पृथ्वी पूर्ववत् अवस्थामा फर्कने आशा

पृथ्वी पूर्ववत् अवस्थामा फर्कने आशा


■ देवप्रकाश त्रिपाठी

भोलिपल्ट बिहान, सूर्य निकै माथि आइसकेको थियो । रातिको लामो संवाद आज उनीहरूको लामो सुताइको कारण बन्यो । अन्दाजी नौ बजेको हुँदो हो । निराकार अचानक बिउँझिन् र ढिलो भएको ठानी हस्याङफस्याङ गर्दै उठिन् । अभ्यस्ततर्फ यसो दृष्टि फ्याँकिन्, ऊ मस्त निद्रामा थियो । उठाउने मनसायले अघि बढ्न खोजिन् तर के सोचेर हो कुन्नि, तुरून्तै रोकिइन् । फरक्क फर्केर बाहिर निस्किन् र नित्यकर्मका लागि नजिकै रहेको झरनाको आसपास लागिन् ।

झन्डै एक घन्टाजति पछि फर्कंदा पनि अभ्यस्त निदाइरहेकै थियो । आज खानेकुराका लागि दुःख थिएन । अघिल्लो दिन पोलेर राखिएका खानेकुराहरू नै पर्याप्त थिए ।

उनी अभ्यस्तको नजिकै गइन् र थचक्क बसिन् । ऊतिर हेर्दै उनले सोच्न थालिन्, ‘पहिलेको अवस्था भए मैले उसलाई पढाइ–लेखाइ गराएकी हुन्थेँ । यो उमेरमा ऊ साथीहरूसँग कति रमाइलो गरेर दिनहरू बिताइरहेको हुने थियो । उसको प्रेम–प्रसङ्ग पनि सुरू भइसक्थ्यो । कसलाई प्रेम गर्थ्यो होला उसले ?’

सजल र निराकार सँगै पढेका साथी । उनीहरूबीच गहिरो मित्रता थियो । सजलको अमिरीसँग प्रेम–सम्बन्ध नरहेको भए निराकारको विवाह उसैसँग हुन सम्भव थियो ।

सजलले एक त्यस्ती केटीलाई अपनाएका थिए जसको पितामाताबारे कसैलाई पनि जानकारी थिएन । एक पर्यटककी छोरी भन्ने गर्थे उनलाई मानिसहरू । गुुजरात घुम्न आएका जोडी छोरीलाई होटलमा एक्लै छोडेर बेपत्ता भएका थिए । अमिरी अत्यन्त सरल तर तीक्ष्ण थिइन् । पत्नीका रूपमा अमिरीलाई अपनाउन पाउँदा सजल हर्षित थियो । उनीहरूबाट एक छोरी ‘चुनी’ जन्मिएकी थिइन् । चुनीसँग भविष्यमा आफ्ना छोरा अभ्यस्तको विवाह गराएर सजलसँगको सम्बन्धलाई जीवित राख्न चाहन्थिन् निराकार । बारम्बार सजलको घरमा जाने र चुनीलाई काखमा लिने गर्थिन् उनी ।

निराकारका दुवै आँखा बन्द भए ।

घरअगाडिको बगैंचामा अभ्यस्त र चुनी अचानक देखा परे । उनीहरू प्रेमालापमा मग्नमै देखिन्थे । कुरैकुरामा अभ्यस्तले चुनीलाई आफ्नो छातीमा टाँस्यो र टाँसिरह्यो, निराकारले तिनलाई हेरिरहन चाहिनन् । दुईबीचको मित्रता प्रेममा परिणत भएको महसुस गरिन् उनले । निकै खुसी भइन् निराकार ।

यस अवसरमा यी दुवैलाई कुनै उपहार दिनु उपयुक्त ठानिन् निराकारले ।

ग्यारेजबाट गाडी निकालिन् र कम्पाउन्डबाट बाहिर आइन् । तेज गतिमा आइरहेको अर्को गाडीले उनको गाडीलाई ठक्कर दियो, निराकार चिच्याइन् । उनको आँखा खुल्यो तन्द्रा मात्र रहेछ ।

अभ्यस्त कोल्टे फर्कियो, उसको निद्रा अझै हटेको थिएन । निराकारले सुतिरहेको अभ्यस्तको कम्मरमा हात राखिन् र सोच्न थालिन्, ‘यसका अनेकौँ आकाङ्क्षा होलान् । पहिले यो पृथ्वीमा आकाङ्क्षाहरू पूरा गर्ने अवस्था पनि हुन्थ्यो, यहाँ त केही छैन, कोही छैन । म छु, म उसको सबै प्रकारका आवश्यकता पूर्ति गर्न असमर्थ छु । उनले आफ्नो हात छोराको कम्मरबाट उठाएर उसको शिरमा पऱ्याइन् । कपालभित्र औंलाहरू घुसाएर सुमसुम्याउन थालिन् । मीठो स्पर्शले अभ्यस्तको आँखा खुलायो । आमाको हातमा च्याप्प समातेर भन्यो, ‘ओहो, निकै ढिला भइसकेछ, मलाई किन नउठाइदिएको ?’

निराकारले भनिन्, ‘म तिम्रो निद्रा पूरा होस् भन्ने चाहन्थेँ । उठ नित्य कर्म गरेर आऊ । अब खानेकुरा खानुपर्छ ।’

‘ऊ उठ्यो, छहरातिर गयो । निराकार पनि झोपडीबाट बाहिर निस्केर प्रकृतिको रसस्वादन गर्न थालिन् । केहीबेरपछि अभ्यस्त फर्कियो । अनि दुवैजना भोजन गर्न लागे । चिसो खाना झन् मीठो भयो– उनीहरूले खानेकुराको बारेमा निष्कर्ष निकाले ।

परिकार एउटै मात्र, पोलेका माछा थिए, बडो स्वादले खाए उनीहरूले र एकैछिनमा सिध्याए पनि, त्यसपछि दुवै बाहिर निस्किए । हेमन्त सुरू हुन अझै समय बाँकी थियो, तर मौसम र प्राकृतिक दृश्यको आलिङ्गन यस्तो लाग्थ्यो– सम्पूर्ण आनन्द यहीँ पृथ्वीमा ओइरिएको छ ।

निराकारले मन थाम्नै सकिनन्, ‘अभ्यस्त आज हामी अलिक टाढा–टाढासम्म घुम्न जाऊँ ।’ अभ्यस्तले असहमति जनाउनुपर्ने कारण थिएन, उसले सहर्ष स्वीकार गरिहाल्यो ।

दुवैजना बाटो लागे ।

मैदानमा पुग्न लामो यात्रा तय गर्नुपर्ने अवस्था थिएन । उनीहरू एकै क्षणमा मैदानमा पुगे । जमिनमा बिरूवाहरू अङ्कुरित भएको पाँच वर्ष नाघिसकेको थियो । ती अब हलक्कै बढेछन् । बाटो छिचोल्न मुस्किल हुने गरी बोटबिरुवाहरू उम्रिएको मैदानलाई छिचोल्दै उनीहरू पश्चिमतिर लागे । मैदानी भागको दक्षिण र पूर्वतर्फ समुद्र फैलिएको हुनाले उनीहरू त्यता लागेनन् ।

जमिनमा नयाँ केही फेला पर्ने हो कि भन्ने आशाले पनि उनीहरू समुद्रभन्दा जमिनतिर नै बढी आकर्षित भएका थिए । बाटो थिएन, त्यसैले यात्रा कठिन थियो । दुवैजना एकअर्काका हात समातेर अघि बढे, हातले एक अर्कालाई भर दिइरहेको थियो ।

उनीहरू निकै अघि बढिसकेका थिए । जति टाढा गयो उति ठूला रूखहरू भेटिन्थे । जङ्गलमा कीरा–फट्याङ्ग्राहरू पनि देखापर्न थालेका रहेछन् । अब फेरि पृथ्वी पूर्ववत् अवस्थामा नै फर्कने भयो भनेर निराकार मनमनै प्रशन्न भइन् ।

फर्कने त भयो, तर मानिसको भविष्यचाहिँ ? हो, यही प्रश्नमा पुगेर उनी झसङ्ग भइन् ।

हिँड्दै गर्दा रूखहरूको छेलोभित्र अलिक टाढा केही चम्किलो वस्तुमा आँखा पऱ्यो निराकारको । अभ्यस्तलाई देखाउन भनी यसो लम्कन खोज्दा एउटा लहरामा उनको गोडा अल्झियो, उनी भुइँमा ढल्न खोजिन् । अभ्यस्तले जमिनमा बज्रनबाट आमालाई जोगायो । आफ्ना दुवै बाहुले समातेर आफूतिर तान्दै बेस्सरी अँठ्याएपछि निराकार भुइँमा ढल्नबाट जोगिइन् ।

निराकारले सेतो–चम्केको ठाउँतिर अभ्यस्तको ध्यान आकर्षित गरिन् । दुवै त्यतैतिर बढे । करिब बीस मिनेटको हिँडाइमै उनीहरू गन्तव्यमा पुगे । एउटा कृत्रिमजस्तै लाग्ने ढिस्को । त्यसमाथि विभिन्न किसिमका लहरे बिरूवाहरूले ढाकेको । सेतो टल्किएको देखिएको चाहिँ भाँडाकुँडाहरू रहेछन् । अलिक पर मानिसको अस्थिपञ्जरका टुक्राहरू यत्रतत्र छरिएका । उनीहरूले लहराहरू हटाए, त्यस क्रममा फर्सीहरू पनि देखिए । त्यसलाई टिपेर राखे । सबै लहराहरू जतनले पन्छाइसकेपछि ढिस्कोमा खोस्रिए उनीहरूले । घर बनाउन प्रयोग हुने काठहरू निस्किए । अनि मानिसले खेती लागि प्रयोग गर्ने औजारहरू पनि त्यहाँ प्राप्त भए । उनीहरू दुवैै अत्यन्तै उत्साही र खुसी देखिए त्यसबेला । खुसी हुनु स्वाभाविक पनि थियो । उनीहरूको उत्खनन् जारी रहयो ।

साँझ पर्न लागिसकेको हुनाले उनीहरूले काम रोके । प्राप्त सामग्रीहरू एकै ठाउँमा थुपारेर उनीहरू केही परतिर लागे । साथमा प्राप्त फर्सी पनि लगे । अलिक उच्च भागमा स्याउलाहरू ओछ्याए र रात काट्ने व्यवस्था मिलाए । धेरै समयपछि आज उनीहरूको खानेकुरा साकाहारी थियो । दुवैले पेटभरि फर्सी खाए र स्याउलाको ओछ्यानमा सुते । दिनभरिको थकानका कारण यो रात उनीहरूबीच सम्वाद पनि हुन सकेन । सुत्नेबित्तिकै निद्रामा परे ।
(क्रमशः)

यसअघिको खण्ड हेर्नुहोस् –

‘सिङ्गै ब्रह्माण्ड एकै सूत्रबाट सञ्चालित’