प्रहरी महानिरीक्षकमा थापा, सङ्गठनमा यस्तो छ योगदान

प्रहरी महानिरीक्षकमा थापा, सङ्गठनमा यस्तो छ योगदान


■ नारायण ढुङ्गाना, (रासस) काठमाडौं

मुलुकको २८औँ प्रहरी महानिरीक्षक (आइजी)मा शैलेश थापा क्षेत्रीलाई बढुवा गरिएको छ । बालुवाटारमा आज (२३ असार) बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो ।

यही बुधबार रातिदेखि हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे अनिवार्य अवकाश लिने भएकाले आज मन्त्रिपरिषद्ले थापालाई आइजीमा बढुवा गरेको हो । हाल उहाँ प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभाग विभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

भक्तपुरको कटुञ्जे (हालको सूर्यविनायक नगरपालिका)मा जन्मनुभएका थापा अब्बल प्रहरी अधिकृत हुनुहुन्छ । विसं २०४९ मा प्रहरी निरीक्षक भएदेखि नै उहाँ कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट हुँदै आउनुभएको थियो । अहिले महानिरीक्षकका लागि पनि थापा पहिलो नम्बरमै हुनुहुन्थ्यो । विसं २०७५ असोजमा डिआइजी हुनुभएका थापा गत साल चैत ९ गते एआइजीमा बढुवा हुनुभएको थियो ।

उहाँसँगै अर्का एआइजी हरिबहादुर पाल पनि प्रहरी महानिरीक्षकको प्रतिष्पर्धामा हुनुहुन्थ्यो । एआइजी तारिणीप्रसाद लम्साल भने हालका प्रहरी महानिरीक्षक ज्ञवालीसँगै बुधबार रातिदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ ।

गत माघ २८ मा प्रहरी महानिरीक्षकमा बढुवा हुनुभएका ज्ञवाली पाँच महिना मात्रै आइजिपीको कार्यकाल छ । उहाँको कार्यकालको अधिकांश समय कोभिड–१९ सङ्क्रमणमा रुमल्लिन पुग्यो ।

इमान्दार र कुशल सङ्गठनको रुपमा चिनिनुभएका उहाँको कार्यकाल पनि विवादरहित नै रह्यो । कोभिड–१९ का कारण खास उल्लेखनीय नयाँ काम गर्न पाउनुभएन ।

थापाको कार्यकाल भने आगामी विसं २०७९ साल वैशाखसम्म रहनेछ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले बुधबार साँझ प्रहरीको स्वागत र बिदाइको कार्यक्रम राखिएको जानकराी दिनुभयो ।

थापाको सङ्गठनमा यस्तो छ योगदान

विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा दिनुभएको छ ।

प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिनुभएको थियो । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गर्नुभयो । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिनुहुन्छ ।

प्रहरी समूहका ९८औँ व्याजमा उहाँसँगै हालका एआइजी पाल पनि प्रवेश गर्नुभएको थियो । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गर्नुभएका उहाँका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै हुनुहुन्छ । नवनियुक्त आइजी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिनुहुन्छ । पाल भने कमान्ड नियन्त्रणमा पोख्त हुनुहुन्छ ।

प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिनुभएको थियो । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि उहाँले झापा र कास्की प्रहरीको नेतृत्व सम्हाल्नुभएको थियो । उहाँ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत हुनुभयो । उहाँ एआइजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख हुनुभयो ।

हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक ९डिआइजीबाट एकैचोटि बढुवा भएर महानिरीक्षक बन्नुभएको थियो । उहाँको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।

ज्ञवालीअघिका प्रहरी महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उहाँको नाम गएको एक प्रहरी अधिकृतले बताउनुभएको छ ।

चार वर्षअघि जयबहादुर चन्द आइजी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुग्नुभएको थियो । उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइजी रमेश खरेलले राजीनामा दिनुभएको थियो । प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजी हुने आधार छ ।