दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्वार

दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्वार


भारतको दिल्लीमा अलपत्र परेका ६ नेपाली महिलालाई शुक्रबार (१९ असार) उद्धार गरिएको छ । गत फागुन २९ गते नेपालगञ्जको नाका हुँदै भारत प्रवेश गरेका उनीहरुलाई तेस्रो मुलुक पुर्‍याइदिने भनी भारतको परारी जोरदा भन्ने ठाउँमा पुर्‍याइएको थियो ।

शान्ति पुनःस्थापना गृहको पहलमा उनीहरुलाई कृष्णनगर नाका हुँदै नेपाल प्रवेश गराइएको छ । मोरङका चार तथा झापा र पर्वतका एकएक महिलालाई उद्धार गरिएको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिए ।

महिलालाई कुवेत र इरानमा निःशुल्क पठाइदिने भनी भारतको कोठीमा थुनेर राखेको सूचनाका आधारमा त्यहाँ रहेका देशभक्त आवाज सामाजिक संस्थाको समन्वयमा उद्धार गर्न सफल भएको उनको भनाइ थियो । ती महिलालाई प्रलोभनमा पार्नेमा एक महिला र अर्का एक पुरुष रहेको भन्ने सूचना प्राप्त भएको र थप अनुसन्धान भइरहेको भट्टराईले बताए । गृहका कपिलवस्तु संयोजक निशा पन्थीका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्युरो काठमाडौं पठाइएको छ ।