नेवि सङ्घको मौन प्रदर्शनमा कांग्रेस नेताद्वारा दुर्व्यवहार

नेवि सङ्घको मौन प्रदर्शनमा कांग्रेस नेताद्वारा दुर्व्यवहार


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुले नेवि सङ्घ केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका छन् । नेवि सङ्घका नेताहरुले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेवि सङ्घको वर्तमान केन्द्रीय समितिलाई पूर्णता दिन माग गरेका हुन् ।

नेवि सङ्घका अध्यक्ष नैनसिंह महरको नेतृत्वले विधानअनुसार महाधिवेशन गर्न नसकेपछि पार्टीले राजीव ढुङ्गानाको अध्यक्षतामा नेविसङ्घ गठन गरेको थियो । कांग्रेसले ढुङ्गानाको नेतृत्वमा ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि समिति गठन गरे पनि उक्त समितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

संघका पूर्व केन्द्रीय कोषाध्यक्ष शिव रिमालको नेतृत्वमा कांग्रेस केन्द्रिय कार्यालय पुगेर मौन प्रर्दशन गर्द कांग्रेसका नेता र विद्यार्थी नेताबीच हात हालाहालको स्थितिसमेत सिजर्ना भएको थियो । नेवि संघका कार्यकर्ता सानोपामा कालो पट्टी बाँधेर मौन प्रदर्शन गर्दै गर्दा कांग्रेस सभापति देउवानिकट केन्द्रीय सदस्य वीरबहादुर बलायरले मौन प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुमाथि दुर्व्यवहार गर्न खोजेका प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।

संघका नेता रिमालले महाधिवेशन गर्नका लागि पार्टीले १२७ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरे पनि हाल १० जना मात्र बनाउनु दुःखद् भएको बताए । पार्टीले ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समिति गठन गरे पनि पाँच महिना बितिसक्दासमेत नेविसङ्घले पूर्णता पाउन नसक्नु विडम्बना भएको उनको धारणा छ ।

नेवि सङ्घभित्र हाल एक अध्यक्ष, दुई उपाध्यक्ष र आठ महामन्त्री मात्र रहेका छन् । यस्तै विद्यार्थी नेताहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीभित्रका भ्रष्टाचार नेतालाई कारवाही गर्न माग गर्दै आन्दोलनसमेत गरेका छन् ।