रातो मच्छिन्द्रनाथको रथारोहण असार २४ गते बुधबार

रातो मच्छिन्द्रनाथको रथारोहण असार २४ गते बुधबार


‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहण यही असार २४ गते हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार (२४ असार) उत्तम साइत रहेको ठहर गरेसँगै मच्छिन्द्रनाथलाई रथमा विराजमा गराउन लागिएको हो ।

सो दिन ४ बजेर ४२ मिनेटमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइने तय भएको छ । यसबारे जानकारी दिँदै पानेजु हेमबज्र बाजाचार्यले भन्नुभयो, ‘हाल तःबहालस्थित पाटीमा रहेका मच्छिन्द्रनाथलाई चारचार जना पुजारी मिलेर बाजागाजा, पूजापाठ र नीतिनियमका साथ पुल्चोकमा रहेको रथमा विराजमान गराइन्छ ।’

सो दिन मच्छिन्द्रनाथलाई रथमा राख्ने तयारीका साथ हाल धमाधम रथ निर्माणको काम भइरहेको बज्राचार्यको भनाई छ ।

जात्रा अघि बढाउन ललितपुरका विभिन्न सङ्घसंस्थामा आबद्ध व्यक्ति, धार्मिक सङ्घसंस्था र स्थानीय व्यक्तिले विशेष पहल गरेका छन् । विगत वर्षमा मच्छिन्द्रनाथलाई रथमा विराजमान गराएको चार दिनपछि रथ तानेर गाःबहाल हुँदै अन्त्यमा जावलाखेल लगेर जात्रा देखाउने चलन रहँदा यस वर्ष के गरिन्छ भन्ने टुङ्गो लागिसकेको छैन ।

हरेक वर्ष वैशख शुक्ल प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलन छ । यस वर्ष भने यही असार १० गतेदेखि मच्छिन्द्रनाथको रथ निर्माण गर्ने काम अघि बढेको हो । काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथयात्रापछि भोटो जात्रा हुन्छ ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि रिसले उनले पशुपति मृगस्थलीमा नवनागलाई आफ्नो आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका राजा बन्धुदत्त आचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।