सप्तमाई गुरुकुल संस्कृत विद्यालयलाई भारतद्वारा तीन करोड एघार लाख सहयोग

सप्तमाई गुरुकुल संस्कृत विद्यालयलाई भारतद्वारा तीन करोड एघार लाख सहयोग


इलामको बरबोटेस्थित सप्तमाई गुरुकुल संस्कृत विद्यालयको औपचारिक उद्घाटन गरिएको छ । नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत रु. ३ करोड ११ लाख ३० हजार लागतमा निर्माण गरिएको सो विद्यालय भवनको उद्घाटन बरबोटे गाउँ विकास समिति, विद्यालय व्यवस्थापन समिति र भारतीय राजदूतावासका प्रतिनिधिहरूद्वारा सोमबार (२२ असार) भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा गरिएको हो ।

सन् २००९ मा प्राथमिक विद्यालयको रूपमा स्थापित उक्त विद्यालय सन् २०१५ मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई वैदिक तथा आधुनिक शिक्षा संस्कृत भाषामा पनि अध्यापन गराइनु सो विद्यालयको नवीनतम् एवम् सह्राहनीय पक्ष हो ।

बताइएअनुसार इलामसँग जोडिएका अन्य जिल्लाबाट आएका विद्यार्थीका लागि सप्तमाई गुरुकुल संस्कृत विद्यालयले आवासीय सुविधासमेत प्रदान गर्दछ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्मित विद्याालयको चारतल्ले भवनमा विद्यालय तथा छात्रावास ब्लक रहेका छन्, जसमा दश वटा कक्षाकोठा, आवासीय विद्यार्थीका लागि नौ वटा शयन कक्ष, चार वटा अध्ययन कक्ष, वार्डेन कार्यालय, एउटा बैठक कक्ष, एउटा साझा हल, तीन वटा भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाइका सुविधा रहेका छन् । जिल्ला समन्वय समिति इलामले यस परियोजनाको कार्यान्वयन गरेको हो ।

विद्यालयको नवनिर्मित संरचनाले विद्यार्थीहरूको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ भने शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रूपमा रहेको यस परियोजनासँग भारत सरकार र भारतीय जनताको तर्फबाट जोडिन पाएको भन्दै भारतीय दूतावासले खुशी व्यक्त गरेको छ ।