राजेश हमाल, अमिताभ बच्चन र जोनी लिभर !

राजेश हमाल, अमिताभ बच्चन र जोनी लिभर !


■ राजन घिमिरे

कला फाँटमा नायक त्यो हो जो दमदार अभिनयका अलावा दुनियाँको दृष्टिमा आदर र प्रशंसालायक हुन्छ, आफूले गरिरहेको कर्ममा अरूभन्दा फरक एवम् आकर्षक देखिन्छ । उसको उपस्थिति र प्रस्तुति अरूको भन्दा पृथक बन्न सक्नु अनि पहिचानमा मौलिकता हुनु नायकको विशेष गुण हो । सिनेमाको पर्दामा मात्र होइन, समाजमा पनि यी र यस्ता कुराले नायकत्वको विशेषतालाई परिभाषित गर्ने गर्छ ।

अब सिनेपर्दाको कुरा गरौँ, पर्दामा कुनै पात्रलाई समस्या पर्दा उसको जोडदार उपस्थिति तथा आगमन होस् । कथामा डुबेर दर्शकले सिनेमा हेरिरहँदा त्यो पात्रको उपस्थितिले दर्शकहरूको मन–मस्तिष्कलाई आनन्दित र तरङ्गित तुल्याउन सकोस् । समाजमा त्यो पात्रको अनुशरण गर्न खोजुन् दर्शकहरूले । हो, त्यहाँ झल्किन्छ कलाकारहरूको क्रेज अनि स्टारडम । यो र यस्तै हो नायकले निभाउनुपर्ने भूमिका र पर्दामा उसको जोडदार उपस्थिति ।

अब महानायकको प्रसङ्ग । महानायक अर्थात् नायकहरूको पनि नायक । जो अरू कलाकारहरूको प्रेरणाको स्रोत पनि हो । नायकहरूको पनि आइडियल । अनि महानायक जस्तै बन्ने अन्य नायकहरूको सपना र उद्देश्य । समाजमा अन्य नायकहरूले पनि मान्ने । आम नायकको दाँजोमा पहुँच, मान्यता, वाहवाही, शान अनि चर्चा–परिचर्चा ज्यादा । सामान्य रूपमा बुझ्नुपर्दा यही परिभाषा हो महानायकको ।

यस्तै मूल्य र मान्यताका आधारमा भन्नुपर्दा एक मात्र गतिलो उदाहरण अनि दर्विलो उपस्थिति दिइरहेका महानायक हुन् राजेश हमाल । आज उनलाई महानायक भनेर सम्बोधन गर्दा कतै कसैले धक मान्नु पर्ने अवस्था छैन । राजेश हमालले दर्शकहरूबाट पाएको यो उपाधि र साथ–समर्थनले कहाँ कमजोरी प्रस्तुत गरेको छ र ? अनि राजेश हमालको महानायक सम्बोधनले कसको कलाकारिता, वजन, आयतन, साख र बजारलाई असर पारेको छ र ?

भारतीय चलचित्र क्षेत्रमा एक जना हास्य कलाकार छन्– जोनी लिभर । उनि पनि चर्चित छन्, पैसा पनि कमाए । उनले खेलेका केही फिल्म हिट पनि छ । भाइरल पनि उनै हुन्छन् यदाकदा । तर, भारतमा आइडियलको रूपमा सबैले अमिताभ बच्चनलाई नै मान्छन् । अहिले अमिताभ बच्चनको हातमा फिल्म छैन भनेर कसैको पनि अमिताभलाई छोडेर जोनी लिभरलाई आफ्नो सपना या आदर्शको पात्र ठान्दैनन् । भारतीय चलचित्र बजारमा जोनी लिभर त धेरै नै बन्न सक्छन् तर त्यहाँ अमिताभ बच्चन एउटै मात्र छन् भनेजस्तै हो नेपालमा राजेश हमाल पनि । नेपाली चलचित्र क्षेत्रमा यो कालखण्डमा धेरै जोनी लिभरहरू आए–गए, तर राजेश हमाल यस्ता महानायक हुन् जसलाई मात दिन वा ढाल्न कसैले सकेन । अब राजेश हमालको दिन गयो, सकियो हमाल, उसलाई म चिन्दिनँ भनेर घमण्ड दर्शाउनेहरू पनि नआएका होइनन् । हमाललाई ढाल्न आएकाहरू आज कुन कुनामा छन् खोइ ? तिनीहरूलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था आएको छ ।

आज नपालदेखि प्रवाससम्म राजेश हमालको बारेमा कतै केही परिचय दिइरहनु पर्दैन । नेपाली सिनेमालाई ब्यावसायिक रफ्तारमा पुर्याउंन हमालको योगदान र सहभागिताको बारेमा जति तारिफ गरे पनि कमै हुन्छ । नेपालमा कुनै महँगो टेलिभिजन शो चल्दा सञ्चालकको रूपमा किन हमाललाई नै रोज्छन् कर्पोरेट हाउसहरूले ? अरू पनि त थिए नि । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्न राजेश हमाललाई नै किन लैजानु पर्दथ्यो ? अरू दुई–चार दिन भाइरल हुने र दाम कमाउने कलाकर्मी पनि त थिए नि !

हो, यी र यस्तैै अनेक कारणले नै राजेश हमाल बनेका र कहलिएका हुन्– महानायक । उनले मलाई महानायक चाहियो भनेर बिन्तीभाउ गरेका हुन् र ? हमालले कसैबाट खोसेको, चोरेको र बिहेको दाइजोमा पाएको पनि होइन महानायकको पद । राजेश हमालले आज पनि हजुरवुवादेखि नातिसम्म आफ्नो साख बनाएका छन् । हमाल जस्ता अग्रज कलाकारहरूको त्याग, योगदान, सहभागिता र निरन्तरताको अवहेलना गर्न मिल्छ ? जसको सिको गर्न र उजस्तै बन्न आज पनि हजारौँ युवाहरू लालायित छन् । सिनेमाको पर्दामा हमालसँग देखिन पाएमा आफूलाई धन्य ठान्नेहरूको जमातमा कमी आएको छैन । यी महानायकको विरोध गर्नु भनेको सूर्यलाई हत्केलाले छेकेँ भन्दै आत्मरतिमा रमाउनु हो । सम्बन्धित सबैको चेत खुलोस् ।