१५ अगस्टका दिन कोरोनाविरुद्धको भ्याक्सिन लन्च गर्ने दाबी

१५ अगस्टका दिन कोरोनाविरुद्धको भ्याक्सिन लन्च गर्ने दाबी


कोरोना भाइरसबाट विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या १ करोड १० लाखभन्दा पनि ज्यादा पुगेको छ भने ५ लाख २३ हजारभन्दा धेरैले यसको चपेटामा परेर ज्यान गुमाएका छन् ।

यस क्रममा इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले आगामी अगस्ट १५ का दिन कोरोना भाइरसको भ्याक्सिन लन्च गर्ने जनाएको छ । जबकि कोभिड–१९ माथि नियन्त्रणको लागि यतिबेला विश्वभरका लगभग एक सय बीस वटा मेडिकल टिम आ–आफ्नो हिसाबले रिसर्चमा लागिरहेका छन् । तर, कसैलाई उल्लेखनीय सफलता भने मिलेको छैन ।

यस्तो परिस्थितिमा भारतमै गरिएको अनुसन्धानका आधारमा ‘भारत बायो टेक’ नामक औषधि कम्पनीले कोरोनाविरुद्धको भ्याक्सिन तयार गरेको र भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर उक्त भ्याक्सिन लन्च गरिने दाबी गरेको छ ।

तर, स्वास्थ्य विज्ञहरूले यस दाबीमाथि सवाल उठाएका छन् । भ्याक्सिन तयार गर्न जति समय आवश्यक पर्छ र जे–जस्ता प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ, के त्यसको पालना गरिएको छ ? भन्ने सवालसहितको आशङ्का उनीहरूले गरेका छन् । भ्याक्सिन पत्ता लाग्छ भने पनि कम्तीमा आगामी नोभेम्वर या डिसेम्बरयता त्यो सम्भव नहुने भन्दै विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले आफ्ना पटक–पटकका अभिव्यक्तिहरूमा भ्याक्सिन पत्ता लाग्ने कुरामै सन्देह रहेको धारणाका साथ निराशा प्रकट गर्दै आएका छन् ।