काठमाडौंबाहिरका नागरिकलाई गैरनागरिकको व्यवहार गरेको गुनासो

काठमाडौंबाहिरका नागरिकलाई गैरनागरिकको व्यवहार गरेको गुनासो


■ एस क्षेत्री, कपिलवस्तु

कोरोना संक्रमण नियन्त्रणको नाममा सरकारले काठमाडौंबाहिरका नागरिकहरुप्रति गैरनागरिकलाई गरिने जस्तो व्यवहार गरेको भन्दै कपिलवस्तुमा त्यसको विरोध भएको छ । राष्ट्रिय हिन्दु परिषद नेपालको आयोजनामा सोको विरोध गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ज्ञापन पत्र पठाइएको छ ।

परिषदका राष्ट्रिय अध्यक्ष बलरामप्रसाद तिवारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले औषधी उपचारका लागि काठमाडौं र भारतका विभिन्न शहरहरुमा जान कठिनाई भएकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भारतबाट निर्वाध रुपमा आउने भारतीय मालबाहक सवारी साधानलाई प्रवेश दिने तर औषधी उपचार गर्न भारततर्फ जान खोज्ने नागरिकलाई सीमा क्षेत्रमा रोक्ने कार्यप्रति आफुहरुको गम्भीर ध्यान आकर्षण भएको परिषदका अध्यक्ष तिवारीले बताए ।

काठमाडौं प्रवेशमा काठमाडौंका वडा कार्यालयहरुको अनिवार्य सिफारिस गरिनुपर्ने प्रावधानले मोफसलका नागरिकहरुलाई काठमाडौं प्रवेशमा कठिनाई उत्पन्न भएको परिषदका अध्यक्ष तिवारीले बताए ।