मुम्बईका होटलमा एकतिर पाहुनाका कोठा, अर्कातिर क्वारेन्टिन

मुम्बईका होटलमा एकतिर पाहुनाका कोठा, अर्कातिर क्वारेन्टिन


मुम्बइमा रहेका होटल उनीहरुको क्षमताको ३३ प्रतिशत सञ्चालन गर्न पाउने गरी बुधबारदेखि खुला गरिएको छ । ती होटलका अरु ६७ प्रतिशत क्षमताका कोठा भने सरकारले कोरोना भाइरसका सङ्क्रमितलाई राख्ने क्वारेन्टाइनको प्रयोजनका लागि सरकारलाई नै प्रयोग गर्न दिइने बताइएको छ ।

तीन महिनाभन्दा लामो समयदेखि बन्द रहेका मुम्बईका होटल बुधबारदेखि भने खुलेको एएनआईले जनाएको छ ।

बताइएअनुसार ती होटलले कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि सक्दो मात्रामा सतर्कता अपनाएको बताएका छन् ।

यसअघि महाराष्ट्र सरकारले यहाँका होटल सञ्चालन गर्न दिएको थिएन । महाराष्ट्र भारतमा सबैभन्दा बढी मात्रामा कोरोना भाइरसको सङ्क्रमण हुने राज्यमा पर्दछ ।

होटलको क्षमताअनुसारका पाहुना राख्न र सेवा गर्न पनि पाइने छैन । ती होटल खुल्नु अगाडि पनि राम्रोसँग सफा गर्ने र स्यानिटाइजर प्रयोग गरेर सङ्क्रमण हुन नदिने अवस्थामा ल्याइएको बताइएको छ ।

एउटै होटलमा कतै पाहुनालाई सेवा दिने र कतै क्वारेनिटन बनाइ राख्ने गर्दा झनै सङ्क्रमणको खतरा हुने भएकोले यी दुई क्षेत्रलाई अलग अलग गरेर राखिएको बताइएको छ ।

मुम्बई भारतको आर्थिक राजधानीका रुपमा पनि चिनिन्छ । यहाँ पर्यटन व्यवसायका ठूला संरचना रहेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार महाराष्ट्रमा मात्र दुई लाख १७ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण भएको देखिएको छ । तीमध्ये एक लाखभन्दा बढी व्यक्ति निको भएर घर फर्किएका छन् भने करिब ९० हजार अझै पनि सङ्क्रमित रहेका छन् ।

यो राज्यमा मात्र कोरोनाको सङ्क्रमणबाट नौ हजार २५० जनाको ज्यान गएको यहाँको सरकारले जानकारी दिएको छ ।