तीन दिन देशभर बदलीसहित वर्षा हुने

केही स्थानमा भारी वर्षाको सम्भावना

आगामी तीन दिन देशभर बदलीसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएकाले केही दिन वर्षाको सम्भावना रहेको जानकारी दिँँदै बाढीपहिरोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार आगामी तीन दिन देशभरि नै वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा देशको सबै प्रदेशमा बदली रही मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहनुका साथै प्रदेश १, ५, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाइ यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाँउमा डुबानसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, प्रदेश ५, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा हलकादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । शुक्रबार (१९ असार) अपराह्नपछि देशको धेरैजसो स्थानमा मनसुनी बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुने पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया