नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान


नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३०वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिनुभएकाले सरकारले उहाँलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

गृह मन्त्रालयमा आज बिहान आयोजित एक समारोहका बीच दर्ज्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।

कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै उहाँले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिनुभयो । ‘मैले पहिले पनि भनेको हुँ, अहिले पनि भन्छु, सङ्गठनमा कुनै पनि गलत प्रवृत्ति देखियो भने निकालेर फालौँ, कुनै भनसुन चल्दैन, हरेक निर्णय कानून र निष्पक्षतामा रहेर हुन्छ’, उहाँले भन्नुभयो ।

प्रहरी जनतामा घुलमिल हुने सङ्गठन भएकाले नागरिकमैत्री व्यवहार हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी सङ्गठनमा एकढिक्का बनाएर लैजानुपर्ने, मनोबल र सेवा सुविधा बढाउनुपर्ने, कानूनको परिपालनालाई प्रभावकारी बनाउनुपर्ने चुनौती रहेको उहाँले बताउनुभयो । उहाँले अपराध अनुसन्धानमा शून्य सहनशीलता अपनाउन प्रहरी अधिकृतलाई निर्देश गर्नुभयो ।

उहाँले तीन तहको राज्य संरचनाअनुसार प्रहरी समायोजन गर्ने अभिभारा प्रहरी महानिरीक्षकसामु रहेको बताउनुभयो । सरुवा, बढुवा, तथा वृत्तिविकासमा दबाब र प्रभावमा पर्नुपरेको भन्ने कुरा सुन्नमा आएको उल्लेख गर्दै उहाँले मूल्याङ्कनमा अब्बल व्यक्ति नै छनोट हुने प्रष्ट्याउनुभयो ।

‘बर्दीमा दाग लगाए निर्मम कारवाही’

उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कानूनले तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरिने विश्वास दिलाउनुभयो । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उहाँले धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो स्वभाव नै नम्र भएकाले त्यसलाई कमजोरी नठान्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘कसैले पनि बर्दीमा दाग लगाउँछ भने निर्ममरुपमा कारवाही गरिन्छ ।’

उहाँले जीवनमै नभोगिएको स्वास्थ्य महामारीको चपेटामा मुलुक रहेकाले सङ्क्रमण रोक्न सिक्दै अघि बढ्ने बताउनुभयो । प्रहरी समायोजनलाई सही निष्कर्षमा पुऱ्याउनेसमेत उहाँले प्रतिबद्धता जनाउनुभयो ।

pict: rss