चाहेमा लकडाउन पनि सकारात्मक बनाउन सकिने रहेछ : आचार्य

चाहेमा लकडाउन पनि सकारात्मक बनाउन सकिने रहेछ : आचार्य


घटना र विचार विशेष प्रतिनिधि, (लन्डन/अष्ट्रिया)

बेलायतस्थित आध्यात्मिक स्वयंसेवी समूहद्वारा नेपालका विभिन्न संघसंस्था तथा कलाकार समूहलाई सहयोग प्रदान गर्ने घोषणा गरिएको छ। बिहीबार (९ जुलाई) आयोजित एक भर्चुअल बैठकको आयोजना गर्दै यस समुहका संयोजक साथै गैरआवासीय नेपाली संघका पूर्व केन्द्रिय उपाध्यक्ष कुल आचार्यले सो विषयमा जानकारी दिनुभयो

संयोजक आचार्यले आफ्नो समूहले करिव साढे तीन लाख रुपैयाँ बराबरको रकम सामाजिक कार्यका लागि संकलन गरेको जानकारी दिँदै सो रकममध्ये डा. चिन्तामणि योगीमार्फत रु एक लाख दाङस्थित शान्ति बालगृह र सप्तरीस्थित बाबा बनखण्डी गुरुकुललाई, एक लाख रुपैयाँ देवघाटस्थित बालबालिकाको पठनपाठनका लागि, एक लाख रुपैयाँ नेपालस्थित दोहोरी कलाकारहरुका लागि र पचास हजार मुन्द्रेको कमेडी क्लबमार्फत सामाजिक कामका लागि प्रदान गर्ने निर्णय गरेको बताउनु भयो ।

सो अवसरमा बोल्दै समुहका सक्रिय सदस्यहरु विश्वआदर्श पण्डित, डा. कपिल रिजाल, कृष्ण तिमल्सेना, पशुपति भण्डारी, कमल भण्डारी, सेवानिवृत्त बेलायती सेनाका क्याप्टेन हितमान गुरुङ, विराज भट्ट, कृष्ण भट्ट लगायतका बक्ताहरुले बेलायतमा महामारीका कारण लकडाउन शुरु भएयता आफुहरुले नियमित ध्यान आदि अभ्यास गरेको साथै वर्तमान अवस्थामा यो अभ्यास अत्यन्त लाभदायक भएको बताउनुभएको थियो । साथै सामाजिक काममा पनि जोडिन पाउँदा खुशी लागेको वक्ताहरुले बताएका थिए।

यस विषयमा घटना र विचारको जिज्ञासा मेटाउँदै संयोजक कुल आचार्यले भन्नुभयो- ‘जहिलेदेखि विश्वमा कोरोनाले महामारीको रुप लिँदै थियो, अन्जान भाइरससँग विश्व त्रसित थियो, भाइरस कस्तो हो भन्ने विषयमा धेरै अनुसन्धान हुन नपाउँदै चाइनाबाट इटाली हुदै युरोप छिर्यो, युरोप छिर्दै गर्दा बेलायत पनि यसबाट अछुतो रहन सकेन, विश्व लकडाउन भएजस्तै बेलायतमा पनि लकडाउन सुरु भयो, बाँकी विश्वका नागरिक जस्तै बेलायतबासी हामी गैरआवासीय नेपालीहरु पनि लकडाउनमा बस्न बाध्य भयौँ, ब्यस्त दैनिकीबाट एकाएक एक सीमित घेरामा बस्नुपर्दाको मानसिक अवस्थाका लागि हामी तयार थिएनौँ, सोही समयमा मलाई एक सोच आयो, योग अनि मेडिटेसनको माध्यमबाट मानसिक तथा शारीरिक तन्दुरुस्त राख्ने । सोही सोचलाई ब्यवहारमा परिणत गर्दै हामी अति निकट केही ब्यवसायी मित्रहरुसँग कुरा भएअनुरुप हामीले जुम एप प्रयोग गरी छलफल सुरु गर्यौँ । यसै सिलसिलामा नेपालका विभिन्न राष्ट्रियस्तरका नेता, कलाकार, सन्तहरुसँग आआफ्ना परिस्थितिका कुरा साटासाट गर्न थाल्यौँ । हामीले प्रारम्भिक छलफलमै शारीरिक मानसिक स्वास्थका साथै नेपालमा यसैमार्फत केही सामाजिक काम पनि गर्नुपर्छ भन्ने अवधारणा तय गरेका थियौँ । यस प्रस्तावमा हाम्रो समूहका साथीहरुको पनि सहमति भयो । हामीले योग मेडिटेसन तथा केहि विषयबस्तुमा मात्र छलफल नगरी यसैलाई नेपालकै विभिन्न क्षेत्रमा केही सानो सहयोग गर्न पनि सकिने हिसाबले हरेक ब्यवसायी साथीहरुबाट हामीमध्ये कसैको केही सेरोमोनी भएको खण्डमा त्यहाँ खर्च गर्न सकिने सानो रकम जम्मा गर्न थाल्यौँ । सोही कारण आज हामी यहाँ उपस्थित छौँ । साथै म के पनि थप्न चाहन्छु भने लकडाउन समस्या हो तर यसलाई समस्याको दृष्टिकोण बाट मात्र नहेरेर हामीले अँगालीरहेको जीवनपद्धतिलाइ सुधार्ने मौका पाएको अनुभूति गर्यौँ, सोही कारण आज हामीले आजको भर्चुअल बैठकमार्फत वाचन श्रवणका साथै दान घोषणा गरेका हौँ ।’

कार्यक्रममा अतिथिका रुपमा मन्तव्य दिँदै काठमाडौंस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले संसारमा जहाँ बसे पनि आफ्नी माता र जन्मभूमिलाई नबिर्सन आग्रह गर्नुभयो। जुनसुकै भाषा, सम्प्रदाय, समुदाय र जातिका भए पनि हामी नेपाली हौँ भन्दै उहाँले नेपाल दुख्दा म पनि दुःखी बन्नुपर्छ र नेपाल हाँस्दा म पनि हाँस्न सक्नु पर्दछ, सर्बकल्याण खोज्न नसक्दासम्म आत्मकल्याण सम्भव हुँदैन, त्यसैले साक्षीभाव राखेर आफुले आफैलाई हेर्नु पर्दछ, आफैसँग रम्नु पर्दछ भन्नुभयो ।