चलचित्रकर्मी युवराज होटल व्यवसायमा

चलचित्रकर्मी युवराज होटल व्यवसायमा


– राजन घिमिरे

युवराज लामा खासमा चलचित्रकर्मीकै रुपमा चिनिन्छन् । चलचित्र क्षेत्रमा राम्रो नाम र उचाई बनाएका कर्मशील लामाको व्यक्तित्वका अनेक आयाम छन् । राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवको जिम्मेवारीमा रहँदा उनले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तारका लागि उल्लेख्य योगदान दिएका थिए ।

यतिबेला भने युवराज लामा होटल ब्यवसायतिर आकर्षित भएका छन् । यसको शुरूवात गरेका छन् उनले बाराको निजगढबाट । निजगढमा लामाको लगानीमा निर्माण भएको तारा इन होटल तयार भएको छ । १५ करोडको लगानीमा होटल तयार भएको उनले जानकारी दिएका छन् ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र फास्ट ट्रयाकलाई लक्षित गरी उक्त स्थानमा होटल निर्माण गरिएको जानकारी दिँदै उनले भने- ‘भविष्यमा यो स्थान पर्यटकीय ‘हव’ को रुपमा विकास हुने पक्का छ । यही विश्वासका साथ काठमाडौंबाहिर यत्रो लगानीमा होटल सञ्चालन गर्ने सोच आएको हो ।’

लामाको नयाँ होटलमा २१ वटा कोठारहेका छन्, तीमध्ये १८ वटा वातानुकुलित (एसी जडित) तुल्याइएको छ । होटलमा छुट्टैछुट्टै कटेज बनाइएको छ भने स्वीमिङ पुल र दुई वटा मिटिङ हलको सुविधा समेत राखिएको छ । होटल ब्यवसायमा लामाको यो अनुभव नयाँ भएता पनि लामो समयदेखि उनी काठमाडौंमा थान्का पेन्टिङ, कार्पेट र ट्राभल एजेन्सी भने सञ्चालन गर्दै आइरहेका छन् ।