नेपथ्य-निर्देशनमा भद्दा प्रहसन !

नेपथ्य-निर्देशनमा भद्दा प्रहसन !


‘दक्षिण छिमेकीले हस्तक्षेपकारी गतिविधि बढाएर आफ्नो कुर्सी नै ढलपल गराएको’ आशययुक्त प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिपछि एकाएक चुलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अन्तरकलह उत्तर छिमेकी राजदूतको तीव्र सक्रियतासँगै तत्कालका निम्ति सेलाउन पुगेको महसुस गरिँदै छ । शक्ति–सङ्घर्ष चर्किएर फुटकै सङ्घारमा पुगेको ठानिएको नेकपा औपचारिक तवरले चिरा पर्नुबाट पुनः एकपटक ‘सम्भवतः’ जोगिएको छ । तर, पूर्व एमाले र पूर्व माओवादीको अस्वाभाविक गठबन्धनबाट अलग दलको स्वरुप लिएकोे नेकपा (नेकपा)मा पटक–पटक चर्किने शक्ति–सङ्घर्षको भद्दा खेल र त्यसैको पछिल्लो कडीले फेरि एकपटक पुष्टि गरिदिएको छ कि नेपालका राजनीतिक दलहरू स्वचालित नभई पूरापुर परिचालित छन् । राजनीतिक नेतृत्वले आफूलाई जति नै स्वतन्त्र वा आत्मनिर्भर दर्शाउन खोजे पनि बाह्य प्रभावका सामु तिनको स्वतन्त्रता र स्वाभिमान क्षणभरमै चुर–चुर हुन पुग्छ । र, यसको सोझो अर्थ यही लाग्न पुग्छ– ‘प्रत्यक्ष–परोक्ष तवरमा बाह्य इशारा वा दबाबमा क्रियाशील नेतृत्वले राष्ट्रहितमा काम गर्ने हैसियत पक्कै राख्दैन ।’

अत्यन्त रहश्यमयी किसिमबाट रातारात उब्जन पुगेको ‘नक्सा प्रकरण’पछि नेपालको अस्थिर राजनीति थप तरङ्गित बनेको जगजाहेर नै छ । नक्सा–राजनीतिको तरङ्गले प्रत्यक्ष रूपमा नेपाल–भारतबीचको सदियौँ पुरानो ‘विशेष प्रकार’को सम्बन्धलाई खल्बल्याएको मात्र नभई बेइजिङदेखि वाशिङ्गटनसम्म यसका बाछिटा पुगेको विश्लेषण गरिँदै छ । अर्थात्, प्रधानमन्त्रीको रूपमा विशेष काम गरिदेखाउने अभिलाषा केपी ओलीमा पलाएकै कारण मात्र नेपालको नक्सामा ‘चुच्चो’ पलाएको थिएन, बरु अत्यन्त गहिरो षड्यन्त्रअन्तर्गत यस प्रकरणको रचना गरिएको थियो र, आफूलाई हस्ती ठान्ने नेपालका कुनै पनि राजनीतिकर्मीलाई यसको छेउटुप्पोकै ज्ञान थिएन भन्न सकिने आधार दिन–प्रतिदिन स्पष्ट हुँदै छ ।

चुच्चे नक्सालाई संविधान संशोधनको विधि अपनाएर औपचारिकता प्रदान गर्दैगर्दा छिमेकी भारत जसरी नेपाल–मामलामा सशङ्कित र स्तब्ध हुँदै थियो, उत्तिकै रहश्यमयी ढङ्गले सत्तारुढ दलका सहअध्यक्षसहितका केही नेता प्रधानमन्त्री ओलीविरुद्ध सल्बलाउन पुगेका थिए । यस सल्बलाहटको उत्कर्षमा सहअध्यक्ष प्रचण्डले त ‘राजीनामा भारतले होइन मैले मागेको हुँ’ भन्दै अध्यक्ष ओलीलाई उत्तेजित पार्नसमेत भ्याए । ओलीविरुद्ध निरन्तर षडयन्त्रमूलक ढङ्गमा सक्रिय भनी आलोचित प्रचण्डको उक्त अभिव्यक्तिको अन्तर्य सामान्य थिएन, र असामान्य रूपमै लिए सचेत सबैले । मानौँ, नेपाली नेताहरू कुनै खेलौना हुन्, जसलाई अरु नै कसैले चाहेअनुसार खेलाइरहेछन् ! नेताहरू आफ्ना कुरा बोलेजस्तो गरी अरू नै कसैका राग अलापिरहेछन् ! अन्यथा, कोरोना–महामारीले अनेक कोणबाट थला पारेको मुलुकलाई कसरी सामान्य अवस्थामा फर्काउने भनी चिन्ता, चिन्तन र प्रयत्न गर्नुपर्ने अपरिहार्यतालाई चटक्कै बिर्सेर कुर्सीप्राप्तिको कलहमा किन होमिन पुग्थे होलान् नेताहरू ?

यसरी केपी ओलीद्वारा सम्हालिँदै आएको सरकार र पार्टी दुवैतिरका कुर्सी एकाएक हल्लिन पुगेकै बेला उत्तर छिमेकी मुलुकका राजदूतको सक्रियता देखियो । पछिल्लो चरणमा नेपालको राजनीतिमा ‘हस्तक्षेपकारी’ प्रभाव खुल्लमखुल्ला जमाउन थालेको आरोपको पुष्टि हुने शैलीमा राजदूतको दौडधुप चल्नु र छिन्नभिन्न हुने अवस्थामा पुगेको नेकपाको कलह कृत्रिम रूपमै भए पनि साम्य भएको देखिनु संयोग मात्र पक्कै होइन । अरुकै चाहनामा फुट्न तयार हुने र जुटेको नौटङ्की प्रदर्शन गर्न पनि बाह्य शक्तिकै इशारा चाहिने भएपछि हाम्रा दल तथा दलीय नेतृत्वहरू अब फगत पुतलामै परिणत भइसके छन् भन्न हिच्किचाइरहनु परेन । अत्यन्त अस्वाभाविक तवरले ‘एक’ भएको ‘नेकपा (नेकपा)’मा फुट र कलहका परिघटनाहरू देखिनु जति स्वभाविक थियो, फुटको ढोका ढक्ढकाउनु पनि पटक्कै अप्रत्यासित थिएन । तर, मुलुकको आवश्यकताका आधारमा नभई अरु–अरुकै चासो र चाहनामा जुट र फुटको भद्दा खेल जारी रहनुचाहिँ अत्यन्त विडम्बनाको विषय हो । मिलेर देशका लागि कर्म गर्ने कि परायाकै निम्ति नाङ्गो प्रहसनमा रमाइरहने ? यो प्रश्नमा अब एकपटक दलीय नेतृत्वले घोत्लिने कि ?