आफ्नै सदस्यको अभिव्यक्तिप्रति रामाअ आयोगद्वारा खेद प्रकट

आफ्नै सदस्यको अभिव्यक्तिप्रति रामाअ आयोगद्वारा खेद प्रकट


राष्ट्रिय मानव अधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ ।

अन्सारीले यही असार २३ गते सामाजिक सञ्जाल ट्वीटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाउनुभएको थियो ।

यसबारे आयोगका अध्यक्ष अनुपराज शर्माले विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको छ, दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ, आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो, तथापि यस किसिमको भनाइ ट्वीटरमा आउनु खेदजनक छ, तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।’

संविधान, कानून र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारवाहीलाई ‘खेदजनक’ तथा ‘कथित छानबिन प्रतिवेदन’ भनेको प्रति आयोगले खेद प्रकट गरेको हो ।