मास्क नलगाई निस्फिक्री सडकमा सर्वसाधारण

मास्क नलगाई निस्फिक्री सडकमा सर्वसाधारण



विकास रौनियार
, धादिङ

विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गरी अनिवार्य तवरले मास्क लगाउन सरकारले आग्रह गरेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई मास्कमा कडाइ गर्न परिपत्र नै जारी गरेको छ । तर मानिसहरू आफ्नो स्वास्थ्य र सरकारी कानुनको बेवास्ता गर्दै निस्फिक्री हिँडिरहेका छन् ।

तुलनात्मक रूपमा देशभर कोरोना संक्रमितको संख्या घटिरहँदा काठमाडौं उपत्यकामा भने दिनहुँ बढिरहेको छ । उपत्यकाका छिमेकी जिल्लाहरूमा संक्रमितको संख्या बढ्दै गर्दा स्वास्थ्य मन्त्रालयले मास्क नलगाई घरबाट ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । अझ गृह मन्त्रालयले त मास्कविना बाहिर हिँड्नेलाई सख्त कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । तथापि, सर्वसाधारण मास्क प्रयोगको महत्त्वबारे सचेत रहेका देखिँदैन ।

संक्रमण बढिरहेको तथ्य र सरकारले जारी गरेको उर्दी सर्वसाधारणले त्यति वास्ता गरेको देखिँदैन । महामारीको डरबीच पनि काठमाडौंंलगायत धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक जिल्लाका मानिसहरू अझै पनि मास्कविनै बेपर्वाह हिँडिरहेका छन् । मास्क लगाए पनि लापर्बाही गरिरहेको पनि देख्न सकिन्छ ।

नेपालमा स्वास्थ्य मन्त्रालयले मात्र होइन, विश्व स्वास्थ्य संगठनले समेत कोरोना संक्रमणबाट बच्न मास्कको सही प्रयोगमा जोड दिइरहेको छ । तर नेपालमा भने कोरोना संक्रमण रोक्न मास्कले खेल्ने भूमिकाबारे सर्वसाधारण सचेत देखिँदैनन् । थाहा भएर पनि लापरबाही गर्ने प्रवृत्तिका कारण पनि संक्रमणको जोखिम बढिरहेको छ ।