सत्तासीन नेकपाको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित

सत्तासीन नेकपाको स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित


अन्तरपार्टी विवादका कारण चासो र चर्चाको केन्द्रमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार (२० असार) ११ बजे बस्ने भनिएको पाँचौँ बैठक यही असार २२ गते (आगामी सोमबार) सम्मका लागि स्थगन गरिएको छ ।

नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले दिएको जानकारीअनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएको समस्या समाधान गर्न थप छलफल गर्नुपरेकाले बैठक स्थगन गरिएको हो ।

नेकपाको स्थायी कमिटी बैठक पार्टी एकता, सरकारको कामको समीक्षा, मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) संविधान संशोधनलगायत विषयमा छलफल गर्नका लागि यही असार १० गतेदेखि जारी रहेको छ ।

बैठकमा ४५ स्थायी कमिटी सदस्य र पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगका अध्यक्ष ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजक र सल्लाहकार परिषद्का संयोजकसहित ५० जनाको सहभागी रहेको छ । बैठकमा अहिलेसम्म ३७ जनाले आआफ्नो धारणा राखिसकेका छन् ।

तर, आन्तरिक कलहका कारण बैठक बीचबीचमा स्थगित गरिएको छ भने यसबीच पार्टी फुट्न सक्ने चर्चासमेत व्यापक मात्रामा चलेका छन् ।