देउवालाई रोक्ने जिम्मा सिटौला र निधिको

देउवालाई रोक्ने जिम्मा सिटौला र निधिको


नेपाली काङ्ग्रेसभित्र कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि कुनै पनि हालतमा केपी ओलीलाई पदमुक्त गराउन दृढ देखिएका छन् । नेकपा विभाजन भइ केपी ओलीले एमाले पुनर्गठन गरेको अवस्थामा शेरबहादुर देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने सम्भावनालाई दृष्टिगत गरी सिटौला र निधि बेग्लै भूमिकामा देखापरेका हुन् ।

सिटौला र निधि यसरी ओलीविरुद्ध उभिनुको मूख्य कारण गत संसदीय निर्वाचनमा उनीहरूलाई पराजित गराइनु नै हो । ओलीले झापामा सिटौलाविरुद्धका उम्मेदवार राजेन्द्र लिङ्देन र धनुषामा निधिविरुद्धका उम्मेदवार राजेन्द्र महतोलाई पार्टीगत समर्थन दिलाएर जिताइदिएका थिए । त्यसपश्चात निधि र सिटौला निरन्तर ओलीविरुद्ध सक्रिय रहँदै आएका छन् ।

गत वैशाखको पहिलो सातामा केपीले दुई अध्यादेश (पछि फिर्ता लिइएको) जारी गरेपछि झापामा रहेका सिटौलालाई प्रचण्डले काठमाडौं बोलाएका थिए । वैशाख १४ गते हुने छोराको विवाहका तयारीमा रहेका सिटौला प्रचण्डको आदेश आउनासाथ रातारात काठमाडौं आइपुगेका थिए । त्यसबेला प्रचण्डले सिटौलालाई विपक्षी दलहरूको बैठक राखि सडक सङ्घर्षमा जाने निर्णय गराउन निर्देशन दिएबमोजिम काङ्ग्रेस कार्यालयमा मधेशकेन्द्रित दल र राप्रपा लगायतको बैठक भएको र उक्त बैठकले ज्ञापनपत्र दिने र सडक सङ्घर्षमा जानेलगायतको निर्णय गरेको थियो ।

तर केपीले अध्यादेश फिर्ता लिइदिएपछि सडक सङ्घर्ष गराउने प्रचण्डको योजना तुहिएको थियो । अहिले शेरबहादुर देउवाको साथ नपाउने अवस्थामा केपीले एमाले पुनर्गठन गर्ने छैनन् भन्ने विश्वास प्रचण्डमा रहेको छ र, प्रचण्डले सिटौला र निधिलाई प्रयोग गर्दै देउवा–ओली गठबन्धन बन्न नदिने कसरत गरिरहेका छन् । तर यसपटक कदाचित नेकपा विभाजित भयो भने केपी र देउवाबीच सहकार्य हुने प्रबल सम्भावना छ । एमसिसीलगायत कैयन समस्याको समाधान गर्न पनि दुई पक्षबीच सहमति र सहकार्यको सम्भावना बढेको हो ।

एमाले पुनर्गठन भएमा देउवा र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने गरी सहमतिको सम्भावना छ । सिटौला र निधि यही सम्भावनालाई असम्भव तुल्याउन प्रचण्डको योजनाअनुसार काङ्ग्रेसभित्र क्रियाशील भएका छन् ।