विवाद नगरौँ न साथी हो !

विवाद नगरौँ न साथी हो !


■ सुशील देवकोटा

सकारात्मक परिणामको लागि बाहेक विवाद कुनै पनि क्षेत्रमा र कहीँ पनि हुनु राम्रो पटक्कै होइन । विवादले विवाद नै बढाउँछ र जन्माउँछ– रिस, राग र वैमनस्यता ! झन् सृजनशील व्यक्ति वा कलाकारहरू विवादमा लाग्नु भनेको त उनीहरूलाई मात्रै होइन त्यो सृजना तथा कलाको उपयोग र उपभोग गर्नेहरूलाई समेत ठूलो घाटा हो । किनभने, जब एउटा स्रष्टा, सृजनशील व्यक्ति र कलाकार विवादमा फस्छ तब त्यो विवादले उसको सृजना र कलामा कतै न कतै केही न केही नकारात्मक असर पक्कै गर्छ र अन्ततः उ स्वयंको सृजना वा कलाको स्तर खस्कने सम्भावना त रहन्छ नै, उसका सृजना र कलामा रमाउनेहरू पनि निराश हुन थाल्छ्न् । परिणामतः त्यो स्रष्टा, सृजनशील व्यक्ति र कलाकारको लोकप्रियतामा ह्रास आउँछ । उपभोक्तालाई खासै फरक पर्दैन, उनीहरूले त यदि त्यो स्रष्टा र कलाकारबाट आफूले चाहेको जस्तो सृजना र कला पाएनन् भने अर्को स्रष्टा र कलाकार खोज्छन् र रोज्छन् र उसको कलामा रमाउन थाल्छन् । तर, स्रष्टालाई र कलाकारलाई फेरि आफ्नो त्यो साख बनाउन कहिलेकाहीँ त कठिन मात्रै होइन असम्भव नै हुन्छ ।

यतिबेला हाम्रो सानो देशको सानो कला क्षेत्र पनि यस्तै विवादमा तानिएको छ । उसको उसँग विवाद, उसको उसँग विवाद !! अनि विवादको कारण के भन्दा कतै जिब्रो चिप्लिएको त कतै ज्ञानको कमी छचल्किएको । कतै आचरणमा ओढिएको आवरण खुस्किएको त कतै घमण्ड उर्लिएको !!

आचरण र घमण्डलाई एकातिर पन्छाउँदै धैर्य र आत्मविश्वासको जग जबसम्म मजबुत बनाइँदैन तबसम्म यस्ता विवाद फेरि पनि हुनेछन् भन्ने कुरामा ढुक्क हुँदा कुनै फरक नपर्ला ।

स्रष्टा, सृजना र कलाकारभन्दा बृहत क्षेत्र ओगट्ने भएकोले यहाँ यो स्पष्ट गर्न जरुरी ठानेको छु कि यस लेखमा कलाकार भन्नाले चलचित्र कलाकार, गायक, गीतकार र संगीतकारलाई समेट्ने जमर्को गरिएको छ ।

अन्यत्र जस्तै चलचित्र क्षेत्रमा पनि विवादको मुख्य कारण भनेको तँ ठूलो कि म ठूलो भन्ने अहम्, तँ राम्रो कि म राम्रो भन्ने भावना, तेरो फिल्म राम्रो कि मेरो फिल्म राम्रो भन्ने अस्वस्थ्य प्रतिस्पर्धा, अर्काको फिल्म नचल्दा खुशी हुने मात्र नभइ साथीभाइ बसेर खुशीयाली मनाउने आचरण र कतिपय मानिसको कुरौटे प्रवृत्ति नै हो । फरक एउटै के हुन्छ भने अन्यत्र पनि यस्ता कुरा हुन्छन् भैरहेका हुन्छन् तर ती आममानिसको चासोभित्र नपर्ने हुनाले बजारमा कि त आउँदैनन् आए पनि यस प्रकारले आउँछन् कि धेरैजसो आममानिसले तीनलाई सामान्य घटनाको रुपमा लिन्छन् र हप्ता दिन हुँदा–नहुँदा धेरैजसो मनिसले त त्यस्ता घटना बिर्सिसकेका पनि हुन्छन् ।

अन्यत्र जस्तै चलचित्र क्षेत्रमा पनि विवादको मुख्य कारण भनेको तँ ठूलो कि म ठूलो भन्ने अहम्, तँ राम्रो कि म राम्रो भन्ने भावना, तेरो फिल्म राम्रो कि मेरो फिल्म राम्रो भन्ने अस्वस्थ्य प्रतिस्पर्धा, अर्काको फिल्म नचल्दा खुशी हुने मात्र नभइ साथीभाइ बसेर खुशीयाली मनाउने आचरण र कतिपय मानिसको कुरौटे प्रवृत्ति नै हो ।

तर, चलचित्र क्षेत्र र त्यसका कलाकारप्रति आममानिसको चासो धेरै रहने हुनाले त्यस क्षेत्रमा विवाद भयो भने त्यो सामान्य घटनाको रूपमा रहनै पाउँदैन । दुई वटा कलाकारको सामान्य भनाभन भएको छ भने पनि त्यो घटना बजारमा आइपुग्दा कहिलेकाहीँ त यस्तो रूपमा आइपुग्छ कि उता ती दुई कलाकारले सँगै बसेर चिया पिउँदै त्यो समाचार हेर्दा आफैं अन्यौलमा पर्छन् कि के साँच्चै हामीबीच यो समाचारमा लेखिएको वा भनिएको जस्तै विवाद भएको थियो त ?

यस्तो हुनुमा अथवा अति सामान्य घटनासमेत असामान्य जस्तो भएर आममानिसमा पुग्नुमा दोषी को त ? यो प्रश्न आफैंमा एउटा विवाद सृजना गर्ने सवाल बन्छ । कलाकारलाई सोधे उनीहरूले पत्रकारलाई दोष दिन्छन् र पत्रकारलाई सोधे उनीहरूले ठाडै दोष कलाकारलाई दिन्छन् । तर प्रश्न ज्यूँकात्यूँ रहन्छ कि– दोषी को त ??

यहाँ दुवै पक्ष (कलाकार र पत्रकार) ले हामी दुवै एकअर्काका परिपुरक हौँ भन्ने बुझ्न जरुरी छ । दुवैको अभावमा दुवैको क्षेत्र सङ्कटमा पर्छ । जसरी कलाकारलाई आफ्नो कलाको प्रचारप्रसार गर्न सञ्चारकर्मीको आवश्यकता पर्छ त्यसैगरी सञ्चाकर्मीलाई समाचार बनाउन ती कलाकारको आवश्यक्ता अवश्य पर्छ । पङ्क्तिकार स्वयंले लामो समय चलचित्र पत्रकारिता गरेकोले यो कुरा किटान गरेर भन्न सक्छ कि भेटघाट हुने कुरामा पत्रकारबाट कलाकार वा कलाकारबाट पत्रकार टाढा छैनन् । कतिपयसँग त घनिष्ठ सम्बन्धसमेत हुन्छ र दिनहुुँजस्तो भेटघाट भैरहेको हुन्छ । यस अवस्थामा सानातिना विवादलाई त्यस क्षेत्रभित्रै सुल्झाउन पत्रकारले पनि भूमिका खेल्नुपर्छ भन्ने सोचिन्छ भने गलत नहोला ! त्यस्तै कलाकारले पनि झिनामसिना विवादलाई सार्वजनिक स्थलमा सतहमा नल्याइ छुट्टै कतै एक्लै बसेर सुल्झाउने प्रयासको थालनी गर्दा हरेक सामान्य घटना विवाद बनेर तनाव दिने स्थिति नआउन सक्छ ।

अर्को कुरा सोचको पनि हो । पत्रकारले यदि आजचाहिँ म यो कलाकारलाई विवादमा मुस्छु मुस्छु भन्ने सोचेरै विषयसँग कुनै सम्बन्ध नै नभएको प्रश्न सोध्न थाल्यो भने त्यो बडो जटिल परिस्थिति हुन्छ र त्यसको परिणाम पक्कै राम्रो आउँदैन भने कलाकारले पनि आफूलाई मै हुँ ठूलो भन्ने भावनाले ग्रसित भएर यो पत्रकारलाई मैले अन्तरवार्ता दिएर उमाथि ठूलो गुन लगाएँ भन्ने मानसिकता त्याग्न जरुरी छ । फेरि दोहो¥याए भन्छु– कलाकार र पत्रकार एक अर्काका परिपुरक हुन् तसर्थ दुवैमा स्वस्थ्य सम्बन्ध हुनैपर्छ !!

कला वा कलमले अरुलाई मनोरञ्जनको साथै सही बाटोसमेत देखाउने कर्ममा लागेका हामीले अनावश्यक अहंकार त्यागेर ‘हामी एक हौँ, एकअर्का बिना अधुरा छौँ अपुरा छौँ’ भन्ने सोचेर अगाडि बढ्यौँ भने यो नै सबैको लागि उपयुक्त होला !

यहाँ अर्को स्मरण गर्नैपर्ने कुरो के छ भने देश विदेशमा विविध घटना हुँदा, कुनै लोकप्रिय खेलको प्रतियोगिता हुँदा, चाँडबाड आउँदा ती कलाकारका प्रशंसकले त्यस घटनामा उनीहरूको विचार जान्न चाहन्छन् । त्यस अवस्थामा उनीहरूलाई पत्रकारले त्यस्तो प्रश्न सोध्नु बाध्यता हुन्छ भने कलाकारले पनि त्यस्तो प्रश्नलाई आफूलाई फसाउन सोधिएको नठानी आफ्नो लोकप्रियताको परिणामको रुपमा बुझ्दा राम्रो हुन्छ । कलाकारलाई सार्वजनिक व्यक्तित्व मानिन्छ र सार्वजनिक व्यक्तित्व धारण गर्ने मान्छेले सार्वजनिक विषयमा जथाभावी बोल्नु, हाँसेर टार्न खोज्नु वा बोल्दिन भन्नुको सट्टामा जवाफ दिन गाह्रो परेको वा मन नलागेको अवस्थामा कुटनैतिक तवरले उत्तर दिएर विषयबाट नभाग्नुचाहिँ राम्रो हुन्छ होला !! यसको लागि कलाकार बन्ने वा भनौँ सार्वजनिक व्यक्ति बन्ने चाहना राख्नेले जसरी फिल्मको लागि नृत्य, द्वन्द्व, अभिनय आदिको परीक्षण लिन्छन् त्यसैगरी सार्वजनिक रूपमा के बोल्ने !!

त्यसैगरी सार्वजनिक रूपमा के बोल्ने, कसरी बोल्ने, कसरी प्रस्तुत हुने त्यसको समेत प्रशिक्षण लिँदा राम्रो होला वा स्वअध्ययनले आफूलाई त्यस परिस्थितिको अनुकुल हुने बनाउँदा आफैंलाई राम्रो होला । तर कहिलेकाही देश विदेशमा यस्ता घटना पनि हुन्छन् जसको बारेमा बिना कुनै पूवतयारी आफ्नो धारणा व्यक्त गर्नुपर्ने बाध्यता आउन सक्छ । त्यसको लागि आफूले आफूलाई देश विदेशका समसामयिक घटनामा अपडेटेड राख्नुको अर्को विकल्प छैन ।

कलाकारको अन्तरवार्ता लिँदा ‘ला, अब यो प्रश्नको उत्तर के दिने ? सिकाइदिनुस् न दाइ !’ भनेर कलाकारले उल्टै प्रश्न सोध्ने गरेको अनुभव यस पङ्क्तिकारसँग पनि प्रशस्त छ, तर ती कुन कलाकार थिए र कुन प्रश्नमा त्यसरी सिकाइएको थियो त्यो उल्लेख गर्नु विशेषगरी दुईवटा कारणले अनुचित हुन्छ । एक, उनीहरूको त्यो अन्तरवार्ता लिनु मेरो तत्कालिन पेशाको एक दायित्व थियो र सो काम गरे बापत नै मैले तलब पाउँथे भने दोस्रो हामी परस्पर सहमत भएर एकअर्कालाई अन्तरवार्ता लिने र दिने काम गरेका थियौँ । मतलब त्यतिबेला एकअर्काको स्थिति, परिस्थिति र विचारलाई सम्मान गर्ने अलिखित सहमति गरेका थियौँ । त्यसैले नाम उल्लेख नगरी पनि त्यो कुरा भन्नुको तात्पर्य यो हो कि कहिलेकाहीँ समय अभाव वा अन्य कुनै कारणले विषय तोकेर अन्तरवार्ता लिँदा र दिँदा पनि तैयारी गर्ने समय कलाकारले पाएन भने पनि अन्तरवार्ता लिने काम नरोकियोस् ! अन्तरवार्ता पूरा नभए कहिलेकाहीँ छापिनु पर्ने पत्रिका वा प्रसारण गर्नुपर्ने एपिसोडमै असर गर्ने अवस्था पनि आउन सक्छ ।

सम्मान र समझदारीको अन्त्य भएपछि स–सानो कुरामा विवाद हुने भएकोले अरुलाई आफ्नो कला वा कलमले मनोरञ्जनको साथै सही बाटोसमेत देखाउने कर्ममा लागेका हामीले अनावश्यक अहंकार त्यागेर ‘हामी एक हौँ, एकअर्का बिना अधुरा छौँ अपुरा छौँ’ भन्ने सोचेर अगाडि बढ्यौँ भने यो नै सबैको लागि उपयुक्त होला !