स्वास्थ्य मापदण्ड पुर्‍याएर सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय

स्वास्थ्य मापदण्ड पुर्‍याएर सार्वजनिक सवारी साधन चल्न दिने सरकारको निर्णय


सरकारले छोटो दूरीमा सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिने भएको छ । कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै गत ०७६ चैत ११ गतेदेखि बन्द भएको सार्वजनिक सवारी साधन आंशिक रूपमा सञ्चालन गर्न दिने निर्णय भएको हो ।

यही असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर सवारी साधन चल्न दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार (२५ असार) जानकारी गराएका हुन् ।

कोरोनाको सङ्क्रमण हुने जोखिमलाई न्यून गर्दै सम्पूर्ण सुरक्षाका मापदण्ड पूरा गरेर सवारी साधनमा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिइने भएको छ । काठमाडौं उपत्यकाभित्र र बाहिरको हकमा सम्बन्धित जिल्लामा मात्रै सार्वजनिक सवारी साधन चल्न सक्नेछन् ।

मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालनका लागि तयारी गर्नुपर्ने भएकाले केही दिन लाग्न सक्ने तर ट्याक्सीका हकमा भने तत्कालैबाट चल्न सक्ने बताए ।

विश्वव्यापी महामारीको रूप लिएको कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २८ गते र असार १५ गतेको निर्णयानुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम जारी भएको आदेशमा केही हेरफेर गरिएको छ । सोही व्यवस्थाबमोजिम काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभर मात्र सञ्चालन हुने यात्रुवाहक सवारी साधनका हकमा सो व्यवस्था लागू हुनेछ ।

काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर–बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधन सञ्चालन हुन सक्नेछ । निजी सवारी साधनमा चालक बाहेक थप दुई जनासम्म र परिवारभित्रका पाँच वर्षसम्मका बालबालिका मात्र सवार हुने र जोर–बिजोर प्रणाली भने कायम रहनेछ । जोर–बिजोर प्रणाली मोटर साइलकको हकमा समेत लागू हुनेछ ।

काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन हुने यात्रुवाहक सवारी सार्वजनिक यातायात सञ्चालन हुन पाउनेछन् । सरकारको निर्णयानुसार चालकसहित सिट क्षमताको ५० प्रतिशत यात्रु रहन पाउनेछन् । यस्तै एक पङ्क्तिको सिटमा सामाजिक दूरी कायम हुनेगरी एक जनामात्रै राख्ने, सबै यात्रुले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधानको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । यस्तै चालक तथा सहचालकले समेत अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउने र सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनुपर्नेछ ।

सरकारले तोकेअनुसार आगामी साउन ६ गतेसम्मका लागि मात्रै ट्याक्सी बाहेक अन्य सवारी साधनको हकमा तोकिएको भाडा दरको ५० प्रतशितसम्म थप भाडा लिन पाउनेछ ।

यस्तै उद्योग, प्रतिष्ठान र निजी सेवाप्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनले पनि सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्नेछ । सबै यात्रु्ले अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको व्यवस्था गर्ने तथा सवारी साधनलाई दैनिक निसङ्क्रमण गराउनु पर्नेछ ।

यातायात व्यवसायीले लकडाउनका कारण आफूहरू मर्कामा परेको भन्दै तत्काल सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन माग गर्दै आएका थिए । कास्कीमा त बैंक तथा वित्तीय संस्थाले किस्ता तिर्न ताकेता गरेको भन्दै सवारी साधनको चाबी नै बुझाएका थिए । यस्तै ट्याक्सी चालक तथा व्यवसायीले पनि आफूहरू मारमा परेको भन्दै आफ्नो सवारी साधन सञ्चालन गर्न माग गर्दै आएका थिए ।