सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना

सप्तरीका वडाध्यक्षमा भेटियो कोरोना


सप्तरीका एक जना वडाध्यक्षलाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालका निमित्त प्रमुख दुनियालाल यादवले तिलाठी कोइलाडी गाउँपालिका वडा नं ७ का ५८ वर्षीय वडाध्यक्षमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनी क्वारेन्टिन व्यवस्थापनमा सक्रिय रहँदै आएका थिए ।

उनीसँगै गाउँपालिकाका अन्य वडाध्यक्ष, क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कार्यालय सहयोगीसहित अन्य कर्मचारीको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्ने तयारीसमेत गरिएको प्रमुख यादवले जानकारी दिए ।

सो वडाको क्वारेन्टिनमा रहेकामध्ये करिब २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा कोरोनाबाट १३९ जना निको भई घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. रञ्जित झाले बताए ।