सङ्कटसँगै बढिरहेको महासङ्कट- आत्महत्या !

सङ्कटसँगै बढिरहेको महासङ्कट- आत्महत्या !


■ अर्पण तिवारी

कलकलाउँदो उमेर, गहुँगोरो वर्ण, हिस्सी परेको अनुहार, बाडुली कम्मर भएकी दाङ तुल्सीपुरकी अन्दाजी २२–२३ वर्षकी एलिसा गौतम नामकी युवती असार १८ गते राति १.२५ बजे ‘एलिसा गौतम’ नामको आफ्नै फेसबुक अकाउन्टबाट फेसबुक लाइभमा आइन् । रातो कपडामा सजिएकी गौतमले पृष्ठभूमिमा ‘मेरो लासको मलामी तिमी हुनु’ भन्ने बोलको गीत बजाइन् । कोठामा झुन्डिएको सिलिङ पङ्खामा सल बाँध्न थालिन् । मलिन अनुहारमा कहिले नमस्ते गर्दै केही बोल्दै मायालु स्वाभाव दर्शाउँदै पङ्खामा झुण्डिन थालिन् ।

उनलाई लाइभ हेरिरहेकाहरू सबै अचम्ममा परे । उनको त्यो ‘हर्कत’लाई धेरैले नाटक नै होला भन्ने सम्झे । तिनलाई लाइभ हेरिरहेकामध्ये एकले इलाका प्रहरी कार्यालय दाङ तुल्सीपुरमा उक्त घटनाबारे जानकारी दिए । प्रहरीहरू एलिसा भएको स्थान पत्ता लगाइ त्यहाँ पुग्दा रातीको साढे ३ बजिसकेको थियो । त्यो बेलासम्म गौतमले पङ्खामा झुण्डिदै आत्महत्या गरेको धेरैले देखे तर बचाउन सकेनन् ।

यस्तै, २५ जेठ २०७७ स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं २ स्थायी घर भइ सोही नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख भई जिम्मेवारी सम्हाल्दै आएका लीलाबल्लभ भण्डारी बिहानदेखि बेखबर भए । साँझपख आफ्नै घरछेउको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परे ।

लकडाउन कायम नै रहेको बेला असार १३ गते विवाहबन्धनमा बाँधिएकी काठमाडौं महानगरपालिका वडा नं ३२ कोटेश्वरकी २६ वर्षीया निर्जला भण्डारीले विवाहको पाँच दिनपछि अर्थात असार १७ मा भर्खरै विवाह गरेर आएको नयाँ घरको चौथो तलाबाट हाम फालेर प्राण त्याग गरिन् ।

असार ३ गते नै अर्घाखाँची जिल्लाका ४३ वर्षीय देवबहादुर बिकले क्वारेन्टिन स्थलभित्र नै रुखमा झुन्डिएर आत्महत्या गरे । त्यस्तै, जेठ १७ गते चार छोरा र श्रीमती भएका गुल्मी जिल्लाका ५६ वर्षीय चन्द्रबहादुर परिवारले पनि आत्महत्या गरे ।

विगत ८ वर्षदेखि भारतको हिमाञ्चल प्रदेशको एक स्थानीय बैंकमा सहयोगीको रूपमा काम गर्दै आएकी सुर्खेतको सिम्ता गाउँपालिका घर भएकी २५ वर्षीया आशा मल्ल भारतमा कोरोना महामारी फैलिएपछि नेपाल फर्किइन् र स्थानीय क्वारेन्टिनमा बसिन् । क्वारेन्टिनमा १४ दिन बिताएर घर गएको हप्तादिन बिताउन नपाउँदै उनले आत्महत्या गरिन् । उता, बाजुराका वर्ष ४५ का भुपेन्द्र राई विगत २४ वर्षदेखि भारत बस्दै आएका थिए र कोरोनाले गराएको अप्ठेरो परिस्थितिसँगै जेठ २८ नेपाल फर्केर क्वारेन्टिनमा बसेका थिए । जेठ ३० गते बेलुका उनले पनि आत्महत्या गरे ।

बझाङका रमेश धामी उमेरले भर्खर ३२ मा टेक्दै थिए । उनी केही वर्षबाट भारतको बेङ्लोरमा बस्दै आएका थिए । असार ५ गते नेपाल आएसँगै उनी बझाङ जिल्लाको छब्बिस पाथिभरा गाउँपोखरीमा रहेको मचपोखरी विद्यालयको क्वारेन्टिनमा रहँदै आएका थिए । उनले नेपाल आएको २ दिनपछि अर्थात असार ७ गते क्वारेन्टिन परिसरभित्रै रुखमा झुण्डिएर आत्महत्या गरे ।

माथि उल्लिखित आत्महत्याका तथ्याङ्क प्रहरीसमक्ष आइपुगेका र सञ्चारमाध्यमले समेट्न सकेका केही प्रतिनिधि घटना मात्र हुन् । यसबाट हामी सहज अनुमान लगाउन सक्छौँ कि दूरदराजमा अथवा छायामा यस्ता आत्महत्याका कयौँ घटना दिनप्रतिदिन बढ्दो छन् । यो गहन र सोचनीय विषयलाई नजरअन्दाज गरिँदा विस्तारै आत्महत्या सामाजिक स्वास्थ्य–समस्याको रूपमा विकसित हुने निश्चितप्रायः देखिन्छ । त्यसैले यस विषयमा सरोकार पक्ष तथा स्थानीय निकायले बेलैमा ध्यान दिई यसलाई रोकथाम गर्न ठोस कदम चाल्नु अपरिहार्य भएको छ ।

कुनै हत्या घटनाको प्रत्यक्षदर्शी बनेको, जघन्य हत्याका कारण पारिवारिक वियोगको शिकार भएको, बाल्यकालमा कुनै किसिमको दुर्व्यवहार झेलेको, किशोरावस्थामा आउने उत्तेजना, लागुपदार्थको दुर्व्यसनमा परेको, विभिन्न तनावपुर्ण अवस्था, एक्लोपन महसुस गरेका, आर्थिक मनोदशाबाट गुज्रिएकाहरूले जीवनलाई बढि जोखिमपूर्ण ठान्ने गरेका हुन्छन् र उनीहरू आत्महत्याको नजिक पुग्ने गरेका पाइएको छ ।

चलायमान समयको गतिसँगै मानिसका इच्छा–आकाङ्क्षाहरू बढ्दै जाने गर्दछन् र सोहीअनुसार ती बढ्दै गएका इच्छा–आकाङ्क्षाहरू कुनै न कुनै कारणले रोकिन्छन् वा सहज रूपमा पूरा हुँदैनन र यसले विस्तारै मानसिक सिथिलता, तनाव बढ्दै जान्छ । परिणामतः विस्तारै आत्महत्याका प्रयास हुन थाल्छन् । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा पछिल्लो तीन वर्षमा आत्महत्या दर बढ्दो क्रममा छ । आर्थिक वर्ष ०७२/७३ मा ४ हजार ६ सय ८० जनाले आत्महत्या गरेका छन् भने ०७३/७४ मा ५ हजार १ सय २४ जनाको आत्महत्याका कारण मृत्यु भएको छ । त्यस्तै, ०७४/७५ मा ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा १३.६१ प्रतिशतले आत्महत्या बढेको पाइन्छ । अघिल्लो आर्थिक वर्ष ०७५/७६ मा भने जम्मा ३ हजार २२ जनाले आत्महत्या गरेको रेकर्ड प्रहरी श्रोतबाट पाउन सकिन्छ । गत वर्षको चैतबाट भने आत्महत्याको दर ह्वात्तै बढेको छ । गत आर्थिक वर्षको अघिल्लो ८ महिनामा औसतमा दैनिक १४ जनाले आत्महत्या गरेको पाइए पनि यस वर्षको जेठ यता औषत रूपमा दैनिक २४ जनाले आत्महत्या गर्ने तथ्याङ्क बाहिरिएको छ । गत वर्षको चैतको मध्यबाट असारको मध्यसम्म आइपुग्दा १५ सय बढिले आत्महत्या गरेको तथ्याङ्क प्रहरीले सार्वजनिक गरेसँगै आत्महत्याको डरलाग्दो रूप बाहिरिएको छ ।

आत्महत्या अहिले नेपालको मात्र समस्या नभई विश्वसमुदायको स्वास्थ्य क्षेत्रको काउछोकै विषय बनेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा हाल वर्षेनी ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । औषतमा प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्ने डब्लुएचओको भनाई छ । त्यस्तै, निकट भविष्यमा नै यो दर बढेर प्रत्येक २० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने प्रक्षेपण गरिएको छ । १९४ सदस्यराष्ट्र भएको विश्व स्वास्थ्य सङ्गठनले मे २०१३ मा आफ्ना सदस्यराष्ट्रहरूको स्थास्थ्यमन्त्री स्तरको भेला डाक्यो र सो ’66th World Health Assembly’ ले ‘Mental Health Action Plan 2013-2020’ पारित गऱ्यो जसको मूल उद्देश्य विश्वसमुदायको मानसिक स्वास्थ्य स्थितिलाई सन्तुलन गराइराख्नु थियो । तर, कोभिड महामारीपछिको स्थितिले विश्वसमुदायको स्वास्थ्य स्थिति तथा मानसिक स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र यसलाई सम्बोधन गर्न अब विश्वस्तरमै छिट्टै यस किसिमको विशेष सभाको आह्वान गरी बढ्दै गएको मानसिक स्वास्थ्य सन्तुलनका लागि ठोस कदम चाल्नुपर्ने स्वास्थ्य विशेषज्ञहरूले जिकिर गर्दै आएका छन् ।

आत्महत्या प्रत्येक मानिसको मानसिक स्थास्थ्य स्थिति, आर्थिक परनिर्भरता, सामाजिक संलग्नता आदि जस्ता विषयमा निर्भर रहनाले आत्महत्याको कुनै स्पष्ट विश्वव्यापी साझा कारण नरहेको मनोविश्लेषकहरू दाबी गर्दै आएका छन् । सामान्यतया मानिसका जीवनमा आइपर्ने विभिन्न जोखिमहरू सहन गर्न नसकेर आत्महत्याका घटनाहरू घट्ने गरेको पाइन्छ । आत्महत्या गरिनुमा सामाजिक, मनोवैज्ञानिक र जैविक कारणहरूले ठूलो भूमिका खेल्ने गरेको मनोवैज्ञानिकहरू बताउँछन् । कुनै हत्या घटनाको प्रत्यक्षदर्शी बनेको, जघन्य हत्याका कारण पारिवारिक वियोगको शिकार भएको, बाल्यकालमा कुनै किसिमको दुर्व्यवहार झेलेको, किशोरावस्थामा आउने उत्तेजना, लागुपदार्थको दुर्व्यसनमा परेको, विभिन्न तनावपुर्ण अवस्था, एक्लोपन महसुस गरेका, आर्थिक मनोदशाबाट गुज्रिएकाहरूले जीवनलाई बढि जोखिमपूर्ण ठान्ने गरेका हुन्छन् र उनीहरू आत्महत्याको नजिक पुग्ने गरेका पाइएको छ ।

त्यस्तै, विभिन्न सामाजिक परिवर्तन, सामाजिक भेदभावहरू, सामाजिक द्वन्द्वले पनि आत्महत्यालाई पश्रय दिएको पाइन्छ । पारिवारिक कलह, नैराश्यता, प्रेममा धोका, ब्यवसायिक असफलता, आर्थिक लेनदेन आदि परिवेशले पनि प्रत्यक्ष वा परोक्ष रूपमा आत्महत्यालाई प्रश्रय दिइरहेको पाइन्छ । अमेरिकन फाउन्डेसन फर सुसाइड प्रिभेन्सनका अनुसार विश्वमा जति पनि आत्महत्याका घटनाहरू भएका छन् तीमध्ये आधा घटनाको मूल कारण व्याक्तिगत डिप्रेशन रहेको जनाएको छ । त्यस्तै मनोविश्लेषक वासु आचार्यले आत्महत्यामा डिप्रेसनले प्रत्यक्ष प्रभाव पार्ने उल्लेख गरेका छन् । उनका अनुसार डिप्रेसनबाहेक अन्य कारणहरू, जस्तै– सिजोफ्रेनिया, भ्रम, तनाव, व्यक्तित्व विकास, डर, अश्लिलताको डर, अल्कोहलमा आत्मनिर्भरता, दीर्घरोग आदिले आत्महत्याको जोखिमलाई अप्रत्यक्ष रूपमा प्रभाव पार्दछ । सामान्यतया अस्वाभाविक रूपमा उदास हुनु, भोक र निद्रा नलाग्नु, अनावश्यक रिस उठ्नु, डर चिन्ताले विस्तारै डिप्रेसनतिर डोऱ्याउने र सोही कारण कालान्तरमा आत्महत्यासम्म पुग्ने उनको तर्क छ ।

यस सङ्कटबाट बढेको आत्महत्याको दर आगामी दिनमा अझ बढ्ने निश्चित नै छ । त्यसैले आत्महत्याको यो डरलाग्दो अवस्थालाई गम्भीर रूपमा लिई सोहीअनुसारका कार्यक्रमहरू अगाडि सार्नुपर्ने देखिन्छ । यसलाई रोक्न क्वारेन्टिनमा नै विभिन्न मनोसामाजिक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूको सामाजिक, आर्थिक एवम् मानसिक अवस्थाबारे बुझेर तिनका समस्या वा जोखिमलाई कम गराउने खालको कार्ययोजना स्थानीय सरकाका साथै केन्द्र सरकारले पनि गर्नु अपरिहार्य बनेको छ ।

आधुनिकतासँगै मानिसका चाहनाहरू पनि परिवर्तन हुँदै गएका छन् । सञ्चारका साधन एवम् सवारीसाधनहरू सोहीअनुसार विकसित भइरहेका छन् । मानिसका रहनसहनमा पनि व्यापक परिवर्तन हुँदै आएको छ । आफ्नो सर्कलका साथी–सङ्गीहरूले दर्शाउने तडकभडकयुक्त जीवनशैलीको अनुशरण गर्न खोज्दा आर्थिक अभाव हुन पुग्छ र सोहीअनुसारका कुराहरू परिपूर्ति गर्न असम्भव जस्तै हुन्छ, अनि सो स्थितिमा मानिस विस्तारै आत्महत्याको नजीक पुग्ने गरेको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मनोचिकित्सक डा. सरोज ओझाको भनाइलाई आधार मान्दा आत्महत्यालाई जहिले पनि मनोवैज्ञानिक र सामाजिक पक्षले प्रभाव पार्दछ । उनका अनुसार जन्मदेखि नै मानिसमा शारीरिक विकाससँगै मानसिक विकास पनि हुने गर्दछ । मानसिक विकास कमजोर भयो भने पनि उक्त व्यक्ति आत्महत्या गर्ने स्थितिसम्म पुग्ने गर्दछ । केही समयअगाडि ललितपुरमा ११ वर्षे बालकले आत्महत्या गरे । यो घटनाको अध्ययन गर्दा सो बालकले घर, विद्यालय, टोल आदिमा माया नपाएर आत्महत्या गरेको ठहर भयो । यसलाई सामाजिक पक्षका कारण भएको आत्महत्या भनेका छन् डा. ओझाले ।

विभिन्न समयमा आउने अप्रत्यासित सङ्कटहरूले पनि आत्महत्याको दरलाई अप्रत्यासित रूपमा बढाएको पाइएको छ । सामान्यतया सङ्कटको अवस्थामा मानसिक अवस्था कमजोर हुन्छ र उनीहरूले विभिन्न किसिमका तनाव बढि नै झेल्नुपर्ने या सहन गर्नुपर्ने हुन्छ । सो सहन गर्न सक्ने क्षमता सबैमा बराबर हुँदैन । जसको सहन क्षमता कम हुन्छ ती विस्तारै आत्महत्याको नजिक पुगेका विभिन्न अध्यययनले देखाएको छ । कोरोनाको महामारीअघि हामीले भूकम्पको सङ्कट पनि झेलिसकेका छौँ । भूकम्प जानुभन्दा तीन महिनाअगाडिको आत्महत्याको दर र भूकम्पपश्चात् तीन महिनापछिको आत्महत्याको दरमा ४१ प्रतिशतले वृद्धि भएको प्रहरीको प्रतिवेदन हेर्दा पनि सङ्कटले आत्महत्याको परिणाम नसोचेको मात्रामा बढाउने देखिन्छ ।

यतिबेला हामी कोरानाबाट नराम्रोसँग थलिएका छौँ । क्वारेन्टिनमा नै दैनिकजसो आत्महत्याका घटना घटिरहेका छन् । यस सङ्कटबाट बढेको आत्महत्याको दर आगामी दिनमा अझ बढ्ने निश्चित नै छ । त्यसैले आत्महत्याको यो डरलाग्दो अवस्थालाई गम्भीर रूपमा लिई सोहीअनुसारका कार्यक्रमहरू अगाडि सार्नुपर्ने देखिन्छ । यसलाई रोक्न क्वारेन्टिनमा नै विभिन्न मनोसामाजिक कार्यक्रमहरू सञ्चालन गरी उनीहरूको सामाजिक, आर्थिक एवम् मानसिक अवस्थाबारे बुझेर तिनका समस्या वा जोखिमलाई कम गराउने खालको कार्ययोजना स्थानीय सरकाका साथै केन्द्र सरकारले पनि गर्नु अपरिहार्य बनेको छ ।