गायकको मृत्युसम्बन्धी विवादमा इथियोपियामा एक हप्तामा १६६ जनाको मृत्यु

गायकको मृत्युसम्बन्धी विवादमा इथियोपियामा एक हप्तामा १६६ जनाको मृत्यु


इथियोपियाली लोकप्रिय गायकको मृत्युका विषयमा भएको विवाद हिंसात्मक झडपमा परिणत हुँदा इथियोपियाको ओरोमिया क्षेत्र र राजधानी अदिस अबाबामा कम्तीमा १६६ जनाको मृत्यु भएको बताइएको छ ।

अरोमिया क्षेत्रका प्रहरी उप–आयुक्त गिरमा गेलमले झडपमा कम्तीमा १५६ सर्वसाधारण र ११ सुरक्षाकर्मीको मृत्यु भएको शनिबार राति सञ्चारमाध्यमहरूलाई जानकारी गराएका सिन्ह्वाले जनाएको छ ।

प्रहरीले गत मङ्गलबार अदिस अबाबामा भएका विभिन्न झडपमा कम्तीमा १० प्रदर्शनकारी र दुई प्रहरी अधिकारीको मृत्यु भएको जनाएको थियो ।

इथियोपियाका जनजातीहरूको अधिकारका लागि गाउने गरेका हाचालु हुन्देसाको मृत्युलाई लिएर उक्त समुदायले गरेका विरोधका कार्यक्रमले हिंसात्मक स्वरूप लिएको हो ।

हुन्देसाको गायनबाट उठेको सांस्कृतिक चेतनाको बलमा उठेको आन्दोलनले सन् २०१८ मा तत्कालीन प्रधानमन्त्रीले सत्ता छोड्न बाध्य पारेको थियो । हुन्देसालाई अज्ञात व्यक्तिले गत सोमबार गोली हानी मारेको थियो ।

उनको मृत्युपछि राजधानी अदिस अबाबा र ओरोमिया क्षेत्रमा रहेका आदिवासी जनजातीहरूले हुन्देसाको हत्यामा सम्लग्न व्यक्तिको खोजी गरी कानूनी कारबाहीका लागि आन्दोलनमार्फत् दबाब सिर्जना गर्दै आएका थिए । सञ्चारमाध्यमका अनुसार आन्दोलन चर्किदै गएपछि इथियोपियाका केही क्षेत्रमा इन्टरनेट सेवा काटिएको छ ।

हिंसात्मक आन्दोलनमा सहभागी भएको आरोपमा कम्तीमा दुई हजार २०० व्यक्तिलाई नियन्त्रणमा लिइएको सरकारी अधिकारीहरूले बताएका छन् । आन्दोलन र झडपका घटना शनिबारदेखि नियन्त्रणमा आएको बताइएको छ ।