‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’

‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’


प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न पाइँदैन भन्दै बिहीबार माइतीघर मण्डलामा युवाहरुले प्रदर्शन गरेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीका सदस्यहरुले केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक युवाहरुले प्रधानमन्त्री पदबाट हटाउन नहुने भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवाहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

जय महाकाल युवा समूहको नेतृत्वमा आयोजित प्रदर्शनमा सहभागी युवाहरुले ‘जय महाकाल’ लेखिएको टिसर्ट लगाएका थिए । समूहका अध्यक्ष लीलानाथ भण्डारी अर्जुनले प्रधामन्त्रीका केही कमी–कमजोरी भए त्यसलाई सुधारेर जानुपर्ने तर पदबाट हटाउन नहुने बताए ।

देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने उनीहरुको तर्क थियो ।