पाल्हीनन्दनद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

पाल्हीनन्दनद्वारा नेपाल प्रहरीलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण



आरपी उपाध्याय,
नवलपरासी

नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाहरुको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ ।

वर्षेनी डुबानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरीद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता (दीपक)ले बताउनुभयो । विपद् व्यवस्थापन सामग्रीको सहायताले विपद्को घटना हुँदा उद्धारका लागि खटिने सुरक्षाकर्मीलाई सहज हुने अध्यक्ष गुप्ताले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गुप्ताले लाइफ बुवरी रिङ्ग एक थान, मेगा फोन एक थान, आरी एक थान, हेल्मेट दश थान, स्टेचर एक थान, रिफ्लेक्टिङ ज्याकेट ६ थान, फायर बल चार थान, हेल्मेट डिजाईन ८ थान, गैती चार थान, कोदालो चार थान,लाईफ ज्याकेट ११ थान, बेल्चा चार थान, सर्चलाईट ठूलो तीन थान, सर्चलाइट सानो एक थान, डोरी २० किलो, गमबुट ११ थान गरी १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरी चौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गर्नुभएको गाउँपालिकाका विपद् व्यवस्थापन प्रमुख प्रदीप तिवारीले जानकारी दिनुभयो ।

विभिन्न जातका विरुवा निःशुल्क वितरण

यसैगरी, फलफुल विकासको क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाले विभिन्न जातका विरुवा निःशुल्क वितरण गरेको छ । परम्परागत रुपमा फलफुलको खेती गर्दै आएका किसानहरुलाइ वैज्ञानिक तरिकाबाट फलफुलको खेती गराउने उद्देश्यले बिरुवा वितरण गरिएको गाउँपालिका अध्धक्ष डम्बरबहादुर जिसीले बताएका छन् ।

एक परिवार एक बिरुवा उपलब्ध गराउने लक्ष्यका साथ गाउँपालिकाको सातवटै वडामा आँप , कागती, कटहर, लिचीलगायतका बिरुवा वितरण गरिएको कृषि प्राविधिक मनोज चापागाइँले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक वर्ष ०७६र७७ को वार्षिक बजेटअन्तर्गत साढे तीन लाखको लागतमा ५५०० बिरुवालार्इ गाउाँपालिकाको डाँडाझेरी, सर्दी, दुम्कीबास, विनयी त्रिवेणीको वडा नम्बर ६ र ७ मा एक कार्यक्रमको आयोजना गरी फलफुलको बिरुवा वितरण गरिएको कृषि शाखाले जनाएको छ । फलफुल प्रवर्द्धन गर्ने उद्देश्यले वितरण गरिएको फलफुलका बिरुवाबाट गाउँपालिकाको सातै वटा वडामा सकारात्मक सन्देश पुगेको विश्वास गाउँपालिकाले लिएको छ ।