नेकपा स्थायी कमिटी बैठक अतिवृष्टिका कारण सात दिन स्थगित

पटक पटक स्थगित भई आज (२६ असार)का लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सात दिनपछि आगामी साउन २ गते शुक्रबारका लागि सारिएको छ ।

आज बिहान ११ बजेका लागि राखिएको बैठक देशभर भइरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको अवस्थामा सम्पूर्ण पार्टी पङ्क्तिलाई उद्धार एवं राहतमा लाग्न निर्देशन दिइएको छ ।

प्राकृतिक विपत्ति हुने सक्ने सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिँदै सातदिन स्थायी कमिटी बैठक स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीटमार्फत जानकारी दिएका हुन् ।

ज्ञातव्य छ, आन्तरिक विवाद मिलाउन शीर्ष नेताको छलफल चलिरहेकाले बैठक पटकपटक सर्दै आएको छ । पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहअध्यक्ष ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ भने पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाब दिँदै आएका छन् ।



नेकपाको स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि शुरु भएको थियो ।

प्रतिक्रिया