भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख

भारतमा कोरोना भाइरस संक्रमितको संख्या सात लाख


भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार (६ जुलाई) जानकारी दिएको छ ।

विगत २४ घण्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिका अनुसार सोमबार विहानसम्म ४ लाख २४ हजार ४३२ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।

सोमबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५३ हजार २८७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् । भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ६ हजार ६१९ संक्रमित रहेका छन् भने ८ हजार ८२२ जनाको मृत्यु भएको छ ।

दोस्रो स्थानमा तमिलनाडु रहेको छ र यहाँ १ लाख ११ हजार १५१ जना संक्रमित रहेका छन् भने १ हजार ५१० जनाको मृत्यु भएको छ । तेस्रो स्थानमा राष्ट्रिय राजधानी समेत रहेको दिल्ली प्रदेश रहेको छ । यहाँ ९९ हजार ४४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ३ हजार ६७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले लकडाउनलाई खुकुलो पार्दै कोभिड–१९ विरूद्धको दोस्रो चरणको अभियानलाई अभ्यासमा ल्याइएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरणले यही जुलाई ३१ सम्मका लागि व्यवसायिक अन्तराष्ट्रिय उडानलाई सञ्चालनमा नल्याउने जानकारी गराएको छ भने भारतीय बजारमा निश्चित मापदण्ड तोकी बजारलाई चलायमान बनाउन संक्रमणको अवस्था हेरी सामाजिक दूरी कायम गरी पसल तथा उद्योगलाई सञ्चालनमा ल्याएको छ ।

उडिसामा सुरक्षा कारबाहीमा चार माओवादी लडाकू मारिए

भारतको उडिसाको कान्धामल जिल्लामा भारतमा सशस्त्र विद्रोह गरिरहेका चार जना माओवादी लडाकूको सुरक्षा कारबाहीमा ज्यान गएको छ । उक्त जिल्लामा भारतीय सुरक्षा बलका सदस्यहरुसँग भएको दोहोरो भिडन्तमा परी ती माओवादी लडाकू मारिएको बताइएको छ ।

उडिसा राज्यका प्रमुख सचिव अजित त्रिपाठीले सो कुराको जानकारी दिएका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मुख्य सचिव त्रिपाठीले सोमबार बिहान ट्वीट गरेर सो क्षेत्रमा सुरक्षा गस्तीमा रहेका भारतीय सुरक्षा बलका सदस्यहरुसँगको भिडन्तमा परी चार जना माओवादी विद्रोहीको ज्यान गएको बताएका छन् ।
उनले त्यस क्रममा सफल रुपमा माओवादी विरुद्धमा कारबाही गर्न सकेको र सुरक्षाकर्मीतर्फ कुनै क्षति नभएको भन्दै सुरक्षा अधिकारी तथा सुरक्षा गस्तीमा रहेका सुरक्षाकर्मीहरुलाई बधाई पनि दिएका छन् ।

उडिसाको राज्य सरकारले अतिवादीहरुका विरुद्धमा कडा कारबाही गर्न सक्ने सन्देश पनि यो सफल कारबाहीबाट दिएको पनि मुख्य सचिव अजितले बताए ।