तीन महिनामा राज्यकोषलाई पाँच अर्ब घाटा

रसुवागढी नाका भन्सार प्रक्रिया शुरू



रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं जाँचपासको प्रक्रिया अगाडि बढाइएको छ ।

प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले दिएको जानकारीअनुसार आयात भएका सामानमा जुत्ता, चप्पल, लत्ताकपडालगायत रहेका छन् । चीनको वुहान शहरबाट शुरू भएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि गत माघ १५ गतेदेखि आवतजावतसमेत बन्द गरिएको रसुवागढी नाकाबाट दुवै देशका छिमेकी अधिकारीबीच आपसी सल्लाहबाट स्वास्थ्यको उच्च सतर्कता अपनाई सामान आयात गर्न थालिएको भन्सार कार्यालयले जनाएको छ ।

आयात भएका सामग्री सहज ढुवानीका लागि वर्षाको भलपानीले अवरूद्ध स्याफ्रुबेँसी–टिमुरे खण्डको राजमार्ग दिनहुँ सफा गर्ने काम भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।



दैनिक सरदर तीन करोड राजश्व आय हुने रसुवागढी क्षेत्रमा कोभिड–१९ का कारण हालसम्म करीब पाँच अर्ब राज्यकोषलाई घाटा परिसकेको जनाइएको छ ।

प्रतिक्रिया