवेश गरेका थि़ेए । रिमा सञ्चारकर्म र केकी म्यूजिक भिडियोमार्फत चलचित्रकर्ममा प्रवेश गरेका हुन् । तर, संयोग पनि कस्तो मिलेको छ भने दुवै प्रसन्न पौडेलले निर्देशन गरेको चलचित्र स्वरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

विगत एक दशकदेखि केकी र रिमाको जोडी भने जमेको जम्यै छ । यी दुई न कहिल्यै विवादमा पर्छन् न त यी दुईमा अरुहरुप्रति इर्ष्या र डाह नै देखिन्छ । त्यसो त, आफू भलो त जगतै भलो पनि होला । यी दुइ ह्वात्तै तल जाने र ह्वात्तै माथि जाने सोच र योजनाका साथ अगाडि बढेका पनि देखिँदैनन् । निरन्तर कर्म गर्दै जाने…। यही मनस्थितिलाई यी दुईले शिरोधार्य गरेको देखिन्छ ।

पछिल्लो पटक यी दुई अभिनेत्रीले निर्देशक विशाल भण्डारीको साथमा शुरू गरेको कमेडी च्याम्पिएन शोको सफलतासँगै दुवैको चर्चा, सोच र उपस्थितिलाई झनै गरम बनाइदिएको छ । आफ्नै माटो, बजार, सोच र बलवुतामा पनि टेलिभिजनप्रति नेपाली दर्शकहरूलाई तान्न सकिन्छ भन्ने कुराको अन्य केही रियालिटी शो सरह कमेडी च्यान्पियन पनि त्यो उदाहरण प्रस्तुत गर्न सफल भएको छ । एक्लै होइन, सामूहिक रूपमा विचार मिल्यो भने केही गर्न सकिन्छ र गर्न खोजियो भने सफल पनि भइन्छ भन्ने गतिलो उदाहरण पनि हुन् केकी र रिमा ।

जब केकी, रिमा र विशालले कमेडी च्याम्पियन शुरू गरे, त्यतिबेला केकी र रिमाको बारेमा बजारमा हल्ला चल्यो– फिल्मबाट अफर आउन छाडेपछि टेलिभिजनतिर लागे । यी दुईलाई यस्तो आरोप लगाएर हल्ला गर्नेहरूले बुझेनन् कि टेलिभिजन विधाको पावर, वजन र वाहवाही । आफ्नो समूहको बारेमा बजारमा जे–जस्तो हल्ला चलाइएता पनि यो समूह डग्मागाएन । लागि नै रह्यो आफ्नो कर्म, उद्देश्य र बाटोमा । अन्ततः कमेडी च्याम्पियनले यस्तो उचाई बनायो कि पहिला विरोध गर्नेहरू तैँचुप मैचुप हुन थाले । गत साता मात्र कमेडी च्याम्पियनलाई कान्तिपुर टेलिभिजनले साथ दिने भएपछि यो कार्यक्रमको पावरमा झनै वृद्धि भएको छ ।

केकी र रिमा कमेडी च्याम्पियनको बारेमा सदा चिन्तित र गृहकार्यमा ब्यस्त देखिन्छन् । यहाँ केही कलाकारहरूको झुण्ड पनि छ, जो चोक र समूहमा बसेर अरूको कुरा काट्ने, अरूलाई गाली गर्ने वा समस्या पर्दा ताली बजाउने गर्छन् । तर, केकी र रिमा त्यो झुण्डबाट अलग छन् । चौक वा समूहमा बसेर अरूको खिल्ली उडाउने, वरिष्ठको कुरा काट्ने र कनिष्ठलाई हतोत्साही तुल्याउने जस्ता निकृष्ट सोच–व्यवहारबाट अलग केकी र रिमाबाट न त बजारमा कहिले विवादास्पद अभिव्यक्ति आयो न यी दुईको भावना अरूप्रति गलत नै देखिएको छ । त्यसैले त भनिन्छ नि संस्कार भन्ने कुरा महत्वपूर्ण छ ।

केकी–रिमा जोडीले हाल कमेडी च्याम्पियनमा हात पारेको उचाई, प्रशंसा र सफलता साँच्चै यतिबेला लोभलाग्दो नै छ । यो समूह गायिका कुन्ती मोक्तानको गीत गाउँदै अगाडि भन्छ– ‘म त हिँड्छु मेरै बाटो, खुट्टा तान्दै गर… !’