कम्बोडियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध

कम्बोडियामा कुकुरको मासु व्यापारमा प्रतिबन्ध


कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो ।

यहाँ कुकुरको मासुलाई निकै पौष्टिक तत्वयुक्त मासुका रुपमा लिइन्छ । यहाँका मासुका पारखीका लागि पनि कुकुरको मासु लोकिप्रय मानिएको छ ।

कम्बोडियामा कुकुुरको मासु खाने महोत्सव पनि हुने र त्यसका लागि सो समयमा निकै निर्दयी रूपमा कुकुर मार्ने गरिएकोले जनावर अधिकारकर्मीले यसको विरुद्धमा आवाज उठाउँदै आएका थिए ।

पशु अधिकारवादीले मासुका लागि पशु मार्न नहुने, कुकुरलाई यस तरिकाले मार्न नहुने र कुकुर मारेर मासुको महोत्सव गर्न नहुने भन्दै विगत लामो समयदेखि माग गर्दै आएका थिए ।

त्यसको विरुद्धमा उनीहरुले अदालतसम्म पनि पुगेर मासुका लागि कुकुर मार्ने कार्यलाई रोक्न भनेका थिए । त्यसैले सरकारले यस्तो निर्णय गरेको एएफपीले जनाएको छ ।

सिम रिप प्रान्तको कृषि विभागले मङ्गलबार (७ जुलाई) राति अबेर सो नीतिको घोषणा गरेको थियो । मासुका लागि कुकुर मार्ने र त्यसको महोत्सव गर्ने काम अराजक देखिएको र यो पशु अधिकारको विरुद्धमा भएको भन्दै यस्तो प्रतिबन्ध लगाइएको बताइएको छ ।

उक्त प्रान्तका अधिकारीले मासु खाने प्रयोजनका लागि कुकुर समात्ने, काट्ने तथा बेच्ने कुनै पनि व्यक्तिलाई एक हजार ५०० देखि १२ हजार २०० अमेरिकी डलर बराबरको जरिबना गराइने बताएका छन् ।