हावाका कणमा पनि कोरोना भाइरस रहेको वैज्ञानिकहरुको दाबी

हावाका कणमा पनि कोरोना भाइरस रहेको वैज्ञानिकहरुको दाबी


एस. क्षेत्री, कपिलवस्तु

कपिलवस्तुमा मास्क नलगाई घरबाहिर निस्कनेलाई प्रहरीले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशित गरेसँगै कपिलवस्तु प्रशासनले यस्तो निर्देशन जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलद्वारा हस्ताक्षरित निर्देशनमा भनिएको छ- ‘घरबाहिर कामविना ननिस्कने, निस्कँदा मास्क अनिवार्य लगाउने, २ मिटरको दूरी कायम गर्ने, तोकिएका अन्य मापदण्ड निःशर्त पालना गर्ने-गराउने काम कडाईका साथ हुने छ ।’

दुई दिनअघि प्रहरी प्रधान कार्यालयलाई गृहले कडा निर्देशन दिँदै अब मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जनाएको थियो ।

कोरोना संक्रमणको खतरा अहिले पनि रहेको र हाल लकडाउन पूर्ण रुपमा नखुली व्यवस्थित मात्र गरिएको सरकारको भनाइ छ । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने सरकारको निर्देशन छ ।

यसैबीच वैज्ञानिकहरुले हावाका कणमा पनि कोरोना भाइरस रहेको र त्यसबाट मानिस संक्रमित भइरहेको बताएका छन् । हावामा कोरोनाको जीवाणु रहेको प्रमाण वैज्ञानिकहरुले प्राप्त गरेको समाचार न्युयोर्क टाइम्सले सार्वजनिक गरेको छ । महामारीको जीवाणु हावामै रहेको पुष्टि भएकाले वैज्ञानिकहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई महामारीसँग सम्बन्धित निर्देशन र सतर्कता विधि बदल्न आग्रह गरेका छन् । वैज्ञानिकहरुले यसबारे जानकारी लिन र गम्भीर हुन डब्ल्यूएचओलाई पत्र नै लेखेका छन् । यो पत्र आगामी साता साइन्स जर्नलमा प्रकाशित गर्ने भनिएको छ।