आइजीपी छनौटको अन्तरकथा

आइजीपी छनौटको अन्तरकथा


■ सनत आचार्य

नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले दर्ज्यानी चिन्ह पहिरिएका छन् । गृहमन्त्रालयमा बिहीबार (२५ असार) आयोजित एक बिशेष कार्यक्रमबीच गृहसचिव महेश्वर न्यौपानेले थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यससँगै थापाले नेपाल प्रहरीका २८औँ प्रहरी महानिरीक्षकको रूपमा नेपाल प्रहरी संगठनको नेतृत्व गर्ने गरिमामय दायित्व पाएका हुन् । वरियतामा पहिलो नम्बरमा रहेका एआईजी थापालाई गत मंगलबारको मन्त्रीपरिषद निर्णयले आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रहरी सङ्गठनभित्र एक इमान्दार, क्षमतावान र बौद्धिक व्यक्तित्वका रूपमा आफ्नो पहिचान बनाएका थापाले ०४९ बैशाख १९ गते प्रहरी निरिक्षकबाट सेवा प्रबेश गरेका हुन् । सेवा प्रवेश गरेको ९वर्ष अर्थात् ०५८ फागुन १० गते डीएसपीमा उनको पहिलो बढुवा भयो । त्यसपछि उनी ०६७ पुष २० मा एसपी भए भने ०७४ साउन १९ गते एसएसपी । ०७४ मा एसएसपी बनेका उनी ०७५ असोज २८ मा डिआइजी, ०७६ चैत्र ९ मा एआइजी बन्न सफल भए भने ०७७ असार २४ मा नेपाल प्रहरीको प्रहरी महानिरीक्षक बनेर दायित्व सम्हाल्ने ऐतिहासिक अवसर उनलाई प्राप्त भयो । आइजीपी थापा ०७४ पश्चातका प्रत्येक वर्ष बढुवाको एक नम्बर लिष्टमै पर्न सफल भएका भाग्यमानी हुन् ।

यो पटक थापा सजिलै आइजिपी नबनेको विषयले राजनैतिक वृत्तमा प्रवेश गरिसकेको छ । थापासँगै आइजीपी बन्ने प्रतिष्पर्धामा उनका सहकर्मी हरिबहादुर पाल पनि थिए । आइजीपी छनौटको अन्तिम चरणमा थापालाई एमालेनिकटले समर्थन र सहयोग गरेको बुझिएको छ भने उनका प्रतिष्पर्धी पाललाई माओवादीसमर्थकले ।

आइजीपी छनौटपूर्व प्रधानमन्त्री ओलीले थापा र पाल दुवै जनालाई बालुवाटार बोलाई सहमतिका लागि एकआपसमा छलफल गरेको बालुवाटार सुत्र बताउँछ । बालुवाटारमा भएको छलफलमा दुवैले एकआपसमा सहयोग गर्ने र संगठनको मनोबल उच्च राखेर काम गर्ने प्रतिबद्धता प्रधानमन्त्रीसमक्ष व्यक्त गरेका बुझिएको छ ।

स्रोतका अनुसार गत मंगलबार बस्दै गरेको क्याबिनेटको छलफल गर्ने सूचीमा थापालाई नियुक्त गर्ने एजेण्डा नै थिएन । मन्त्रिपरिषदका एक सदस्यका अनुसार प्रधानमन्त्रीको ठाडो प्रस्तावसहितको निर्णयबाट मुख्यसचिव लोकदर्शन रेग्मीले थापालाई आइजीपीमा छनौट गरिएको निर्णय सुनाएका थिए ।

मुख्यसचिव रेग्मीले निर्णयसहितको प्रस्ताव पेश गरेपछि गृहमन्त्री रामबहादुर थापा मौन रहेका र अर्का क्याबिनेटमन्त्री वर्षमान पुनले ‘कति कारणले थापा आइजीपी बन्न योग्य भए र उनको कार्यसम्पादन मूल्याङ्कन कस्तो ?’ भनेर प्रश्न गरेका एक मन्त्री बताउँछन् । पुनको जवाफमा प्रधानमन्त्री ओलीले रूखो शैलीमा ‘थापा सबै कुरामा अगाडि भएको’ जवाफ दिएका बुझिएको छ ।

प्रधानमन्त्री केपी ओलीको एकल निर्णयले नै थापा आईजीपी बन्न सफल भएको बालुवाटारवृत्तमा चर्चा छ ।