मलाई रुकुम आउनु छ

मलाई रुकुम आउनु छ


■ त्रिभुवनचन्द्र वाग्ले

रुम्टीको बाटो भएर
रुकुम आउन मन छ

अलिकति जातका कुरा गर्नुछ
अलिकति भातका कुरा गर्नुछ
जातभातका कुरा गर्नुछ
मित्रहरू मलाई रुकुम आउनु छ

रुकुममा भातको सपना रोपेर
काठमाडौँमा
सत्ताभत्ता, पाउजु, पजेरो
दोस्ती र दस्तुरको
भकारी थाप्ने महाशयका
प्रतिलिपि अनुहार हेर्न
मित्रहरू मलाई रुकुम आउनु छ ।

समथर जातीय नारा उराल्दै
दुष्मनको जनै चुँडाल्ने
हिट एण्ड रन युद्ध परेडको
अर्धमूर्छित स्वर सुन्न
मित्रहरू मलाई रुकुम आउनु छ ।

छुवाछूतको ऐंजेरु उखेल्न
उचालिएका भाटा
छपक्कै ऐंजेरुले ढोकेका छन्
यी निर्जीव भाटामा
टाँसिएका सजीव आकाङ्क्षा
एम्बुसमा पार्न गरिएको रेकी हेर्न
बाटो बिराएकाहरूले गर्ने
भाटे कारबाही पढ्न
मित्रहरू मलाई रुकुम आउनु छ ।

मान्छे काटेर नफेरिएका मन
नीति घोकाएर नफेरिएका रीति
बन्दुकले नबनाएका बान्धव भेट्न
गोलीले नभरिएका सोली भर्न
मान्छेले नछुने मान्छे हेर्न
आँशुले नधोइएको आँत पुछ्न
मित्रहरू मलाई रुकुम आउनु छ ।

रुक्मेणी मन्दिरमा
बज्ने घण्टीमा
अलिकति मानका,
अलिकति मर्यादाका,
अलिकति सम्मानका कुरा गर्न
मित्रहरू मलाई रुकुम आउनु छ ।

रुक्मेणीको घण्टीमा
हुन्छ भन्नेले हुँदैन भन्नु पर्दैनथ्यो
हुँदैन भन्नेले हुन्छ भन्नु पर्दैनथ्यो
उहाँ र उनीहरूको जातजस्तै
रुकुम र काठमाडौँको भातजस्तै
देवी रुक्मेणी विभाजित छन्
विभाजित मन
विभक्त मन्दिरमा
समानताको सपना भाकल गर्न
मित्रहरू मलाई रुकुम आउनु छ

अलकित भोकका कथा छन्
अलिकति शोकका वर्तमान छन्
बन्दुक र बान्धवका कुरा छन्
मन र दुष्मनका अतीत छन्
गोली र सोलीका सपना छन्
अपूरा डोलीका अनुभव छन्
राप्ती तरेर
मित्रहरू मलाई रुकुम आउनु छ ।