कोरोना महामारीले समस्यामा पारेपछि पत्रकार महासङ्घद्वारा प्रदर्शन

कोरोना महामारीले समस्यामा पारेपछि पत्रकार महासङ्घद्वारा प्रदर्शन


कोरोना महामारीमा समस्यामा परेका श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको माग गर्दै सञ्चारकर्मीहरू प्रदर्शनमा गरेका छन् । नेपाल पत्रकार महासङ्घको अगुवाईमा आयोजित प्रदर्शनमा सहभागीले ‘पत्रकारको विचल्लीमा कति कोरोना कति बहाना’, ‘श्रमजीवी पत्रकारको पक्षमा निर्णायक आन्दोलन गरौँ’, ‘कोरोनामा पहिलो प्रहार पत्रकारमाथि किन’, ‘श्रमजीवी पत्रकारको पेशागत अधिकार रक्षा गर’ र ‘श्रमजीवी पत्रकार ऐन पूर्ण रूपमा कार्यान्वयन गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर शुक्रबार बबरमहलमा प्रर्दशन गरेका हुन् ।

सो अवसरमा महासङ्घका अध्यक्ष गोविन्द आचार्यले मिडिया हाउसले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुको सट्टा उल्टै काम गरिरहेका श्रमजीवी पत्रकारलाई निष्काशन गरेर अन्याय गरेको र त्यसको विरुद्धमा कडाभन्दा कडा सङ्घर्षका लागि सबैलाई आह्वान गर्नुभयो ।

महासचिव रमेश विष्टले मिडिया हाउसले कोरोना महामारीको बहाना बनाउँदै धमाधम पत्रकारलाई निष्काशन गर्ने काम गरेकोमा आपत्ति जनाउँदै पत्रकारको पेशागत सुरक्षाका लागि महासङ्घले चरणबद्ध आन्दोलन शुरु गर्ने बताउनुभयो ।

महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारका कारण करोडपति बनेका मिडिया सञ्चालकले पत्रकारको पेटमा लात हानेको भन्दै त्यो मान्य नहुने बताउनुभयो ।

प्रेस सङ्गठनका संयोजक महेश्वर दाहालले कोरोनाको बहानामा पत्रकारको पसिनाको परिश्रम नदिने मिडिया सञ्चालकलाई कुनै पनि वाहानामा नछोड्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिंग्देलले पत्रकारको हकहितका लागि सञ्चारगृह मात्रै नभई मिडिया सञ्चालकको घरमै गएर आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितलगायत पत्रकारितासंग सम्बन्धित विभिन्न सङघ सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले श्रमजीवी पत्रकारको पेशागत अधिकार र सुरक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।


pict: rss