जम्बुमा बेपत्ताको खोजीकार्य जारी, एकको जीवितै उद्धार

जम्बुमा बेपत्ताको खोजीकार्य जारी, एकको जीवितै उद्धार


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बुमा बुधबार राति गएको बाढीपहिरोले बेपत्ता भएका २० जनाको खाजीकार्य जारी रहे पनि लगातारको वर्षाले सडक अवरुद्धका कारण कठिनाइ उत्पन्न भएको छ ।

शनिबार (२७ असार) पनि बेपत्ताको खोजी राजधानीबाट आएका २५ जनाको उद्धारटोलीसहितका सुरक्षाकर्मीबाट भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । लगातारको वर्षाले आएको बाढीपहिरोबाट जिल्लामा हालसम्म ५२ घरमा क्षति पुगेको छ । जम्बुका विस्थापित ३० परिवारका लागि स्थानीय पालिकासँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिबाट ३० थान त्रिपाल, म्याट्रेस, भाँडाकुँडा र लत्ताकपडा पठाइसकेको प्रजिअ ढकालले जानकारी दिए ।

यसैबीच शुक्रबार बिहान आएको बाढीपहिरोबाट भोटेकोशी गाउँपालिकाको लार्चामा बेपत्ता भएका एक व्यक्ति स्थानीय ४० वर्षीय नाङचे मगरको जीवितै उद्धार गरिएको छ । प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले नाङचेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको बताए । उक्त घटनामा दुई सामान्य घाइते भएका थिए । जिल्लामा बेपत्ताको सङ्ख्यामा २१ पुगेको प्रहरीले जनाएको छ ।