बहिनी बलात्कारको आरोपमा ओखलढुङ्गामा दाजु पक्राउ

बहिनी बलात्कारको आरोपमा ओखलढुङ्गामा दाजु पक्राउ


ओखलढुङ्गामा बहिनी बलात्कार गरेको आरोपमा एक दाजु पक्राउ परेका छन् । चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन् ।

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

जिप्रकाका प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको छ ।

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो । पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ ।

यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइफकाई बालिकामाथि जबर्जस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ । बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।