पत्रकार खड्काको मृत्युबारे अनुसन्धान र छानबिनको माग

पत्रकार खड्काको मृत्युबारे अनुसन्धान र छानबिनको माग


नेपाल पत्रकार महासङ्घले पत्रकार तेजबहादुर खड्काको मृत्युको घटना रहस्यमय हुनसक्ने भएकाले गहिरो अनुसन्धान र छानबिनको माग गरेको छ ।

‘विसं २०७६ मङ्सिरमा भेटिएको कङ्काल बेपत्ता अवस्थामा रहेका महासङ्घ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्काको रहेको पुष्टि भएको खबरले नेपाल पत्रकार महासङ्घ स्तब्ध भएको छ’– महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासी बेपत्ता हुनु र १५ महिनापछि कङ्कालसँगै फेला परेका सामग्रीहरू लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भन्दै शोकमा रहेका पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सम्बन्धित निकायसँग माग गरेको छ ।

बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र कङ्काल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षण गर्दा २०७७ असार १६ गते सो कङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

महासङ्घले स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै दुःखद् घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदनासमेत व्यक्त गरेको छ ।