देशको माया गर्नेले अब यसरी किन नसोच्ने ?

देशको माया गर्नेले अब यसरी किन नसोच्ने ?


■ सागर सुवेदी

विभिन्न निकायका तथ्याङ्कले देखाएअनुसार हाम्रो देश नेपालमा हरेक दिन बालिकाहरूका साथै विभिन्न उमेर समूहका महिलाहरू बलात्कृत भइरहेका हुन्छन् । विभिन्न तह–तप्काका नागरिकले दैनिक अपमानजनक ब्यवहार झेलिरहेका हुन्छन् । कयौँ बालबालिकाहरू नियमित आहारको अभावका कारण कुपोषणका शिकार भएका छन् । हजारौँ आमनागरिक सामान्य ज्वरो तथा झाडापखालामा प्रयोग गरिने जीवनजल (नुन चिनी पानी)सम्म पनि पिउन नपाउने जस्ता साधारण कारणले मृत्युवरण गर्न विवश छन् ।

बेरोजगारीले सगरमाथाको उचाइ नाघेको अवस्था छ । श्रम बेच्नेबाहेक देशले अर्थोपार्जनको लागि केही खास गरेको देखिएको छैन । अनलाई न होस् या टेलिभिजन, सामाजिक सञ्जाल होस् या पत्रपत्रिका, जहाँसुकै सूचनाजन्य समाचार हेर्दा कसैको हत्या भएको तर हत्यारा पत्ता नलागेको, गरिव जनताहरू भोकैपर्दा र बिरामी हुँदा औषधोपचारकोे आशामा सञ्चारकर्मी गुहारिरहेका, सामाजिक संजालमा सहयोगको लागि आह्वान गरिरहेका, सार्वजनिक सवारी साधनहरूको दुर्घटना हुँदा अकालमा नागरिकहरूले ज्यान गुमाएका, घाइते हुनेहरूले सामान्य उपचार पाए पनि दीर्घकालीन उपचार तथा दैनिक अवश्यक पर्ने औषधि नपाएको कारण जीवन जिउन कठिन परेका समाचार सामान्य जस्तै बन्न पुगेका छन् ।

यस्तै, निजामति कर्मचारीमा राजनीति हाबी भएको, सिङ्गो प्रहरी संगठनलाई कुनै मन्त्रीका छोराले भाडामै लिए जस्तो गरी दुरुपयोग गरिरहेको, राजनीतिक पार्टी तथा यसका नेताहरूले एकअर्कालाई दोष लगाएर हामी र हाम्रो पार्टीले लिएका लाइनहरू जनताको सर्वोपरि हितका लागि हुन् भन्दै सदैव झुट बोलेर जनतालाई भ्रमित बनाइरहेको बाहेक खासै आशा जगाउने खालका समाचार खोज्दा भेट्न गाह्रो हुन थालेको छ ।

माथि उल्लिखित केही प्रतिनिधि विषय वा सन्दर्भ मात्र हुन् जो हर नागरिकले बिहानदेखि बेलुकीसम्म देख्ने–भोग्ने गरिरहेका छन् । यस्ता सन्दर्भ सबै समेट्यो भने यो छोटो टिप्पणीमा उल्लेख गरेर साध्य नै हुँदैन । थोरै अगाडिको युरोपको इतिहास हेर्दा होस् या दोश्रो विश्वयुद्धपछि जापानको अवस्थालाई मात्र मध्यनजर गऱ्यौँ भने पनि हामीले देख्न–बुझ्न सक्छौँ कि गरे के हुँदैन ? दोश्रो विश्वयुद्धले थिल्थिलो बनेको युरोप, जापान दश वर्षमा बन्छ भने यतिका दशकमा नेपाल बन्नुपर्ने होइन ? प्रजातन्त्र आएको तिसौँ वर्ष र गणतन्त्रको पन्ध्र वर्षमा नेपालले विकासको बाटो अझै पक्रन सकेको छैन भन्दा अतिरञ्जना पक्कै ठहरिँदैन ।

०४६–४७ पहिला नेपाली नेताले भने कि देशमा कुशासन आउनु र विकासको बाधक नै सक्रिय राजतन्त्र हो ! जनताले नेताले भनेको कुरालाई पत्याइदिए । जसो–जसो नेतले भने त्यसै–त्यसै जनताले गरे । आन्दोलन भयो पञ्चायत नामबाट गरिएको सक्रिय राजतन्त्रको अन्त्य भयो । राजालाई चिडियाखानाको बाघ बनाउनु पर्छ भनियो, र २०४७ सालको संविधानले राजालाई त्यस्तै बनाइदियो । नेताले चाहेको जनताले रोजेको प्रजातन्त्र नेपाली जनताले पाए । राजदरबारले नबनाएको नेपाली जनताको छोरा सरकारप्रमुख तथा प्रधानमन्त्री बन्यो । हिजोको नारायणहिटी राजदरबारको शक्ति केही वर्षमै सिंहदरबारमा सऱ्यो । तत्पश्चात् जनप्रतिनिधिको नामबाट सिंहदरबार पसेकाहरूको हालिमुहाली शुरु भयो । निजामति कर्मचारी राष्ट्रसेवक नभएर नेताहरूको नेता बने । गाउँबाट चप्पल लगाएर सिंहदरबार छिरेकाहरू कार लिएर घर फर्किने बनाउन सहयोग गऱ्यो कथित प्रजातन्त्रले । प्रहरी प्रशासन राजनीतिक भर्तीकेन्द्रका रुपमा उदायो । आफ्नो फाइदाका लागि जे पनि गर्ने अवस्थामा पुग्यो । समयसँगै राष्ट्रसेवकहरूमा चरम राजनीतिक हस्तक्षेप सुरु भयो ।

सुदिन र समृद्धि देख्न ब्याकुल बनिरहेका सोझा जनता ‘नेता’हरुलाई पत्याएर सडकमा आए । जनतालाई के थाहा त्यो बेला आजका ‘चर्चित’ नेता गगनहरूले दरबार ताकेर प्रहार गरेको ढुंगाको मूल्य कुनै विदेशी मिसनले चुक्ता गरेको थियो भन्ने !

यस्तैमा जनताका हिमायती हौँ भन्ने एकखाले तप्काबाट मुलुकमा अन्याय–अत्याचार बढ्यो भन्न थालियो । भ्रष्टाचारले आकाश छोयो, यो व्यवस्थाबाट नेपाली जनताको जीवनस्तर माथि उठ्न सक्दैन भन्दै केही वर्षपश्चात नेकपा माओवादीको नामबाट सशस्त्र आन्दोलन गर्नुपर्ने तर्क झिकियो र एक समूह बन्दुक बोकेर ङ्ंगल पस्यो । हत्याहिंसाको ताण्डव मच्चाउँदै उसले आफ्नो शक्ति अपत्यारिलो किसिमबाट बढाउँदै लग्यो । जनतालाई भ्रम पाऱ्यो कि हामीले बन्दुक समाएको जनताकै लागि हो ! जनता पनि उनीहरूको कुरामा लट्ठिँदै भ्रममा परे । जो भ्रमित बनेनन् तिनीहरूलाई जनकारवाहीका नाममा गोली हानेर, काटेर, झुण्ड्याएर र ज्युँदै खाडलमा पुरेर मारियो । जसले यस्तो ज्यादति झेल्ने साहस देखाए ती जसोतसो बचे, तर निमुखा र निरिह तमाम जनताले मर्नुपऱ्यो या बचेकालाई पनि देश छोड्न बाध्य परियो । उदेकपूर्ण त के भने यस्तो ज्यादति गरेर पनि भन्न छोडिएन कि हामी जे गर्दैछौँ जनताकै लागि गर्दैछौँ !

समय बित्दै गयो, देश कहालीलाग्दो ढङ्गले कङ्गाल बन्दै गयो । जनता हत्या–हिंसाको राजनीतिबाट आजित बनिरहेकै अवस्थामा जंगलमा भएको शक्ति तथा यता सिंहदरबारमा बसेर पनि लुट मच्चाउन नपाएको अर्को शक्तिले निचोड निकाले कि देश विकाश नहुनुको कारण नारायणहिटीमा राजा रहेकैले हो ! अनि राजा तथा राजसंस्थालाई जरैदेखि उखेलेर फालौँ र देशलाई स्वीजरल्याण्ड बनाऔँ भनियो । सुदिन र समृद्धि देख्न ब्याकुल बनिरहेका सोझा जनता ‘नेता’हरुलाई पत्याएर सडकमा आए । जनतालाई के थाहा त्यो बेला आजका ‘चर्चित’ कांग्रेस नेता गगनहरूले दरबार ताकेर प्रहार गरेको ढुंगाको मूल्य कुनै विदेशी मिसनले चुक्ता गरेको थियो भन्ने ! साथै जनताका लागि हतियार उठाएको भन्नेहरू तत्कालिन भारतीय प्रधानमन्त्री अटलबिहारीसँग लिखित सम्झौता नै गरेर राज्यसत्ताका साथै विध्वंश नै मच्चाउन लागिपरेका रहेछन् भन्ने !! जनता जतासुकैबाट पनि प्रयोग मात्रै गरिए, चाहे कथित जनयुद्ध होस् या ब्यालेट पद्दतिको निर्वाचन नै किन नहोस् ?

समयसँगै आन्दोलनकारी शक्ति र राजाको कारणले राजनीतिक शक्तिमा बसेर देश लुट्न नपाएका नेताहरू मिलेर ०६२–६३ मा फेरि एक पटक जनआन्दोलन भयो । राजतन्त्र सदाका लागि समाप्त भएको घोषणा भएसँगै देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गयो, तर लोकतन्त्र आएको आजका दिनसम्म देशले काँचुली फेर्ने कुरा परै रहोस् चार पाइला राम्रोसँग हिँड्न सकेको देखिएन । सुरुमा संविधानको नाममा देश लुटियो भने पछि फेरि चुनावका नाममा । देश सदैव राजनीतिक अस्थिरतामै रहयो । जबसम्म देशको आन्तरिक अर्थतन्त्रलाई मजबुद बनाउन सकिन्न तबसम्म देशले आफ्नो आर्थिक लक्ष्य हासिल गर्न सक्दैन भन्ने मान्यतालाई खाडलमै गाडियो । सक्षम जनशक्तिलाई विदेशिन बाध्य बनाइयो, जनताका पौरखी पाखुराहरूलाई मलेसियाका ढोका या खाडीको मरुभूमिमा जान बाध्य पारियो । न कर्मठ पाखुरालाई देशभित्रै कुनै रोजगारी दिन सक्यो न शिक्षित जनशक्तिलाई देशमा रोकेर राख्न नै सक्यो ।

देशमा बाह्य हस्तक्षेप यतिसम्म पुग्यो कि प्रधानमन्त्री, मन्त्रीहरू तथा सरकारका महत्वपूर्ण ओहदामा बसेका ब्यक्तिहरू एउटा सामान्य विदेशी राजदूतको इशारामा काम गरिरहेका छन् । सामान्य राजदूतहरू नेता, मन्त्रीदेखि प्रधानमन्त्रीका सुत्ने कोठासम्म पुगेर निर्देशन दिने हैसियत बनाएका छन् ।

गहिरिएर विश्लेषण र मनन गर्ने हो भने सहजै अनुभूति हुन्छ कि पञ्चायतमा शासन राजाको भए पनि हालीमुहाली कसको थियो ? प्रजातन्त्र प्राप्तिपछि सत्तामा को आए ? हामीले नबुझेको मात्र यो हो कि आज पनि देश तिनैले चलाइरहेका छन् जसले विगत ३० वर्षदेखि विभिन्न आवरणमा चलाइरहेका थिए । पात्र परिवर्तन भए होलान् तर प्रवृत्ति उस्तै छ । देशको बागडोर फेरि उही उही पुराना अनुहारका हातमा पर्न गयो । प्रजान्तान्त्रिक कालले नयाँ स्थापना गर्नुको साटो पञ्चायतले बनाइदिएको कलकारखाना बेचेर खाइदियो । सत्ताको मह र मदमा राजनीतिक नेतृत्व तथा पार्टीपङ्क्ति यसरी डुब्यो कि यहाँबाट बाहिर निस्कन सकेन । जनतालाई भ्रमित पार्न कुनै जुक्ति चाहिएको थियो, सो अवस्थामै ०६२–६३ को आन्दोलन रचिएको या रचाइएको थियो भन्ने स्पष्ट हुँदैछ । सरकारमा रहेकाहरूको बदमासीबाट बाँकी रहेको जमिनलाई घडेरी बनाएर बेचियो, त्यो अवस्था आज पनि परिवर्तन भएको छैन । आज पनि सरकार ब्यापारीहरूले चलाएको प्रतीत हुन्छ भने राज्यका निकायहरूलाई पनि ठूला व्यापारिक घरानाहरूले नै कब्जा गरेको देखिन्छ ।

यसबीचमा कुनै त्यस्ता नेता आएनन् जसले देशको कायपलट गर्न सक्ने दृष्टि राखोस् न कुनै त्यस्ता कुनै काम नै भए जुन सम्झनलायक होउन् । जो नेता बने तिनले आफ्ना परिवारबाहेक कोही–केही हेरेनन् । जनतालाई कथित नेताहरूले फेरि एकपटक रैती तुल्याए । यो बीचमा आएका सबै उस्तै हुन् भनेर भन्न खोजेको होइन, एकाध पात्र राम्रो गर्न खोज्ने पनि नदेखिएका होइनन् तर ती नेताहरू सधैं छायामा बस्न बाध्य पारिए या तिनलाई अनेक प्रकारबाट किनाराकृत तुल्याइयो । कतिपयलाई त भौतिक रूपले समाजमा यतिका नेगेटिभ धारणा पÞmैलाइयो कि आज पनि सत्य विषय नेपाली जनता मान्न नै नचाहने अवस्था बन्यो ।

राष्ट्र आज वैदेशिक रोजगारीबाट आएको रेमेट्यान्सका कारण चलेको स्पष्टै छ । वैदेशिक ब्यापार त अर्बौंको घाटामा रहेकै छ । निर्यातभन्दा सयौँ गुणा ज्यादा आयात छ । जमिन बाँझो छ भने खेति गर्न लायक जमिन घडेरी बनिरहेका छन् । सरकारका नीति मात्र कागजमा सीमित छन्, कर्मचारीलाई तलब खुवाउन विदेशी सहयोगको भिख माग्ने अवस्था खडा भएको छ । नीति बनाइन्छन् तर ती दराजमा थन्काइन्छन् । राष्ट्रियता इतिहासकै सङ्कटकालीन अवस्थाबाट गुज्रिएको छ । कुनै व्यक्ति सङ्कटमा पर्दा उसँग पैसा र पावर भएन भने न्याय नपाउने अवस्था छ । देशमा बाह्य हस्तक्षेप यतिसम्म पुग्यो कि प्रधानमन्त्री, मन्त्रीहरू तथा सरकारका महत्वपूर्ण ओहदामा बसेका ब्यक्तिहरू एउटा सामान्य विदेशी राजदूतको इशारामा काम गरिरहेका छन् । सामान्य राजदूतहरू नेता, मन्त्रीदेखि प्रधानमन्त्रीका सुत्ने कोठासम्म पुगेर निर्देशन दिने हैसियत बनाएका छन् भने नेपालका प्रमुख पार्टीका नेताहरू गुण्डापालन, माफियागिरी र हुँदा–हुँदा कुनै समय मेडिकल कलेज सञ्चालन गर्न नपाए संसद ठप्प पार्नेसम्मको चेतावनी दिएकासमेत दिएको सुन्न पाइयो । अराजकताको यो पराकाष्टा हो ।

अब गम्भीर भएर आफैले आफैंलाई प्रश्न सोध्ने बेला आएको छ- मलाई आफ्नो देशको माया छ कि छैन ? छ भने देशको लागि म के गर्दैछु ? मेरो व्यक्तिगत सोच र आचरणका कारण देशको लागि हित पुगिरहेको छ कि अहित ? वास्तवमै मैले के गर्नु पर्थ्यो, के गरेँ र अब के गर्ने ? हृदयमा देश राखेर यस प्रश्नमा घोत्लिने हो भने एक सच्चा नागरिकको धर्म निर्वाहका निम्ति अगाडिको मार्ग स्पष्ट हुने थियो कि !?

आखिर यो देशको सच्चा बाधक को रहेछ भन्ने कुरा नेपालीले जनताले अहिले थाहा पाउँदै छन् । सर्वसाधारण नागरिकहरू हिजो नारायणहिटी ताकेर ढुङ्गा हान्नु मेरो गल्ती थियो भन्दै सामाजिक सञ्जालमा बिलौना गरिरहेको पनि देखिन थालेका छन् । राजा भएकै कारण गरिब बनेको देश कहाँ छन् ? किन जनतालाई आजका दिनसम्म भ्रममा पारियो ? यदि राजसंस्थाकै कारण देश गरिब बनेको थियो भने प्रजातन्त्र आएको तीस वर्षका साथै वर्तमान गणतन्त्र आएको पन्ध्र वर्षमा देशले समृद्धि हासिल गर्न किन सकेन ? प्रगतिको बाटोतर्फ उन्मुख किन हुन सकेन त ?

जनताले अब पनि नसोचे नसोचे कहिले सोच्ने ? अब पार्टी भन्ने कि देश ? एक टुक्रा मासु र एक लिटर तेलमा हाम्रा युवा बिकेको कारण आज देशको यो अवस्था यस्तो बनेको भन्ने हामी नेपालीले किन नबुझ्ने ? हामीले हाम्रै वरिपरि हेरौँ, राजनीति गरेर सत्तामा पुगेका व्यक्तिमध्ये कोही गरिब बनेको देखिन्छन् ? सामान्य व्यक्तिले पनि बुझ्न सक्छ कि यतिका पैसा संसदको भत्ता बुझेकै भरमा थुप्रिन सक्दैन । हामीले भोट दिएर पठाएकालाई मात्र नमस्कार गऱ्यौँ, तर जे गर्नका लागि भोट दिएका थियौँ जवाफ कहिल्यै माग्ने कोशिस गरेनौँ । जनमतको कहिल्यै कदर भएन भनी बुझ्नेतर्फ हामी लागेनौँ । सबैभन्दा ठूलो शक्ति हामी स्वयम् जनता हौँ भन्ने हामीले कहिल्यै उनीहरूलाई आभास हुन दिएनौँ । चुनाव जितेर काठमाडौं पसेकासँग जनताका कुरा सुनेर बुझेर सम्बन्धित ठाउँमा जनताका आवाज राख्न आग्रह कहिल्यै गरेनौँ । आफ्नो विचार समूहका व्यक्तिले गरेको गल्तीलाई पनि आँखा चिम्लेर सही भन्यौँ अनि अर्को विचार समूहको व्यक्तिले गरेको तथ्यसङ्गत कुरालाई पनि गल्ती भन्दै धारे हात लगाएर सत्तोश्राप गऱ्यौँ । देशले उज्यालो गन्तव्य पक्रिन नसक्नुको मूल जडमध्ये एक यो पनि हो ।

तसर्थ, अब हामी आफैले गम्भीर भएर आफैंलाई प्रश्न सोध्ने बेला आएको छ- मलाई आफ्नो देशको माया छ कि छैन ? छ भने देशको लागि म के गर्दैछु ? मेरो व्यक्तिगत सोच र आचरणका कारण देशको लागि हित पुगिरहेको छ कि अहित ? वास्तवमै मैले के गर्नु पर्थ्यो, के गरेँ र अब के गर्ने ? हृदयमा देश राखेर यस प्रश्नमा घोत्लिने हो भने एक सच्चा नागरिकको धर्म निर्वाहका निम्ति अगाडिको मार्ग स्पष्ट हुने थियो कि !?

(लेखक ‘मातृभूमिका लागि नेपाली’ सङ्गठनका केन्द्रिय सदस्य हुन् ।)