फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्ला

फ्रान्सको लुवर सङ्ग्रालय पुनः खुल्ला


विश्वकै अत्यधिक धेरै मानिस अवलोकनका निम्ति जाने फ्रान्सको लुवर सङ्ग्रालय झण्डै साढे तीन महिनापछि पुनः खुलेको छ ।

कोरोना भाइरसको सङ्क्रमणको खतरा बढ्दै गएपछि बन्द गरिएको सङ्ग्रालय सोमबारदेखि सर्वसाधारणका लागि पुनः खुल्ला गरिएको हो ।

पुनः खुल्ला गरिएपछिको पहिलो दिनमा सोमबार झण्डै सात हजार मानिसले सङ्ग्रालय भ्रमण गरेको जनाइएको छ । जवकी कोरोनाभाइरसको सङ्क्रमण फैलिनु अघिसम्म दैनिक ३० हजार मानिसले सङ्ग्रालयको भ्रमण गर्ने गरेका थिए ।

सङ्ग्रालयमा आउनेहरुलाई मास्क लगाउन अनिवार्य गरिएको सङ्ग्रालयका अध्यक्ष तथा निर्देशक जेन लुक मार्टिनेजले जानकारी दिएका सिन्ह्वाले जनाएको छ ।

हरेक चरणमा ५०० आगन्तुकहरुलाई व्यवस्थापन गर्ने गरिएको उनले बताए । त्यसका लागि उनीहरुलाई आधारभूत स्वास्थ्य सतर्कता र मापदण्डहरू पुरा गर्नै पर्ने व्यवस्था पनि गरिएको उनको भनाइ छ ।

आगन्तुकहरुलाई बस्ने ठाउँमा सामाजिक दुरी कायम हुनेगरी व्यवस्था गरिएको र एकातिरबाट जाने र अर्कोतिरबाट निस्कने व्यवस्था गरिएको छ । एउटै बाटोमा फर्केर हिँड्न नपाइने नियम लगाइएको मार्टिनेजले जानकारी दिए ।

चर्चित यस सङ्ग्रालय गत मार्च महिनाको १३ तारिखदेखि बन्द रहेको थियो । बन्दका कारण दशौँ लाख टिकट बिक्रीबाट हुने आम्दानी गुमेको र धेरै टिकटहरु फिर्ता गर्नु परेको पनि उनले जानकारी दिए ।

सङ्ग्रालयमा युरोपेली देशबाहेक चीन, दक्षिण कोरिया, जापान, अमेरिका, ब्राजिललगायतका देशबाट आउने आगन्तुकहरु नदेखिएको पनि उनले बताएका छन् ।