प्रहरी महानिरीक्षकमा एआइजी शैलेस थापाको बढुवा

प्रहरी महानिरीक्षकमा एआइजी शैलेस थापाको बढुवा


नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षकमा सरकारले अतिरिक्त महानिरिक्षक (एआइजी) शैलेस थापालाई बढुवा गरेको छ । मंगलबार (२३ असार) बसेको मन्त्रिपरिषद् बैठकले एआइजी थापालाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

हालका आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३०वर्षे सेवा अवधिका कारण बुधबार (२४ असार)देखि स्वतः अवकास पाउने भएपछि सरकारले एआइजी थापालाई आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । गत २०७६ माघ २९ गते आईजिपीको जिम्मेवारी सम्हालेका ज्ञवालीले बुधबार अवकास लिएपछि नवनियुक्त थापाले असार २५ देखि आइजीपीको जिम्मेवारी सम्हाल्ने छन् । निष्कलंक छविका थापा आगामी २०७९ वैशाख १८ सम्म नेपाल प्रहरीको नेतृत्वदायी जिम्मेवारीमा रहने छन् ।

ज्ञातव्य छ, एआइजी थापा र अर्का एआइजी हरि पाल आइजीपीको जिम्मेवारी हासिल गर्न प्रतिष्पर्धामा थिए । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए । थापालाई आइजीपी नियुक्त गर्न प्रधानमन्त्री केपी ओली शुरुदेखि नै सकारात्मक रहँदै आएका चर्चा चलेको थियो । हाल एआईजी रहेका तारिणीप्रसाद लम्सालको पनि बुधबारदेखि सेवावधि समाप्त भई अवकास पाउने भएकोले थापा र पालमध्येबाट एक जना आइजीपी छानिने सुनिश्चित थियो ।