बिनामास्क हिँडडुल गर्ने ३२ जनालाई जरिवाना

बिनामास्क हिँडडुल गर्ने ३२ जनालाई जरिवाना


विकास रौनियार, धादिङ

मास्क नलगाई हिँडडुल गर्ने ३२ जनालाई धादिङ प्रहरीले कारवाही गरेको छ । सरकारको निर्देशन बेवास्ता गरी मास्क नलगाई हिँड्ने ३२ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प्रहरीद्वारा नियन्त्रणमा लिइएकामध्ये ७ जना महिला र २५ जना पुरुष रहेका छन् । नियन्त्रणमा लिइएकाहरुलाई संक्रामक रोग ऐन २०२० अनुसार जनही एक सय रुपयाँको दरले जरिवाना गरी सम्झाइबुझाइ गरेर छाडिएको खड्काले बताउनुभयो ।

कोभिड–१९ को नियन्त्रण, रोकथामको लागि जारी बन्दाबन्दीमा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रयोग नगर्ने प्रवृत्तिले जोखिम भयावह हुने अवस्था विद्यमान रहेकोले घरबाहिर निस्कँदा सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्कको प्रयोग गरेर मात्र हिँडडुल गर्न प्रहरीले आग्रह गरेको छ ।

गृहमन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राऊ गर्न निर्देशन दिएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएको तर खुकुलो बनाए पनि केही शर्तहरु तोकेको थियो । मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, बिनाकाम बाहिर ननिस्कन भनेको थियो । यही सर्तका आधारमा लकडाउन खुकुलो भएको हो तर मानिसहरु बिनाकाम बाहिर निस्कने, समूहमा जम्मा हुने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखियो र संक्रमणको जोखिम बढ्यो, त्यसैले कडाई गर्न लागिएको गृहमन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीको भनाइ छ ।